नवौं वातावरण साहित्य गोष्ठी सम्पन्न- उत्कष्ट ३ पर्या-कविताको घोषणा

५ जुन २०२४ लण्डन- विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय (विनेसाम) समितिले नवौं वातावरण साहित्य गोष्ठी
सम्पन्न गरेको छ । भर्चुवलरुपमा आयोजना गरिएको कार्यक्रममा चार दर्जनभन्दा बढी स्रष्टा, सर्जकले पर्या
सृजना (कविता, मुक्तक, गजल, गीत, लघुकथा र हाइकु) प्रस्तुत गरे ।

जुम प्रविधिमार्फत् सञ्चालित विश्व वातावरण दिवसको अवसर पारेर गरिएको साहित्य गोष्ठीमा प्रमुख
अतिथि- संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान पूर्वकुलपति, पागल बस्ती उपन्यासकोलागि मदन पुरस्कार
प्राप्त वरिष्ठ साहित्यकार श्री सरु भक्त हुनुहुन्थ्यो। पचासको दशकमा पोखराबाट आफूले संरक्षण कविता यात्रा
संयोजन गरेको स्मरण गर्दै ‘वैदिक कालमै मानिसलाई पृथ्वीको चिन्ता थियो, त्यसर्थ अहिले आएर
विश्वको वातावरणप्रतिको चिन्ता नयाँ होइन वातावरणीय समस्या नयाँ हुन’ भनेर आफ्नो मन्तव्यको
क्रममा भन्नुभयो ।

त्यसैगरि विशिष्ट अतिथि- समालोचक, अनुवादक तथा वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई हुनुहुन्थ्यो । आफ्नो छोटो मन्तव्यको क्रममा आफूले लेखेको सिद्दान्तको पुस्तक ‘उत्तर आधुनिक विमर्श’ मा ‘इको
क्रिटिसिजम् सिर्जना तथा समालोचनाको नविनतम क्षेत्र’ भनेर एक अध्याय लेखेको जानकारि दिदै अव
साहित्यकारले पर्या चिन्तिनतिर लागेर सिर्जना कोर्नपर्ने बेला आएको बताउनुभयो । साथै समाजशास्त्र,
राजनिति, इकोलोजि, वायोलोजी, वन विज्ञान, अर्थशास्त्र, क्लाइमेट चेन्ज जस्ता बिषयहरुको समिस्श्रण
हो पर्या साहित्य भन्दै पर्या साहित्य सिद्दान्तको पनि वर्णन गर्नुभयो ।

यस कार्यक्रमका मुख्य वक्ता- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यावस्थापन प्राधिकरणमा
कार्यरत वातावरण अधिकृत रीना चौधरीले समग्रमा नेपालको वातावरणीय अवस्था के कस्तो छ भनि औंलाउनु भयो । वहाँले अहिलेको मनसुन सिजनमा बाढी पहिरो जस्ता विपत ब्यावस्थापन गर्न सरकारको पूर्वतयारी पूर्ण भैसकेको पनि जानकारि दिनु भयो । वन तथा डढेलो नियन्त्रण र व्यावस्थापनको जिम्मेवारि बहन गर्नु भएकी चौधरीले नेपालमा अधिकाँश डढेलो मानविय कारणले हुने भन्दै यसको नियन्त्रणमा सरकारसंग स्रोत र साधन कमि रहेको दुखेसो पोख्नुभयो ।

साहित्यपोस्टले पर्या–अभियन्ता तथा साहित्यकार विजय हितानसँगको सहकार्यमा ‘पर्या–साहित्य’ खण्ड
सुरु गरेको छ । यस अन्तर्गत वि.स. २०८० सालभरिमा साहित्यपोस्टमा प्रकाशित पर्या–कविताहरुबाट
उत्कृष्ट ३ छनोट गरि यसै कार्यक्रममा ती विजयी कविहरुको नाम पनि घोषणा गरियो।

उत्कृष्ट ३ कवितामा प्रथम किशन पौडेलको ‘बुढो बागमतीको आलाप’, द्वितीय समीम वैरागीको
‘नदुखाइदिनु मेरो छाती’, र तृतीय भारती न्यौपानेको ‘धरा’ भएको छ ।

खुपेन सुनुवारको ‘आदिम हिमनदीको विद्रोह अधुनिक सभ्यताविरुद्ध’, नारायण भट्टराईको ‘भिजेको
सिरानीमाथि हरिया सपना’, प्रज्ज्वल अधिकारीको ‘औरही नदी’, राजु प्रधान हिमांशुको ‘दन्तेकथा
जस्तो लाग्छ मेरो नातिलाई’, रुपा थापाको ‘पृथ्वी बलिरहेछ’, शरद्शोभाको ‘सच्चा राष्ट्र सेवक’, र
सुमन भट्टराईको ‘पर्या–क्रान्ति’ उत्कृष्ट १० कवितामा परेका छन् ।

वासुदेव अधिकारी, विमला तुम्खेवा र विजय हितान सम्मिलित तीन सदस्यीय निर्णायकको समूहले यो
निर्णय गरेको हो ।

प्रथम, द्वितीय र तृतीय हुने कविताका सर्जकहरुलाई क्रमशः रू १५ हजार, १० हजार र ५ हजारसहित
प्रमाणपत्र प्रदान गरिने छ । पुरस्कृत कविहरुलाई विनेसाम केन्द्रले दसैँ–तिहारबिचमा काठमाडौंमा
आयोजना गर्ने ‘विश्व सम्मेलन’कार्यक्रममा भौतिक रुपमै पुरस्कार प्रदान गर्नेछ ।

यो वर्षको वातावरण दिवसको नारा ‘भूमि पुनस्र्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’ रहेको थियो ।
सन २०१६ मा लण्डनदेखि सुरु भएको वातावरण साहित्य गोष्ठीको यो नवौं शृङ्खला हो । नेपालमा
पर्या साहित्यलाइ साँगठानिक तरिकाले प्रवर्धन गर्ने उद्यस्ले ‘नेपाली पर्या साहित्य प्रतिष्ठान’को स्थापना पनि गरिसकिएको विजय हितानले जानकारी दिनुभयो ।

गोष्ठीमा विनेसाम नेपाल साखाकी अध्यक्ष तथा केन्द्रीय संगठन सचिव कल्पना पौडेल जिज्ञासुले स्वागत मन्तव्य राख्नु भयो । विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा चलेको कार्यक्रमको
संयोजन तथा संचालन विनेसाम केन्द्रीय उपाध्यक्ष विजय हितानले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *