विनेसाम बेलायत पश्चिमाद्वारा नारी दिवस र पुस्तक लोकार्पण भव्य रुपमा सम्पन्न

लन्डन १२ मार्च २०२२,

महिलाको मु्द्दा र आवाजलाई सशक्त रूपमा उठाउन निर्णायक तहमा पहुँच बढाउनुपर्ने विभिन्न सामाजिक अगुवाहरूले उल्लेख गरेका छन् । उनीहरूले उपल्लो र निर्णय गर्ने थलोमा महिलाहरूको सहभागिता वृद्धि गरेर मात्रै समानता र समावेशीकरणलाई बढावा दिन सकिने उनीहरूले उल्लेख गरेका छन् ।

विश्व नेपाली साहित्य महासंघ, पश्चिम यूकेद्वारा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भसँगसँगै नियमित त्रैमासिक साहित्यिक गोष्ठीलाई सम्बोधन गर्दै नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल लैङ्गिक समानता र दिगो विकाससँगै वातावरण संरक्षणका विषयमा यसपटकको दिवसले चर्चा गरेको बताइन् । उनले बेलायत जस्तो मातृसतात्मक समाजमा समेत बेलाबेला महिला दुव्र्यवहार, असमान ज्याला र पूर्वाग्रहका घटनाहरू सुन्नुपर्ने बताइन् । आफूले परराष्ट्र मन्त्रालयमा काम थाल्दा समेत महिला अधिकृत र कर्मचारीहरूको संख्या कम भएको स्मरण गराउँदै नेपाल र नेपालबाहिर रहेका सबै महिलाहरूले कुनै न कुनै चुनौती सामना गरिरहेको थपिन् ।

त्यसैगरी, गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेका अध्यक्ष प्रेम गाहा मगरले महिलाहरूको राजनीतिक, साँस्कृतिक, आर्थिक र सामाजिक क्षेत्रमा समान अधिकार प्राप्तिका लागि नारी दिवस मनाउन थालिएको भन्दै बेलायतमा महिला मात्रै नभई समग्र मानवाधिकार सुरक्षित रहेको बताए । उनले साहित्य र सँस्कृतिमार्फत् महिला अधिकार र अवस्थाबारे चेतना जगाइरहनुपर्ने भन्दै महिलाका मुद्दामा एनआरएनए हातेमालाे गर्न सदैव तत्पर रहेको जनाए ।

कार्यक्रमकाे ब्यानर ।
कार्यक्रमकी प्रमुख वक्ता प्राध्यापक डा. सुमाया राईले राजनीतक आस्था, सामाजिक पृष्ठभूमि र साँस्कृतिक पहिचानले समुदायहरूको समस्या फरकफरक भएपनि महिलाको पीडा भने साझा रहेको बताइन् । उनले जहानियाँ राणा शासनदेखि गणतन्त्रसम्म आइपुग्दा नेपालमा धेरै अगुवा महिलाहरूले समान अधिकार, पहुँच, अवसरका लागि संघर्ष र त्याग गरेको सुनाइन् । उनले प्राकृतिक विज्ञानले पुरुषभन्दा महिलालाई नै प्रजनन क्षमताका हिसाबले उपयुक्त ठानेकोले कुनै पनि क्षणमा कमजोर नठा्रन्न आग्रह गर्दै हरेक क्षेत्र र पेशामा आत्मविश्वासका साथ अगाडि बढ्न सुझाव दिइन् ।

सेलिङ माबोको कृति विमोचन
यसैगरी, सामाजिक, साँस्कृतिक र राजनीतिक अभियन्ता लीला सेलिङ माबोद्वारा लिखित ‘मेमोयर्स अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ कृति विमोच गरिएको छ । अथर हाउस बेलायतले प्रकाशन गरेको अंग्रेजी भाषामा लिखित पुस्तक माबोको दोस्रो कृति हो । फार्नबोरोनिवासी उनी पूर्व गोरखा सैनिक श्री प्रसाद माबोकी पत्नी पनि हुन् । कोरोना महामारीका कारण सिर्जित लकडाउनको समयमा संस्मरणात्मक डायरी लेखेकी माबोले सोही संकलनलाई पुस्तकको रूप दिएकी हुन् । २६२ पृष्ठको किताबमा उनले कोभिड र महामारीको प्रभाव, गोर्खा पत्नी हुँदाको पीडा र समस्या, आफ्नो थातथलो र साँस्कृतिक भूगोलको स्मरण, अश्वेत, दक्षिण एसियाली अल्पसंख्यक समुदायको अवस्था लगायतका विषय उल्लेख गरेकी छिन् ।

विमाेचित कृतिको आवरण ।

नेपालको ओयाम, पान्थर पुख्र्यौली घर भएकी माबो सन् २००० यूके आएकी थिइन् । उनी किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, फोनिज यूके, ग्रेटर रश्मोर नेपाली समाज, रश्मोर हेल्थी लिभिङ, नेपाली समाज लगायतका संघसंघस्थाहरूमा आबद्ध छिन् । उनले युनिभर्सिटी अफ सर्रेबाट अपराधशास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।

विमोचित कृति उपर पत्रकार, लेखक एवम् साँस्कृतिक अभियन्ता अमित थेवेले टिप्पणी गरेका थिए । उनले पुस्तकमा गोरखा आश्रित परिवारको सदस्यको आँखाबाट समाजिक, राजनीतिक र साँस्कृतिक घटनाहरू बुझ्न सहयोगी हुने बताए । उनले साहित्यमा डायरी लेखनले महत्वपूर्ण तथ्य, जानकारी र दर्शन दिएको उदाहरण प्रस्तुत गर्दै संस्मरणात्मक पुस्तकको उचाइँ अझ बढ्नेमा विश्वास व्यक्त गरे ।

पुस्तक अमेजनमार्फत् खरिद गर्न सकिनेछ । प्रकाशकले कृतिलाई किन्डल भर्सनमा समेत उपलब्ध गराएकाे छ । केही समयपछि बुकस्टाेरहरूमा पनि राखिने लेखिका माबाेले जनाइन् ।

सर्जकहरूले सुनाए सिर्जना
भर्चुअल रूपमा जुमबाट आयोजित त्रैमासिक साहित्य गोष्ठीकै दौरान करिब दुई दर्जन सर्जकहरूले रचना समेत सुनाएका छन् । सो कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका अध्यक्ष सुरेन्द्र लिम्बु, महासचिव सुनिता राई कन्दङवा, अहिल्या कुँवर, कर्म पहाडी शेर्पा, नानु राना थापा मगर, जित बुढाथोकी छन्त्याल, जगन्ना गुरुङ, गंगा भण्डारी, जय तामाङ, लालसुन्दर राई, प्रतिमा केसी, औतारी साइला गुरुङ, हाेम किरात सुनुवार, सेमन्त राई, शशी थापा सुब्बा, लीला सेलिङ माबाे, माया डी गुरुङ, एकिन्द्र गुरुङ, डा. सुमाया राई, अमित थेवे, गाेमा राना मगर, मीन बहादुर राना लगायतले गीत, कविता, गजल र मुक्तक वाचनसँगै आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमकी सहसंयोजक एवम् विनेसाम मिडिया संयोजक गोमा राना मगरले सञ्चालन गरेको कार्यक्रम विनेसाम पश्चिम यूके अध्यक्ष लालसुन्दर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । सेमन्त राईको बाँसुरी वादनबाट उद्घाटन गरिएको कार्यक्रममा होम किरात सुनुवारले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सल्लाहकार खेम गुरुङले समेत आफ्नो धारणा राखेका थिए ।