– विजय हितान
१. पृष्ठभूमि
साहित्यका थुप्रै पाटाहरु छन्, त्यसमध्ये पर्यावरण साहित्य पनि एक हो । यसलाई पर्यावरण/परिवेश/इको/पर्या
साहित्यको नामले पनि जानिन्छ । नेपाली साहित्यमा प्रायजसो सामाजिक तथा राजनीतिकजस्ता मानवकेन्द्रित
परिवेशका विषयवस्तुको मात्रै चर्चा गरेको पाइन्छ । तर पर्यावरणीय कथावस्तुलाई खासै महङ्खव दिइएको हुँदैन
। यद्यपि पर्या साहित्यले सिङ्गो पृथ्वीमा रहेका सजीव तथा निर्जीवजस्ता हरेक वस्तुहरु र तिनीहरुको
अन्तर्सम्बन्धको व्याख्या गर्ने गर्छ ।
नेपाली साहित्यमा प्राकृतिक सुन्दरताको वर्णन खुबै गरिएको पाइन्छ । यो पर्या साहित्यको एक सानो अङ्श मात्रै
हो । जसरी हाम्रो परम्परागत साहित्यले मानवसभ्यता विकासमा ठूलो योगदान पुर्याइआएको छ, त्यसरी नै पर्या
साहित्यले वातावरणीय क्षयबाट मानव अस्तित्व जोगाइराख्न महत्वपुर्ण भूमिका खेल्न सक्छ । त्यसैले अब
पर्यावरण साहित्यको विरुवा रोपेर मलजल गर्दै झाँगिलो वृक्ष बनाउनुपर्ने आजका साहित्यकारहरुको दायित्व भएको
छ । तर साहित्यको यस नवीनतम् फाँटमा शैर गर्नुअघि पर्यावरण के हो भन्ने बुझ्नु आवश्यक छ ।
२. पर्यावरण र यसको वर्तमान अवस्था
पर्यावरणका प्रमुख तत्वहरु वायुमण्डल, जमीन र पानी हुन् । यिनैमा मानव, वन्यजन्तु र बोटविरुवाको जीवन
निर्भर गर्छ । वन्यजन्तु र वनस्पती मानिसका लागि प्राकृतिक स्रोतसाधन हुन्, जोसँग मानिसले अन्तर्सम्बन्ध
राख्दै र सर्वश्रेष्ठ जीवन बाँच्दै आएको छ । प्राकृतिक स्रोतलाई मानिसले अतिक्रमण र जथाभावी उपभोग गर्दै
गरेको छ । मानवको सेवामा सधैँ उपलब्ध यी स्रोतहरुको नवीकरण आफैँ हुने गर्छ । उदाहरणका लागि पिउने
पानी पँधेरामा आफैँ उम्रन्छ, माटोलाई उर्वरा राखिराख्ने गड्यौलाहरु जमीनमुनि आफैँ सलबलाउँछन् । तर मान्छेले
तिनीहरु असीमित छैनन् भनी कदापि भुल्नुभएन । यस्ता प्राकृतिक स्रोतहरु कुनै दिन रित्तिन सक्छन् ।
मानवीय अस्तित्व जोगाइराख्न स्वस्थ पृथ्वीको खाँचो परिरहन्छ । आजको अति विकसित भौतिक युगमा यस
तथ्यलाई बिर्सिन खोजिएको हो कि जस्तो भान हुन्छ । मानिसको स्वार्थनिहित क्रियाकलापले प्रकृतिको सन्तुलन
गुम्न लागेको छ । जमीनमुनिबाट जलभण्डारको मूल फुट्न छोडेको छ भने हिमालमा हिउँको तह पातलिँदै जाँदा
नदीहरु सुक्न थालेका छन् । रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले पहाडका पाटा र मधेशका गराको
उर्वरा शक्ति घटेको छ । ताल, खोला र समुद्रका माछाको सङ्ख्या घट्दै गएका छन् । बाग, भालु, गैँडा,
चिम्पाञ्जी, हात्तीजस्ता वन्यजन्तु लोपोन्मुख बनेका छन् । पानी, हावा र जमीन प्रदूषित बन्दै गएका छन् ।
वायुमण्डल तात्दै गैरहेको छ । फलस्वरुप सुक्खा र अनावृष्टिका कारण यो वर्ष (सन् २०२२ जुलाई) स्पेन,
पोर्तुगल, फ्रान्स र बेलायत डढेलाको चपेटामा परे । बेलायतमा त तापमान ४०.३ डिग्री सेन्टिग्रेट पुगेर रेकर्ड नै
ब्रेक भयो । भूमध्य रेखीय वनजङ्गल (रेन फोरेस्ट) को विनाश द्रूत गतिमा भैरहेको छ । प्रकृतिमा स्वतः
उपलब्ध यार्सागुम्बाजस्ता जडिबुटीहरु विस्तारै विलीन हुँदै गएका छन् । मुगा–चट्टान अर्थात कोराल रिफ,
जसलाई सागरको रेनफोरेस्ट उपनामले चिनिन्छ, तापक्रम वृद्धि र मानवजन्य प्रदूषणका कारणले दिनानुदिन
सखाप हुँदै छ । अन्ततः जैविक विविधितामा ह्रास आइरहेको छ । यी सबै समस्या मानिसले प्रकृतिमाथि गरेको अतिक्रमणको परिणाम भएको वैज्ञानिकहरु बताउँछन् । अन्ततः वातावरणविद् र सबै सचेत व्यक्तिहरुलाई यो
एउटा ठूलो चिन्ताको विषय बनेको छ ।
३. पर्यावरण संरक्षणका गतिविधि
खस्कँदो वातावरणीय परिस्थितिलाई सम्बोधन गर्न विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छन् । अर्थ
आवर, जसलाई विश्व वन्यजन्तु संरक्षणकोषले आयोजना गर्छ, प्रत्येक वर्ष मार्चको अन्तिम शनिबार विश्वभरी
बेलुका ८.३० देखि ९.३० सम्म बिजुली बत्ती निभाएर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले जुन ५ का दिन विश्व
पर्यावरण दिवस मनाउँदै आइरहेको छ । यस दिन वृक्षारोपण तथा चेतनामुलक सम्मेलनहरु गरेर मानिसको
बानीव्यहोरा र उत्पादनका प्रक्रिया पर्यावरण मैत्री बनाउन जरुरी छ भन्ने सूचना प्रवाह गर्ने गरिन्छ । त्यसैगरी
विश्वका सबै मुलुकलाई आबद्ध गर्दै जलवायु परिवर्तन सम्मेलनको आयोजना गरेर हरित गृह ग्यास न्यूनीकरण
गर्ने उपायका बारेमा छलफल गरिन्छ । अनि जलवायु परिवर्तन नियन्त्रणका नियमकानुन तर्जुमा गरेर लागू
गराइन्छ । गरिब राष्ट्रहरुलाई जलवायु परिवर्तनसँग लड्न एउटा ठूलो कोषको स्थापना गरिनु यी सम्मेलनहरुको
आजसम्मकै एक उल्लेखनीय उपलब्धी मान्न सकिन्छ । चाइनाको पाण्डा संरक्षण, विश्वको बाघको सङ्ख्यालाई
सन् २०२२ सम्म दोब्बर पार्नेजस्ता अभियान पनि पर्यावरण सुरक्षाका अन्य उदाहरण हुन् ।
नेपालको सन्दर्भमा विश्व वन्यजन्तु संरक्षण कोषले पर्यावरणलाई संरक्षण गर्नमा विशेष भूमिका खेलेको छ ।
पाटेबाघ र गैँडा चोरीशिकारी रोक्ने प्रयास यसका ज्वलन्त उदाहरण हुन् । राष्ट्रिय निकुञ्जहरु खोल्न र तिनको
व्यवस्थापनमा यो संस्थाको ठूलो योगदान छ । तराईमा लोपोन्मुख गिद्ध र इलाम ताप्लेजुङतिर रेड पाण्डा (हाब्रे)
बचाऊमा यसले अतुलनीय सहयोग प्रदान गरेको छ । दर्जनौ सरकारी तथा गैरसरकारी संस्थाहरु यसमा सहकार्य
गर्दै जुटेका छन् । प्रत्येक सप्ताह गरिने बाग्मती सरसफाइ एउटा उदाहरणीय कार्यक्रम हो ।
यसमा व्यक्तिगत मानिसहरु पनि लागिपरेका छन् । अमेरिकी पूर्व उपराष्ट्रपति अल गोरले विश्वका सातै
महादेश, भूमध्य सागरीय जङ्गल, उत्तरी तथा दक्षिणी दुवै ध्रुव भ्रमण गरेपश्चात् इनकन्भेनियन्ट ट्रुथ भन्ने
पुस्तक लेखे । केन्याकी पूर्व पर्यावरण मन्त्री वाँगारी माथायले अफ्रिकी महिलालाई परिचालित गर्दै ग्रिन बेल्ट
मुभमेन्टको नेतृत्व गरिन् । फलस्वरुप दुवैलाई नोवेल शान्ति पुरस्कार प्रदान गरियो । जेन गुडअलले
तान्जानियाको जङ्गलमा वर्षौं चिम्पाञ्जीसँग बिताएर तिनको व्यवहारका बारेमा अध्ययन गरिन् । चिम्पाञ्जी
बचाऊसम्बन्धीका दर्जनौ पुस्तक प्रकाशन गरेकी उनले ‘जेन गुड अल संस्था स्थापना गरेकी छन् । भारतमा सुरु
गरिएको ’चिप्को अभियान’ले रुखविरmवाको संरक्षणमा सहयोग पुर्याउँदै आएको छ । स्विडिस किशोरी ग्रेथा
थुनवर्ग जलवायु परिवर्तनकको एक सशक्त अभियन्ता हुन् । यद्यपि विश्व पर्यावरणको अवस्था दिनानुदिन
नाजुक हुँदै गैरहेको छ । यसमा विद्यार्थी, राजनेता, कृषक, व्यावसायी सबैको सहकार्य जरुरी छ । त्यसैगरी
साहित्यकारले पनि केही गर्नुपर्ने आवश्यकता देखिन्छ ।
४. पर्यावरण साहित्यको महत्व
वैज्ञानिकले विज्ञानका सत्यतथ्यहरु पत्ता लगाएका छन् । पर्यावरणविद्ले तिनलाई कार्यान्वयन गर्न प्रयास गरेका
छन् । साहित्यकारले पनि यस विषयमा कलम चलाएर समाजमा जनचेतना फैलाउने कार्य गर्न सक्छन् । कलम
शक्तिशाली हुन्छ । समाजमा ठूलाठूला परिवर्तन गराउनमा यसको ठूलो हात हुन्छ । साहित्यको सहायताले
निरङ्कुश शासन पल्टेको, छुवाछुत, रङभेदजस्ता सामाजिक कुरीति र भेदभावलाई निमिट्यान्न पारिएको त
सबैलाई विदितै छ । अब इको साहित्यको माध्यमबाट पनि पर्यावरणीय समस्या सर्वसाधारणमाझ लग्ने,
मानिसको क्रियाकलाप पर्यावरणमैत्री बनाउने र यस हराभरा पृथ्वीलाई हाम्रा सन्ततिमाझ जस्ताको त्यस्तै
हस्तान्तरण गराउन सकिन्छ ।
५. पर्यावरण साहित्यको विषय
जसरी एक रेन फोरेस्टको पारिस्थितिका (इको सिस्टम) विविध हुन्छ त्यसरी नै पर्यावरण साहित्य आफैँमा धनी
छ । पर्यावरण साहित्यमा कलम चलाउन खोज्ने साहित्यकारले निम्नलिखित विषयवस्तुमा केन्द्रित रहन सक्छः
५.१. इकोफेमिनिज्मः प्रकृति नारीजस्तै नाजुक तर सुन्दर हुन्छ । नारी प्रकृतिसँग पुरmषभन्दा नजिक हुन्छे
। भनिन्छ, महिलाले हाँगा काट्छिन्, परुषले रुखै ढाल्छन् । यसर्थ पर्या नारीवादी लेखनले महिला र प्रकृति दुवैको
मुक्ति मिल्न सक्छ ।
५.२. परिवृतीयः प्रकाश, हावा, तापमान, जमीन र पानी पर्यावरणका तत्वहरु हुन् । एकमा आउने परिवर्तनले
अर्कोको विशेषतामा प्रभाव पार्छ । यिनैलाई प्रमुख विषय बनाएर साहित्य कोरिन्छ भने सायद राजनैतिक
उथलपुथलमा आधारित साहित्यसरह मनोरञ्जनात्मक हुन सक्छ ।
५.३. प्रकृति सौन्दर्यताः सेताम्मे हिउँ, हरियो वन, निलो समुद्र, निलै आकाश, खैरो माटो यी सबैले आआफ्ना
रङहरु प्रदर्शन गरेका हुन्छन् । त्यही प्रकृतिमा रमेका वन्यजन्तु, चराचुरुङ्गी, किराफट्याङ्ग्रा, जलचर, भाइरस र
व्याक्टेरियाले पनि आफ्नै रङहरु पोखेका हुन्छन् । तर तिनका रङहरु खुइलिँदै गएका छन् र तिनको सम्भार
कसरी गर्ने भन्ने विचारयुक्त साहित्य कोर्न सकिन्छ ।
५.४. ग्राम्यता र अप्रदूषित परिवेशः गाउँ र शहरबीच ठूलो द्वन्द्व छ । एउटा निर्जन, शान्त, चोखो, शीतल र
सफा हुन्छ । अर्को भीड, कोलाहल, तातो, प्रदूषित र तनावपूर्ण । यी पनि लेखनको एक चाखलाग्दा विषय हुन् ।
५.५. जलवायु परिवर्तनः असन्तुलित पर्यावरण जलवायु परिवर्तनको कारक हो । यसले तापक्रम बढाएर,
बाढीपहिरो ल्याएर, वर्षाद गराएर, खेडेरी पारेर मानिस तथा वन्यजन्तुको बसाइँलाई असजिलो पार्छ । तर मानिस
आफ्नो परिवेश वातानुकूल बनाएर जिउन सक्छ भने वन्यजन्तुहरु यसो गर्न सक्दैनन् । साहित्यमार्फत यसको
रोकथामका लागि जनचेतना फैलाउन सकिन्छ ।
५.६. जैविक विविधताः मानिसको रङ काला, गोरा, खैरा नभएर एकमात्रै भएको भए यो संसार कस्तो हुन्थ्यो
! पृथ्वीको भूभाग समथर, खोँच, मधेश, मरुभूमि, हिउँ, नभएर पहाडैपहाड मात्र भैदिएको भए कस्तो हुन्थ्यो !
जङ्गलमा अरु वन्यजन्तु नभई बाघले मात्रै भरिएको भए कस्तो हुन्थ्यो होला ! धरापमा परेको जैविक
विविधतालाई मुख्य विषय बनाएर सिर्जना गरिने साहित्य पनि अति जरmरी र आकर्षक देखिन्छ ।
५.७. वन्यजन्तु चोरीशिकारीः वन्यजन्तु चोरीशिकारी र यसको अवैध व्यापार जैविक विविधतामा आएको
ह्रासको एक मुख्य कारण हो । विश्वभरी यसको बिलियन डलर बराबरको व्यापार हुन्छ । बाघ, भालु, गैँडा, हात्ती,
चिम्पाञ्जीजस्ता स्तनधारी जीव शङ्कटग्रस्त अवस्थामा हुनुको पछाडि यसैको कारण छ । चेलिबेटी बेचबिखनमा
आधारित रहेर कथा लेखेजस्तै हात्तीको दाह्रा, गैँडाको खाग र बाघको छालाका लागि तिनलाई मारेर तिनका
अङ्गप्रत्यङ्गको तस्कर गरेको झनै रमाइलो कथा कोर्न सकिन्छ ।
५.८. पर्यावरणसँग आदिवासीको साइनोः जल, जमीन र जङ्गलको साइनो आदिवासीसँग हुन्छ । तिनीहरु
पर्यावरण संरक्षणका खम्बा र प्रकृतिका सच्चा पूजक हुन् । अनुभवको आधारमा तिनीहरुमा पारिस्थितिकाको
ज्ञानको भण्डार हुन्छ, न कि वैज्ञानिक आधारमा । वैज्ञानिकले पनि आदिवासीबाट पर्यावरणलाई कसरी
जोगाइराख्नुपर्छ भन्ने कुरा सिकेका हुन्छन् । तर बिडम्वना, आधुनिक विकासको नाममा पर्यावरणलाई बिनाश गर्दै
आदिवासीको पहिचान मात्रै होइन, सिङ्गो पर्यावरणलाई नै नष्ट हुने कार्य भैरहेको छ । यस्तै आदिवासी
जनजीवन र वातावरणीय मुद्दामा केन्द्रित रहेर साहित्य लेखनलाई अगाडि बढाउन सकिन्छ ।
५.९. धर्मशास्त्र र पर्यावरणीय चेतः आदिमकालदेखि नै मानव प्रकृतिको महङ्खव बुझेर नै धर्ममार्फत यसको
संरक्षणमा लागेको हो । विश्वका त्यतिबेलाका सबै धर्म अहिलेका संविधानसरह कानुनी प्रणाली हुन् । अहिलेको
नेपालको संविधानमा स्वच्छ वातावरणमा जिउन पाउनु जनताका मौलिक हक हुन् भनेर व्यवस्था गरिएको छ ।
हाम्रा हिन्दू तथा अन्य पूर्वीय धर्मग्रन्थमा पर्यावरण संरक्षणका विषयवस्तुलाई समेटिएका छन् । यसरी हाम्रा
