साहित्यिकविमर्श तथा पुस्तक परिचर्चा सम्पन्न 

२०७९ असार २२ गते बुधबार 

अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको आयोजना तथा साहित्य कला संस्कृति प्रतिष्ठान धरान १३ को सहयोगमा धरान उपमहानगरपालिका वडा नं. १३ को सभाहलमा आज साहित्यिक विमर्श तथा पुस्तक परिचर्चा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन परदेशी बिम्बहरू साहित्यिक वार्षिक वर्ष -१३ अङ्क -१३, कवि सुरेन्द्र लिम्बू परदेशीद्वारा लिखित कविता सङ्ग्रह हामी आयामका भुइँमान्छेहरू, कथाकार सुनिता राई कन्दङ्वाद्वारा लिखित कथा सङ्ग्रह तिउरी तथा कथाकार म्यामराज राईद्वारा लिखित लघुकथा सङ्ग्रह हाम्रो बाटो गरि चारवटा कृतिहरूमाथि समीक्षा भएको थियो । जसमध्ये परदेशी बिम्बहरू … साहित्यिक वार्षिक वरिष्ठ भाषाविद प्रा. डा. टङ्कप्रसाद न्यौपाने, हामी आयामका भुइँमान्छेहरू प्रा. डा. गोपाल भण्डारी, तिउरी कथा सङ्ग्रह भाषाविद दिनेश पौडेल र हाम्रो बाटो लाई कथाकार तथा पूर्व सह-प्राध्यापक शरनकुमार राईले समीक्षा गर्नुभएको थियो ।

कार्यक्रमलाई अझ रोचक र साहित्यमय बनाउनका लागि वरिष्ठ कवि बम देवान, कवि सुदिप पाख्रीन, कवि जनकऋषी राई, कवि करुणा राई, कवि दीपा स्पन्दन र कवि तिर्थराज विश्वकर्मा द्वारा कविता वाचन, वरिष्ठ गजलकार श्रेष्ठ परिक्रमाले गजल र कथाकार गोपाल देवानले लघुकथा प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पूर्व महामहिम राजदूत तथा नेपाली भाषासेवी श्री भीम उदास हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा भाषाविद प्रा. डा. टङ्कप्रसाद न्यौपाने र धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्याक्ष श्री नेत्रप्रसाद काफ्ले हुनुहुन्थ्यो । स्वागत मन्तव्य साहित्य कला संस्कृति प्रतिष्ठान धरान १३ का उपाध्यक्ष मणि राई गोठालेले दिनुभएको थियो भने कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका उपाध्यक्ष तथा परदेशी बिम्बहरू साहित्यिक वार्षिकका प्रधानसम्पादक भीम विरही राईले गर्नुभएको थियो ।

आफ्नो कार्य व्यस्तता अनि प्रतिकूल मौसमको बावजुद पनि हाम्रो सानो अनुरोधलाई सहर्ष स्वीकार गरि कार्यक्रमलाई सफल पार्न उपस्थित भैदिनु भएकोमा यहाँहरू सम्पूर्णप्रति हामी आयोजक हार्दिक आभार व्यक्त गर्दछौँ । धरान -१३ का वडाध्याक्ष श्री नेत्रप्रसाद काफ्ले साथै सभाहल लगायत सम्पूर्ण प्रविधिमा सहयोग गर्नुहुने कला साहित्य संस्कृति प्रतिष्ठान धरान -१३ का सम्पूर्ण परिवारप्रति हामी हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *