विनेसाम रसिया शाखाले मनायो २०७औ भानु जयन्ती

(मस्को, ५ साउन २०७७)

रुसको राजधानी मस्कोमा पनि २ सय ७ औँ भानुजयन्ती मनाइएको छ । विगत वर्षहरुमा औपचारिक कार्यक्रम गरि भव्यरुपले भानु जयन्ती मनाउने गरिएकोमा यो वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अनलाइनबाटै भानुजयन्ती मनाइएको हो ।
विश्व नेपाली साहित्य महासङघ रुस शाखाको आयोजनामा भर्चुअल मिटिङ एप जुमबाटै आयोजनागरि मनाइएको भानु जयन्ती कार्यक्रममा स्वागत मन्तब्य विश्व नेपाली साहित्य महासङघ रुस शाखाका उपाध्यक्ष डिल्लि सुमन खरेलले राखेका थिए ।

उक्त कार्यक्रम विश्व नेपाली साहित्य महासङघका केन्द्रिय सचिव डा. मनमुर्ति भुर्तेलले फेसबुकमा लाइभ गर्दै सञ्चालन गरेका थिए । डा. भुर्तेलले बिच बिचमा भानुभक्तका श्लोकहरु गाउँदै भानु जयन्ती कार्यक्रमलाई रोचक ढंगले प्रस्तुत गरेका थिए । सो अबसरमा प्रमुख अतिथि रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरेले नेपाली भाषा सहित्यमा आदीकवि भानुभक्त आचार्यले पुर्याएको योगदानबारे चर्चा गरे ।

उनले असल र प्रतिभावान व्यक्ति लाखौँमा एकमात्र हुने बताउँदै भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा अतुलनिय योगदान गरेको बताए । राजदुत घिमिरेले तत्कालिन समयमा नेपाली समाजको रुपरेखा, सांस्कृति र त्यसको झुकाव अनुसार रामायणबाट प्रभावित भएर आदीकवि भानुभक्त आचार्यले रामायणलाई नेपालीमा अनुवाद गरेको स्मरण गरे । उनले भानुभक्त जस्तै विश्वभर छरिएर रहेका सवै नेपालीले देशकालागि सम्झन लायक काम गर्नुपर्ने सुझाव दिए । उनले अनलाइनका माध्यमले दूरदराजबाट अप्ठ्योरो परिस्थितिमा समेत नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्न तदारुकता देखाएकोमा विश्व नेपाली साहित्य महासङघ रुसलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठले रुसको राजधानी मस्कोमा पहिलो पटक अनलाइनबाट भानुजययन्ती मनाइएको बताउँदै यसलाई आगामी वर्षहरुमासमेत निरन्तरता दिनुपर्ने बताए । उनले रुसका महाकवि पुस्किन र नेपालका भानुभक्त आचार्यबिच तुलना गर्दा समान भएको दावी गरे ।

उनले आदीकवि आचार्यको समयमा नेपाली साहित्य विश्व साहित्यसँग दाँज्न नमिल्ने अवस्थामा भए तापनि अहिले दाँजिने अवस्थामा रहेको बताए । उनले अब प्रविधिको उच्चतम प्रयोगले नेपाली भाषा साहित्यलाई विश्वसँग जोड्नु पर्ने बताए । उनले भाषा तथा साहित्यको संरक्षण, विकास र विश्वव्यापिकरणकालागि साहित्यमा कलम चलाउनु पर्नेमा जोड दिए ।

सो अबसरमा विश्व नेपाली साहित्य महासङघ रुसका अध्यक्ष गोविन्दप्रसाद गौतमले सुरुवाती वर्षमा भानुजयन्ती मनाउँदा २० जनाको सहभागिता हुन हम्मेहम्मे पर्ने गरेको स्मरण गर्दै गत वर्षसम्म सयौँको सहभागितामा भव्य कार्यक्रम गरिँदै आएकोमा यो वर्ष कोरोनाका कारण भर्चुअल कार्यक्रम गरिएको बताए ।

उनले विश्वका अन्य देशमा रुसबाटै भानुजयन्ती मनाउन सुरुवात गरिएकोसमेत बताए । उनले.रुसमा मनाइने भानु जयन्ती स्वदेशप्रतिको सम्झना र माया भएकोसमेत बताए । ‘साहित्य अहिले एक मेडिटेसन पनि बनेको छ । हामी विदेशमा बसेर भानुलाई सम्झेर मात्र हुँदैन । यो जयन्ती स्वदेश सम्झने समेत एउटा अवसर हो ।’ उनले भने ‘त्यसैले प्रत्येक वर्ष हामी भव्यरुपले यो जयन्ती मनाएर नेपाली भाषा तथा साहित्यको संरक्षण र स्वदेशलाई सम्झन्छौँ ।’

सो कार्यक्रममा रुसी कवि इगोरइलिसिऐव, कवियत्री लुद्मिलासल्तिकोवा र चेख गणतन्त्रकी कवियत्री इरिनासिलेत्स्कायाले आफ्ना मौलिक कविताहरु भानुभक्तलाई समर्पित गरेका थिए । कार्यक्रममा विभिन्न रुसबासी साहित्यकारहरुले पनि आफ्ना मौलिक कविता (गजल) बाचन गरेका थिए ।

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्ले, संस्थापक अध्यक्ष डा.मधुकृष्ण श्रेष्ठ ‘माधुर्य’, गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जिवा लामिछाने, वर्तमान केन्द्रिय उपाध्यक्ष डा. बद्रीकेसी, एनआरएनए रुसका अध्यक्ष शिवमणी भुर्तेल, नेपाल–रुस साहित्य समाजका महासचिव चन्द्रकान्त आचार्य, विश्व नेपाली साहित्य महासङघ रुस शाखाका सल्लाहकार डा. एकनारायण चापागाई, डा. कुमार कार्कीलगायत विश्वका विभिन्न देशबाट भाषाविद एवम् साहित्यकारहरु जोडिएर आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यको विकाशमा गरेको योगदानबारे चर्चा गर्नुकासाथै रचना बाचन गरेका थिए ।

कार्यक्रम विश्व नेपाली साहित्य महासङघका केन्द्रिय सचिव डा. मनमुर्ति भुर्तेलले सञ्चालन गरेका थिए भने सभापतित्व विश्व नेपाली साहित्य महासङघ रुसका अध्यक्ष तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका संस्कृति एवम् सम्पदा उप–समितिका संयोजक गोविन्दप्रसाद गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *