विश्व नेपाली साहित्य महासंघ (GFNL) ताइवान शाखाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन भएको छ।
गठित कार्यसमितिको अध्यक्षमा संकर पन्थी, उपाध्यक्षमा विष्णु शर्मा, महासचिवमा डा. जीवन श्रेष्ठ तथा कोषाध्यक्षमा अजय कुमार यादव चयन हुनुभएको छ।
त्यसैगरी कार्यसमितिका सदस्यहरूमा सुदर्शन पाण्डेय, अमित भुजेल, रमिता प्रजापति, सुनिल खायमली तथा चेतनारायण ज्ञवाली चयन हुनुभएको छ।
शाखाको सल्लाहकार समितिमा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष डा. लेखनाथ काफ्ले, कपिल अधिकारी, मृगेन्द्रराज देवकोटा तथा मनोज कँडेल रहनुभएको छ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले शाखाका गतिविधिलाई थप सक्रिय र प्रभावकारी बनाउने उद्देश्यसहित नियमित रूपमा अनलाइन बैठक आयोजना गर्ने तथा शाखाको ई–पत्रिका ‘मूलबाटो’ लाई निरन्तर प्रकाशन गर्दै यसको प्रभावकारिता अभिवृद्धि गर्ने निर्णय गरेको छ। साथै ताइवानमा रहेका नेपाली स्रष्टा, साहित्यप्रेमी तथा नेपाली समुदायलाई साहित्यिक गतिविधिमार्फत एकताबद्ध गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
बैठकले ताइवान शाखाको प्रतिनिधित्व गर्दै मनोज कँडेललाई विश्व नेपाली साहित्य महासंघको विश्व केन्द्रीय परिषद सदस्यमा पठाउने निर्णय पनि गरेको छ। उक्त निर्णयमार्फत ताइवान शाखाको सहभागिता र प्रतिनिधित्वलाई विश्वस्तरमा अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
विश्व नेपाली साहित्य महासंघले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै ताइवान शाखाले अन्तर्राष्ट्रिय नेपाली साहित्यिक अभियानलाई थप सशक्त बनाउँदै उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।