विनेसाम भारतमा इजाहाङमा स्मृति कार्यक्रम

(१२ अगस्त २०२० दार्जिलिङ, भारत)
विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको संयोजकत्वमा आज इजाहाङमा स्मृति भर्चुअल साहित्यिक कार्यक्रम गुगल मीटमा भव्यताकासाथ सम्पन्न भएको छ । आमा मन्जुला सुब्बा र बाबा नवीन सुब्बाको कोखमा १२ अगस्त १९९० को दिन जन्मिएकी इजाहाङमा सुब्बाले ३ फेब्रवरी २०१३ को दिन २२ वर्षको आफ्नो छोटो उमेरमा नै हामीबाट बिदा लिएकी थिईन् । आज उनैको सम्झनामा विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाले इजाहाङमा स्मृति साहित्यिक कार्यक्रमको आयोजना गरेको हो ।

विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ट लेखक तथा हाँस्यव्यङ्ग्यकार कृष्ण प्रधान विषेश अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी स्व. इजाहाङमा सुब्बाको आमा मन्जुला सुब्बा र बाबा नवीन सुब्बा पनि अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । वहाँहरुले छोरीको स्मृतिमा लामो समयदेखि अनेक प्रकारको समाजसेवा र नेपाली भाषा साहित्यलाई मायाँ गर्दै आउनु भएको छ । कार्यक्रममा श्रद्धासुमनसहित धेरै जनाले आआफ्नो रचना वाचन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा रचना वाचन गर्नेहरु धेरै अग्रजदेखि नयाँ कलमकारहरु पनि थिए । जसमा चन्दन योन्जन तामाङ टिस्टा भेल्ली, अनिकेश प्रधान पोखे्रबुङ, मेनका भुजेल कालेबुङ, पवन महिमा जवाहर बस्ति, सुदर्शन तामाङ् बरिपाडा डुबर्स, पेम्बा यल्मो दार्जिलिङ, सुधिर घले गोर्खे दार्जिलिङ, हर्क तामाङ बीरपाडा डुबर्स, देवीका मंग्रान्ती राई खर्साङ्ग, मन्जिल थाम्देन दार्जिलिङ, निरुबिन्दु परियार जल्ढक्का कालेबुङ, मनिका लामा डुबर्स, दावा तामाङ मगरजुङ्ग, नूरन राई ‘जुदू’ कालेबुङ, प्रितम राया कालेबुङ, सुरेन्द्र लिम्बू परदेशी लखनऊ आदि हुनुहुन्थ्यो । त्यसैगरी कार्यक्रममा सीतादेवी शर्मा मणिपुर, सुरज चापागाईं मणिपुर द्वारिका क्षेत्री खर्साङग आदिको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा चन्दन योन्जन तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमका मुख्य अतिथि सुरेन्द्र लिम्बू परदेशीले आफ्नो भावपूर्ण मन्तव्यद्वारा स्व. इजाहाङमा सुब्बालाई श्रद्धासुमन अर्पण गर्नु भएको थियो । मव्तव्यले इजाको आमा बाबा भावविह्रल बनेपछि स्थितिलाई मोड्दै उनले विश्व नेपाली साहित्य महासङ्घको संक्षिप्त परिचय राख्नु भएको थियो । कार्यक्रम भव्य सफलताकोलागि विनेसाम भारत शाखालाई बधाई दिँदै अन्त्यमा आफ्नो सुन्दर रचना वाचन गरेर आफ्नो मन्तव्यको अन्त गर्नु भएको थियो । उक्त कार्यक्रमलाई विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाकी मूल सचिव सुमित्रा अविरलले दार्जिलिङ्बाट संचालन गरेकी थिईन् भने कार्यक्रमको सभापतित्व शाखाका अध्यक्ष राहुल राई बोगिकोले मणिपुरबाट गर्नु भएको थियो ।