सावादी -बैंकक (खगेन्द्र पन्धाक चुम)

बाइयोक टावरभन्दा
अलि अग्लो रहेछु र देखें ?
यसले छेलेको
चाउफ्राया किनारका वस्तीहरु !
उसो र संझिरहें-मेरो माझी गाउँ
सावादी ख्राप !

यहाँका सडकमा सबै हिंड्न सक्दैनन्-
भीरै-भीर जस्तो
यहाँका बतीहरु सबैलाई उज्यालो हुँदैन
घाम लागे जस्तो
भो’ सियामीहरु !
तिमेरुको सोम्ताम जस्तो
स्वादिलो छैन यो बैंकक

पहेंला गुम्बाहरुका ठूला-ठूला ऐनामा
आफुलाई निलो देख्न आएको म !
लोभिन्छु -राच्चाप्रारोपका थुँगाहरुको आख्यानमा

साला ! ओडारभित्रका डिस्को-थेकले
बन्धक राख्न खोज्छ
खुशीको अनुसशरण गरेर
अल्कोहल ह्वास्स डकार्दै हाँस्दा
ए मान्छेहरु, म तिमेरु जस्तो देखिन्न र ?

थाहा छ – खमेरुजसंगको तिमेरुको कुल्कुटुम्ब
बर्मेलीहरुसंगको तिमेरुको सम्बन्ध
म तेस्तै युयुत्सुको बच्चो –
कसरी मेरो गाउँले बुद्ध यहाँ आएर
उसको पैतलाको छाप भेट्यौ-पुज्यौ ?
म पनि बिचारको गेरु वस्त्र लाएर आ’को छु
यो पल्ट मेरो नेपाल देखें यहि र रोएँ

तिमेरुलाई देख्दा- लाग्छ
मैले कहिल्यै वाकसौन्दर्य सिकिनछु
अर्थात् सौन्दर्य बुझ्दै -बुझिनछु
सोच्दा-सोच्दा गर्मी बढेकोछ -उसै गर्मी
यो पल्ट सोंक्रानमा माया नछ्यापी फर्कन्न
घर-देशको माया लम्बिंदैछ- एता भिसा नि सकिँदैछ

बाइयोक टावरभन्दा
अलि अग्लो रहेछु र देखें -आज
यसले छेलेको
तेती परको मेरो ख्याउटी श्रीमती
चेकान ना ख्राप ! सावादी ख्राप !
______________________

Leave a Reply

Your email address will not be published. Required fields are marked *