विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले यही १३ जुलाई २०२६ अर्थात् २९ असार २०८३ साँझ आदिकवि भानुभक्त आचार्यको स्मरणमा भानुजयन्ती तथा विनेसामको १६औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न गरेको छ।कार्यक्रम संस्थाका अध्यक्ष डा. लेखनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष डेन्जोम साम्पाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसपछि कवयित्री चन्द्रावती अधिकारीले भानुभक्तकृत रामायणको अयोध्याकाण्डको खण्ड पाठ गर्नुभएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि, विनेसामका संस्थापक तथा प्रथम अध्यक्ष, साहित्यिक अभियन्ता, साहित्यिक पत्रकार तथा क्वान्टम कविताका प्रवर्तक डा. मधुमाधुर्य श्रेष्ठज्यूले विश्व नेपाली साहित्य महासंघको स्थापना हुनुअघि रूस, हङकङ, अमेरिका, ताइवान तथा बेलायतबाट प्रकाशित नेपाली साहित्यिक पत्रिकाहरू ‘फ्री नेपाल डट कम (स्वतन्त्र नेपाल)’, परदेश डट कम’तथा ‘ईपत्र डट कम’ जस्ता साहित्यिक अभियानबारे चर्चा गर्नुभयो।
उहाँले सन् २०१० मा भानुजयन्तीको शुभअवसरमा कुनै पनि राजनीतिक वा सामाजिक विकृतिबाट स्वतन्त्र, पारदर्शी तथा पारस्परिक सद्भावमा आधारित एउटा अन्तर्राष्ट्रिय नेपाली साहित्यिक संस्थाको आवश्यकता महसुस भएर , विश्वभर रहेका नेपाली साहित्यकारलाई इन्टरनेटको माध्यमबाट एउटै साझा मञ्चमा जोड्ने युवा पुस्ताको हुटहुटी र सक्रियताबाट विश्व नेपाली साहित्य महासंघको जन्म भएको उल्लेख गर्नुभयो।उहाँले नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तार गर्ने, नयाँ सर्जक र सिर्जनालाई प्रोत्साहन गर्ने तथा विश्वभरका नेपाली साहित्यकारलाई एक सूत्रमा बाँध्ने उद्देश्यका साथ संस्थाको स्थापना गरिएको जानकारी दिनुभयो। संस्थाको स्थापना हुँदा नै करिब दुई दर्जन देशका नेपाली साहित्यकारहरू एकताबद्ध भएका र छोटो समयमै संस्थाको
विस्तार ३६ देशसम्म पुगेको तथ्य पनि प्रस्तुत गर्नुभयो।
उहाँले नेपाली साहित्यको अनुवाद तथा अन्तर्राष्ट्रियकरणमा अतुलनीय योगदान पुर्याउने दिवंगत साहित्यकार, संस्थाका सल्लाहकार कृष्णप्रकाश श्रेष्ठ तथा डा. कविता राम श्रेष्ठज्यूको योगदानको सम्मानपूर्वक स्मरण गर्नुभयो। विश्व नेपाली साहित्य महासंघको मूल उद्देश्य नेपाली भाषाको विकास र प्रवर्द्धन गर्नु, नेपाली साहित्यलाई विश्वव्यापी बनाउनु तथा विश्वभर रहेका नेपाली समुदायका राष्ट्रिय भाषाहरूको संरक्षण, विकास र प्रवर्द्धनमा सहकार्य गर्नु रहेको स्पष्ट पार्नुभयो। उहाँले आदिकवि भानुभक्तको प्रसिद्ध श्लोक “एक दिन नारायण सत्यलोक पुगिगए लोकको गरूँ हित भनि ” मा समय, अन्तरिक्ष (स्पेस), मेटाभर्स र दर्शनको गहन चेतना निहित रहेको उल्लेख गर्नुभयो। यस्ता उच्चकोटिका रचना सबैले सिर्जना गर्न नसक्ने बताउँदै, आदिकवि भानुभक्तले ‘सह + हित = साहित्य’ को वास्तविक अर्थ आत्मसात् गरेको हुनसक्ने विचार व्यक्त गर्नुभयो।
भानुभक्तका रचनामा मानवतावादी तथा कल्याणकारी आयाम, नेपाली भाषिक आयाम, सांस्कृतिक आयाम, नैतिक आयाम, दार्शनिक आयाम, सत्यको खोजी गर्ने आध्यात्मिक आयाम, शैक्षिक आयाम, कलात्मक आयाम, प्रजातान्त्रिक आयाम, मनोवैज्ञानिक आयाम, ऐतिहासिक आयाम, भावानुवादको आयाम तथा नारीप्रति गरिएको गम्भीर विश्लेषणजस्ता विविध पक्षका आयाम समेटिएका छन् भन्दै भानुभक्तका रचनामा आफूले २१ वटा विशिष्ट आयाम पहिचान गरेको उल्लेख गर्नुभयो।अन्त्यमा उहाँले विश्व नेपाली साहित्य महासंघले आफ्नै डिजिटल प्लेटफर्म तथा मोबाइल एप विकास गरी विश्वभरका नेपाली साहित्यकारलाई आधुनिक प्रविधिमार्फत जोड्नुपर्ने सुझाव दिनुभयो। साथै भविष्यमा विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समेत समावेश हुनसक्ने स्तरका उत्कृष्ट रचनाहरू मात्र प्रकाशन गर्नुपर्ने सल्लाह दिँदै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।
आदिकवि भानुभक्तमाथि प्रमुख वक्ताका रूपमा काशी विश्वविद्यालका प्राध्यापक, पूर्वीय दर्शनका ज्ञाता, विनेसामका सल्लाहकार तथा विशिष्ट अतिथि प्रा. डा. दिवाकर प्रधानज्यूले भानुभक्तका विविध पक्षमाथि विस्तृत प्रकाश पार्नुभयो। उहाँले आदिकवि भानुभक्त भारतका नेपालीभाषी समुदायलाई एक सूत्रमा बाँध्ने साझा प्रतीक बनेको उल्लेख गर्दै भारतमा भानुजयन्ती एउटा पर्वकै रूपमा मनाइने गरेको बताउनुभयो।उहाँका अनुसार नेपाली भाषाका प्रारम्भिक पत्रपत्रिका तथा पुस्तकहरूको प्रकाशन काशीबाट नै सुरु भएको थियो। पाटनबाट दार्जिलिङ बसाइँ सर्नुभएका भाग्यमणि नेवारले काशीबाट प्रकाशित हुने गोरखा भाषाका पत्रपत्रिकाहरूको पूर्वोत्तर भारतमा प्रचार–प्रसार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
उहाँका सुपुत्र पारसमणि प्रधान भारतका पहिलो औपचारिक नेपाली भाषा शिक्षक बन्नुभयो। विद्यार्थी जीवनदेखि नै नेपाली भाषामा शिक्षा हुनुपर्छ भन्ने अभियान चलाउँदै उहाँले नेपाली भाषाको शिक्षालाई संस्थागत बनाउन अग्रणी भूमिका खेल्नुभएको थियो। पारसमणि प्रधानपछि पण्डित धरणीधर कोइराला र त्यसपछि इतिहासविद् तथा शिक्षाविद् सूर्यविक्रम ज्ञवाली औपचारिक रूपमा नेपाली भाषा शिक्षणमा आबद्ध हुनुभएको उल्लेख गर्नुभयो।प्रा. प्रधानले पारसमणि प्रधानले आदिकवि भानुभक्तको कृतित्व र व्यक्तित्वको प्रचार–प्रसारमा अत्यन्त महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। पारसमणि प्रधान, धरणीधर कोइराला र सूर्यविक्रम ज्ञवालीको त्रिमूर्तिले सन् १९२४ मा नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाली साहित्य सम्मेलन’ संस्था स्थापना गरेको जानकारी पनि दिनुभयो।उहाँले दार्जिलिङको चौँरास्तामा स्थापित आदिकवि भानुभक्तको पहिलो अर्धकदको मूर्ति सन् १९४८ मा शिल्पकार ई.ई. थोमसनद्वारा निर्माण गरिएको उल्लेख गर्नुभयो।
त्यसैगरी आदिकवि भानुभक्तको पहिलो चित्र नाटककार बालकृष्ण समकी छोरी ज्वाला सम ले कोरेको जानकारी दिनुभयो। आदिकवि भानुभक्तसम्बन्धी प्रारम्भिक कृतिहरूमध्ये नेपालबाट प्रकाशित ‘भानुभक्त आचार्य’ब्रम्ह शमशेरबाट तथा भारतबाट ईशन प्रधानद्वारा लिखित ‘आदिकवि भानुभक्त’ विशेष रूपमा उल्लेखनीय रहेको बताउनुभयो।
संस्थाका पूर्वअध्यक्ष श्री विश्वदीप तिगेलाज्यूले सम्बोधन गर्दै आदिकवि भानुभक्तको नेपाली भाषा तथा साहित्यमा योगदानबारे प्रकाश पार्नुभएको थियो।उपाध्यक्ष श्री गोविन्द प्रसाद गौतमज्यू पनि आदिकवि भानुभक्तसम्बन्धी आफ्ना छोटो विचार व्यक्त गर्दै भानुभक्तको साहित्यिक योगदान र नेपाली भाषा तथा साहित्यमा उहाँको अमूल्य भूमिकाबारे प्रकाश पार्नुभयो। कार्यक्रममा विनेसामका निवर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार श्री सुरेन्द्र लिम्बू परदेशीको पनि विशेष उपस्थिति रहेको थियो।
त्यसपछि आदिकवि भानुभक्तसम्बन्धी कविता तथा विभिन्न साहित्यिक रचनाहरूको वाचन कार्यक्रम सम्पन्न भयो।रचना वाचन गर्ने साहित्यकारहरूमा डा. मधुमाधुर्य श्रेष्ठ, कृष्णप्रसाद गौतम, मोहन गौतम, गीताश्री शर्मा, धनश्याम परिश्रमी, एल. ओझा, चरित्र शाह, इन्दिरा गौतम, तोया सुबेदी, अशोक घिमिरे, भीम पाण्डे, ऋषिराम सापकोटा , गीता लामिछाने तथा रीता देवी प्रधानलगायत हुनुहुन्थ्यो।कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव डा. के. बी. पौड्यालले गर्नुभएको थियो।