शास्त्रमा अन्तर्निहित पर्यावरण संरक्षण र यसको महङ्खवका कुरालाई साहित्यमार्फत उजागर गर्न सकिन्छ ।
५.१०. विकासले गर्ने वातावरणीय क्षयः अहिले विकास निर्माणका कार्य प्रकृति विनाशको मूल कारण भएका
छन् । उदाहरणका लागि नेपालको पहाडी भूभागलाई जथाभावी डोजरले खनेर सडक बनाइँदै छ । उर्वरा भूमि
मासेर भवन निर्माण गरिँदै छ । साल र सिसौका वनजङ्गल मासेर निचगढमा विमानस्थल निर्माण गर्ने योजना
अघि सारिएको थियो । जसलाई सर्वोच्च अदालतले पर्यावरणीय क्षति नहुने विकल्प खोजेर मात्रै निर्माणकार्य
अघि सार्नू भनी आदेश जारी गरेको छ । यस्ता समस्यालाई साहित्य लेखनमार्फत उजागर गर्न सकिन्छ ।
कालिगण्डकीको प्राकृतिक धारलाई सुरुङ खनेर बदल्दै बिजुली निकाल्ने र त्यहाँका गिट्टीबालुवा दोहनको
विरुद्धमा आर. के. गिरीले चलाएको ‘कालीगण्डकी बचाऔँ कविता अभियान’लाई एउटा नमुनाको रुपमा लिन
सकिन्छ ।
५.११. पर्या राजनीतिः यसलाई इको पोलिटिक्स पनि भन्न सकिन्छ । नेपालको राजनीति भ्रष्टाचारपूर्ण छ ।
नातावाद, कृपावाद जताततै हावी छ । यस्ता विषयमा व्यङ्ग्यात्मक साहित्यिक लेख लेखेको प्रशस्तै पाइन्छ ।
हाम्रा पार्टीमा ग्रिन एजेण्डा हुन्नन् । सरकारमा पुगेपछि नेताले बनाउने वातावरणीय नीतिले महत्वपुर्ण भूमिका
खेल्छ । तर तिनले गलत हरित नीति बनाए भने सास्ती खेप्ने त जनता नै हुन् । यसर्थ साहित्यकारले पर्या
राजनीतिक व्यङ्ग्यका सिर्जना लेख्न सक्छन् । यो पनि एक दर्विलो साहित्यिक विषय हुन जान्छ ।
६. पर्यावरण साहित्य लेखनको अवस्था
नेपालको सन्दर्भमा लेखनाथ पौड्याल, माधव घिमिरे, धर्मराज थापाका सिर्जनामा प्रकृति सुन्दरताको सुगन्ध
पाइन्छ । शाकुन्तल, प्रकृति पोखरा र तरmणतपसीजस्ता कृतिमा प्रकृतिको रोमान्टिकता र निर्मलताबारे वर्णन
गरिएका छन् । सरुभक्तको संरक्षण कविता एक पर्यावरण साहित्य आन्दोलन थियो । डा. रुपक श्रेष्ठको पोख्तक
प्रकृतिप्रधान मुक्तकसङ्ग्रह हो । यसमा पोखराका प्राकृतिक महङ्खव, यसलाई जोगाउनुपर्ने कारण, यसको
क्षयीकरण, मानिसले ल्याएको प्रदूषण आदिका बारेमा पचासभन्दा बढी मुक्तक समावेश छन् । अम्बर नेम्बाङको
सम्झनाका तरेलीहरु, गोपाल बस्नेतको आफ्नै सेरोफेरोभित्र, ध्रुवचन्द्रको जिलिएको, कर्ण शाक्यको सोच, राजेन्द्र
पराजुलीको अनायिका, मोहन कोइरालाको सिमसारको राजदूत, अविनाश श्रेष्ठको करोडौँ सूर्यहरुको अन्धकार
पर्यावरण केन्द्रित अलि पुराना कृतिहरु हुन् ।
अहिले आएर सञ्जीव उप्रेतीको हंस, अनिता पन्थीको अनायोजित, सपना आचार्यको मलिलो माटो पर्यावरणीय
विषय समेटिएका उपन्यास हुन् । त्यसैगरी विजय हितानद्वारा सम्पादित स्वच्छन्द सुसेलीहरु, डा. देवेन
सापकोटाको परिश्रान्त पृथ्वी, राजा पुनियानीको तङसिङ, कृष्ण बाउसेको पर्या प्रेमको गुञ्जन पर्या–कविता कृति
हुन् । पर्या कविताजस्तै पर्या कथासङ्ग्रहका पुस्तक त्यति धेरै प्रकाशन भएको जानकारी छैन । तर विजय
हितानको पर्या कथाहरुको सङ्गालो ब्लु प्लानेट वि. सं. २०७८ मा प्रकाशित भएको छ ।
पर्यावरण साहित्य समालोचनाका पुस्तकका हिसाबले प्रा. डा. गोविन्दराज भट्टराईको उत्तर आधुनिक विमर्शमा
‘इको साहित्य/परिवृत्तीय सिर्जना र मूल्याङ्कन’ शीर्षकमा एक अध्याय नै लेखिएको छ । त्यसैगरी डा. रमेश
भट्टराईका पर्यावरणीय समालोचना, स्वच्छन्दतावाद र देवकोटा, अनि समय सौन्दर्य पर्यावरण र कविता, डा. गीता
त्रिपाठीको पर्यावरण र नारीकेन्द्रित समालोचना र डा. देवचन्द्र सुब्बाको नेपाली कवितामा परिवेश नाम गरेका
पुस्तकहरु बजारमा आइसकेका छन् ।
पर्यावरण साहित्यमा केही विद्यार्थीले पीएचडी पनि गरिसकेका छन् । तिनीहरु हुन् डा. कृष्णप्रसाद भण्डारी, डा.
गीता त्रीपाठी र डा. देवचन्द्र सुब्बा । माधवप्रसाद दाहाल र हरिप्रसाद काफ्लेले पीएचडी गर्दै छन् ।
विदेशमा रचेल कार्सनको साइलेन्ट स्प्रिङ पर्यावरण संरक्षणको चेतना दिने पहिलो उपन्यास हो। लेज्ली मार्मोन
सिल्कोको सेरेमोनी, लिन्डा होगानको सोलर स्टोर्मज अरु यस्तै पुस्तकहरु हुन् । अन्तर्राष्ट्रिय स्तरमा केरोल
आडम, स्टाफनी काजा, जोन ब्रुनर, जोन क्रिच्टनजस्ता अरु केही नाम चलेका इको साहित्यकार छन् ।
७. पर्यावरण साहित्यलाई कसरी अघि बढाउने
नेपाली साहित्य लेखन धेरैजसो मानवीय जीवनवरिपरि मात्रै केन्द्रित छन् । कतैकतै प्रकृतिको सुन्दरता झल्काउने
हरियो वन, छङछङ छहरा, कोइलीको गीत, डाँफेको नाच इत्यादिमा कविता तथा कथा कोरिएको, गीत लेखेर
गाइएको पाइन्छ । हिमरेखा किन झन् माथि चढ्दै छ ? बाघ, भालु, गैँडा किन लोप हुँदै छन् ? पोखरी र खोला
किन दूषित हुँदै छन् ? तिनलाई सम्बर्धन र संरक्षण किन र कसरी गर्नुपर्छ भन्ने विषयमा कलम चलेका विरलै
पाइन्छन् ।
निरङ्कुश शासनको विरुद्धमा कलम उठाइयो, अब जलवायु परिवर्तनको विरुद्धमा कलम उठाउन जरुरी छ ।
छङछङ गर्ने झरना र चाँदीझैँ टल्कने क्या राम्रो हिमाल भनेर गीत लेखियो । अब सुक्दै गरेको झरना, पग्लिँदै
गरेको हिमाल, लोपोन्मुख हिउँचितुवा, बासस्थान गुमाउँदै गरेको उत्तरी ध्रुवको भालु, अन्टार्कटिकाको पेङ्गुइनको
पनि गीत लेख्न जरmरी छ । मानिसहरु दुर्घटनामा परेका कथाहरु लेख्ने कथाकारले अब आणविक दुर्घटना,
सामुद्रिक प्रदूषण र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप र त्यसमा प्राण गुमाएका वन्यजन्तुको पनि कथा लेख्न
आवश्यक देखिन्छ । कसैले घर आगोले डढाएर घरविहीन भएका मानिसको गाथा लेख्छ भने कसैले वन डढेलो
लागेर वासविहीन बनेका पशुपक्षीको पनि गाथा लेखौँ न । शक्ति हत्याउन र स्वार्थ पूर्तिका लागि छेडिएको
युद्धले विस्थापित बनेका शरणार्थीको कहानी जति कारुणिक हुन्छ त्योभन्दा बढी मन छुने जथाभावी बस्ती
बसाउन र खेती गर्न मासिएका रेन फोरेस्टले गर्दा बासस्थानको नष्ट भएपछि विस्थापित वन्यजन्तुका कहानी
हुन सक्छन् । हावाइजहाज चढ्दै आधुनिक शहर घुमेर पाँचतारे होटेलमा बसेको र रेष्टुरेन्टमा खाएपिएको
विषयमा संस्मरण कोर्न जति आनन्द आउँछ त्योभन्दा बढी आनन्द हात्तीमा सवार गरेर राष्ट्रिय निकुञ्जका
वन्यजन्तुको दर्शन र तम्बुमा सुतेर अर्गानिक तरिकाले उत्पादित खाना खाएका नियात्राहरु लेख्नमा आउँछ । अनि
मात्रै संरक्षण गर्न सकिन्छ हाम्रो पर्यावरण । अन्यथा ६० मिलियन वर्षअगाडि डाइनोसर लोप भएर गएजस्तै
मानवसभ्यता पनि लोप भएर जान सक्छ ।
भानुजयन्तीसँगसँगै भालु जयन्ती पनि मनाऔँ । किनकि उत्तरी ध्रुवका हिउँभालु लोपोन्मुख अवस्थामा छन् ।
मोती जयन्ती मात्रै होइन, माटो जयन्तीको महङ्खव पनि त्यत्तिकै छ । किनकि भूक्षय र रासायनिक मलको
प्रयोगले माटोले उर्वराशक्ति गुमाएको छ । पृथ्वीनारायण जयन्ती मात्रै कति, पृथ्वी ग्रहको पनि जयन्ती मनाऔँ
न अब हामी । ’हे भगवान् हामीलाई बचाऊ’ र ’हे मानिस पशुपक्षीको संरक्षणमा लाग’ भन्ने भजनहरु सँगै लेखौँ,
सँगै गाऔँ । भुखको मात्रै कति अब, रुखको पनि कथा लेखौँ । घोडा चढेर गाउँ डुल्ने मालिकको साहित्य लेखेर
थाकिएन र ? अब साइकल चढेर कवाडी सङ्लन गर्नेको पनि साहित्य लेखौँ । नदीनाला, सामुद्रिक तट, गल्ली र
पार्क सरसफाइ, वृक्षारोपण, वातावरणीय समस्याहरु र तिनलाई कसरी सुल्झाउन सकिन्छ, इत्यादि विषयमा कथा
लेख्ने, कविता पढ्ने, गीत गाउने, नाटक खेल्ने, चित्रकला तथा फिल्म प्रदर्शन गर्ने गरेर मनाऔँ अब साहित्य गोष्टी
।
यसरी पर्यावरण साहित्यलाई अस्वीकृत विचार साहित्य, भयवाद, सिर्जनशील अराजकताजस्तै कुनै वादको रुप
दिएर एक आन्दोलन बनाई अगाडि बढाउँदा अझ प्रभावकारी हुनसक्ने सम्भावना देखिन्छ ।
८. चुनौती तथा अवसर
पर्यावरण साहित्य त्यति नौलो विषय भने होइन । लामो समयदेखि कुनै न कुनै रुपमा लेखिँदै आएको विषय हो
यो । ऋग्वेदजस्तो हाम्रो पौराणिक धर्मग्रन्थमा जल, वायु, तेज, आकाश, पृथ्वी यी पञ्च महाभूतको महङ्खव बुझेर
प्रकृतिलाई पुज्न सिकाइएको छ । मध्यकालीन नेपाली साहित्यमा प्रकृतिको गुणगान गाएर लेखिएको साहित्य
पाइन्छ । अहिले आएर आधुनिक कालमा मुख्य चुनौती भनेको सर्जकले पर्यावरण क्षयका कारक र परिणामको
सिद्धान्त, यसको व्यावहारिक पक्ष र महङ्खव, सुधारका उपाय बुझ्न जरmरी छ । यो एक विज्ञानसम्मत
भएकाले लेखकमा वैज्ञानिक ज्ञान भैदिएमा उत्तम हुन्छ । विज्ञानको समिश्रणले गर्दा पर्यावरण साहित्य नेपाली
मूलधारको साहित्यमा भने जति अँगाल्न नसकिएको हुनसक्छ । तथापि वातावरण विज्ञानसँग निकट सम्बन्ध
राख्ने चिन्तन भएकाले साठीको दशकयता यस विषयमा स्रष्टा र समालोचक दुवैको ध्यान आकर्षित भइरहेको
