बहुभाषिक सृजना वाचन भव्य रुपमा सम्पन्न

काठमाडौं, २१ फेब्रुअरी २०२४

गणेश वाम्बुले राई – विश्व नेपाली साहित्य महासंघ केन्द्रले अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२४ को अवसरमा बिजुली सभा (जुम)मा बहुभाषिक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालमा रहनु भएका प्रसिद्ध कवि तुलसी दिवसको प्रमुख आतिथ्या तथा भारतमा रहनु भएका महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली भाषाका अनुसन्धाता तत्याना चेग्लोभा रसियन भाषामा रचना वाचन गर्नुभएको थियो । नेपाली साहित्यलाई औधी माया गर्ने चेक्लोभा विगत ७/८ सालदेखि नेपाली कविताहरू रसियनमा अनुवाद गर्दै आएकी छन् । साथै वरिष्ठ साहित्यकार तथा अनुवादक स्व डा कृष्ण प्रकाश श्रेष्ठसँग चारवटा संयुक्त कृति प्रकाशित गर्नुभएको छ ।

लक्ष्मण नेबटियाले मारवाडी, राजकुमार थारुले थारु, हेमन्त शिशिरले डोट्याली, सम्झना थापामगरले मगर, अमेरिकामा रहनु भएकी रितादेवी प्रधानले नेपालभाषामा कविता वाचन गर्नुभएको थियो । भीम बिरही राईले बान्तावा, डा. छवि गोगोईले असमी, हारुहितो नोजुले जापानी र नेपाली, रामलाल उरावले उराव, धनकुटाबाट नरेन्द्र कस्चित राईले छिलिङ, ललितपुरबाट गणेश वाम्बुले राईले वाम्बुले,प्रा. डा. भीम खतिवडाले संस्कृत भाषामा रचना वाचन गर्नुभएको थियो ।

यसैगरी देविका मग्राती राईले बंगाली, डा नाज सिंहले मगही, बेलायतबाट गोमा रानाले मगर, इज्रायलमा रहनु भएकी सुनिता राई कन्दङवाले हिब्रु, अमेरिकामा रहनु भएका मधु श्रेष्ठले दोलखाली नेवार भाषाको रचना सुनाउनु भएको थियो । दक्षिण भारतबाट रवि पौडेल र लुम्बिनीबाट रामप्रसाद गैरेले नेपाली भाषामा कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा प्रा डा गोविन्दमान सिंह कार्की, प्रा डा छबी गोगोई, डा सोमबहादुर धिमाल, प्राज्ञ कविता आले, तात्याना चेग्लोभा, गणेश वाम्बुले राई, कविता लगायत विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।

बुधबार साँझ भएको बिजुली सभामा महासंघकी सचिव कल्पना पौडेल ‘जिज्ञासु’ले स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो । महासंघकी महासचिव सुनिता राई कन्दङवाले संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *