विनेसाम म्यान्माद्वारा भानु जयन्ती पालन

(२२ जुलाई २०२०)

२०७औँ भानुजयन्तीको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाद्वारा आयोजित अनलाइन साहित्यिक कार्यक्रममा म्यान्माका वरिष्ठ साहित्यकार जगदम्बाश्री पुरस्कारबाट विभूषित कवि ठाकुरप्रसाद गुरागाईँज्यूको गरिमामय उपस्थिति र आशीर्वचनले कार्यक्रमलाई भव्यता प्रदान गरेको थियो । उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घका विश्व केन्द्रीय समितिका अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशी, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिकै वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्ले, महासचिव सुनिता राई कन्दङवाज्यूहरूको महत्वपूर्ण उपस्थिति मन्तव्य एवम् कविता वाचन रहेको थियो । यस कार्यक्रमको शुभारम्भ कवि टेकनारायण रिमाल “कौशिक” बाट भानुभक्तीय रामायणको एक श्लोक पाठद्वारा भएको थियो । त्यसपछि विनेसामका केन्द्रीय समिति र शाखा प्रशाखा पदाधिकारीहरूको पारस्पारिक परिचय गराई सहभागी कविहरूबाट कविता वाचन भएको थियो । इजराइलबाट कवि सुनिता राई, म्यान्माबाट कवि टेकनारायण रिमाल “कौशिक”, भारतबाट कवि सुरेन्द्र लिम्बू परदेशी, म्यामाबाट कवि विष्णु पंथी, कवि भीम पाण्डे, कवि नारायण रिजाल, कवि होमनाथ ढकाल, कवि लक्ष्मण न्यौपाने ‘रामानुज’ र कवि मोहनराज खनालहरूले मीठा र रमाइला कविता वाचन गर्नुभएको थियो । उक्त कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेज्यूले भानु र उनको रामायणमा घाँसीको महत्व बताउनुहुँदै घाँसी सम्बन्धी सुन्दर कविता सुनाउनु भएको थियो ।
श्री लक्ष्मण न्यौपानेज्यूबाट स्वागतीय भाषण र मन्तव्य रहेको थियो । अन्त्यमा उद्घोषक श्री मोहन खनालज्यूबाट धन्यवाद ज्ञापन र कार्यक्रम सम्पन्न भएको घोषणा गरिएको थियो । कार्यक्रममा कवि ज्ञान संदेश खनाल, कवि जीवन खराल ‘रदीफ’ र अन्य कविहरूको पनि उपस्थिति रहेको थियो ।

मोहनराज खनाल
वरिष्ठ उपाध्यक्ष
विश्व नेपाली साहित्य महासङ्घ
म्यान्मा शाखा ।