देखिन्छ । वातावरणीय समस्यालाई कवितामा अभिव्यक्त गर्नु निकै महत्वपुर्ण भएपनि यसका लागि अभ्यासको
आवश्यकता पर्छ नै । त्यसैले पर्यावरणीय प्रस्तुति समकालीन नेपाली साहित्यको मूल स्वर अझै भइसकेको
अवस्था भने भेटिँदैन ।
पर्यावरण एक फराकिलो धरातल भएकाले यसमा लेखनका प्रशस्तै अवसर पाइन्छन् । यसले विश्वदेखि
वायुमण्डल, जमीनमुनिको पानीदेखि आकाशमाथि बादल, कमिलादेखि हात्तीजस्ता प्राणी, घिस्रने जन्तुदेखि उड्ने
पक्षी, निर्जीव ढुङ्गामाटोदेखि सजीव सर्पजस्ता विषयलाई समेट्छ । त्यसरी नै शहरजस्ता भौतिक संरचनादेखि
आणविक भट्टीको रासायनिक प्रतिक्रिया, शीतल जुनदेखि चर्को घाम, शान्त तलाउदेखि उर्लंदो समुद्र, मन्द
हावादेखि वहकिने आँधीवेहरी लेखनका विषय बन्न सक्छन् । मानिसका गुडाउने, उत्पादन गर्ने, भत्काउने, उडाउने
क्रियाकलाप, घाँसे मैदान, रेन फोरेस्ट, हिमालय, ध्रुवीय हिउँ, सुक्खा मरmभूमि, ओसिलो सिमसारजस्ता कुरामा
कलम दौडाएर मनका भावना पोख्न सकिन्छ । त्यसैले यस्तो साहित्यमा इन्द्रेणीका सबै रङ पोत्न र पोख्न
सकिन्छ भन्दा अत्युक्ति नहोला ।
९. उपसंहार
जैविक विविधतामा ह्रास, प्रदूषित, जमीन, हावा र पानी, मरmभूमिकरण, जङ्गल फडानी, ओजोन अवक्षय, जलवायु
परिवर्तन इत्यादि अहिलेका जल्दाबल्दा वातावरणीय समस्या हुन् । यस्ता समस्याको उजागर गर्नु र तिनदेखि
कसरी पार पाउन सकिन्छ भन्ने कुराहरु मात्रै लेख्नु होइन कि तिनको महङ्खव र अस्तित्वलाई बुझेर पाठकलाई
बुझाउन प्रयत्न गर्नु पनि पर्यावरण साहित्य हो ।
मानौँ पृथ्वी एक सुन्दर बगैँचा हो भने मानिस यसका माली हुन् । तर बगैँचामा फूलहरु फुल्न र भमराहरु झुल्न
छाडिसकेका छन् । तिनको संरक्षणका लागि एउटा बलियो साहित्यिक कलम उठाउनुपर्ने बेला आएको छ ।
बगैँचालाई सधैँ हराभरा र जैविक विविधताले सजाइराखेर त्यसबाट आनन्द लिन र दिन पनि पर्यावरण
साहित्यमा लाग्नुको अर्को औचित्य हुन आउँछ ।
सन्दर्भसामग्रीः
Bhattarai, Govinda Raj, (2007) Postmodern Discourse. Kathmandu: Modern Books
Carson Rachel, (2000) Silent Spring. Modern Classics
Gore Al, (2006) An Inconvenient Truth. Rodale
Hitan Bijay, (2018) Swochchhanda Suselihru. Bulbul Publication
Hitan Bijay, (2021) Swochchhanda Suselihru 2. Global Federation of Nepali Literature South UK
Hitan Bijay, (2021) Blue Planet. Kathmandu: Phoenix Books
Shrestha, Tirtha Kumar, (2003) Wildlife of Nepal. Curriculum Development Centre Tribhuvan
University.
Subba Devchandra, (2021) Nepali Kabitama Parivesh. Kalebung: Upama Publication.
Tripathi Geeta, (2018) Paryavaran ra Narikendri Samalochhana. Kathmandu: Dil Paudel