पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न

२२ मे २०२३,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ”पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम” आज २२ मे २०२३/सोमवार भर्चुअल्ली भव्य रुपमा सम्पन्न भएको छ ।

केही महिनाअघि विनेसमा केन्द्रले आव्हान गरेको विश्व स्तरीय खुला गजल प्रतियोगितामा दुईसय छब्बिस जना स्रष्टाहरूको सहभागिता रहेको थियो । उक्त दुईसयछब्बिस गजलहरू सङ्कलन पश्चात् पहिलो चरण फिल्टर गरि तीनजना निर्णायकहरूलाई कोडिङ (बिना नाम ठेगाना) गरेर पठाइएको थियो । उहाँहरूबाट प्राप्त अङ्क जोड्दा आएको नतिजा नै अन्तिम नतिजा मानिएको हो । निर्णायकज्यूहरू डा घनश्याम परिश्रमी (उहाँ नेपाली गजल विधामा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुनुहुन्छ), प्रा डा कृष्णहरि बराल (उहाँ नेपाली गजलमा विद्यावारिधि गर्ने दोस्रो व्यक्ति हुनुहुन्छ) र गजल विज्ञ टक गुरुङ हुनुहुन्थ्यो ।

विनेसाम केन्द्रीय सचिव डा मनमुर्ति भुर्तेलको स्वागत मन्तव्यसँगै गति लिएको कार्यक्रमका सभापति विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति श्री भुपाल राईज्यू, विशिष्ट अतिथिज्यूहरू प्रा डा गङ्गाप्रसाद प्रसाईं, पूर्वमहामहिम राजदुत श्री भीम उदास, वरिष्ठ साहित्यकार कृष्ण धरावासी, प्राज्ञ कविता आले, प्राज्ञ मुनाराज शेर्मा, प्रा डा इन्दुप्रभादेवी, प्रा डा छबी गोगोई, डा देवचन्द्र सुब्बा, डा लक्ष्मीप्रसाद गौतम, प्राज्ञ ध्रुब मधिकर्मी, वरिष्ठ मुक्तककार श्री तिर्थराज अधिकारी, वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल, डा टेक बहादुर क्षेत्री आदि हुनुहुन्थ्यो । त्यसैगरी अतिथिज्यूहरू वरिष्ठ साहित्यकार प्राध्यापक प्रेम ओझा, गजलकार श्री लोकेन्द्र बन्जरा, वरिष्ठ लेखक तथा अनुवादक श्री छत्र छाजेड, मारवाडी भाषा अनुवादक श्री लक्ष्मण नेभेटिया, ताजपुरिया भाषाका अनुवादक श्री तेजेन्द्र ताजपुरिया, श्री मौसम शर्मा, श्री तिला लेकाली, डा देवेन्द्र केसी, श्री छत्रमान सुब्बा, कर्णेल विजय कुमार राई आदि हुनुहुन्थ्यो ।

स्वागत मन्तव्य पश्चात् विश्व स्तरीय गजल प्रतियोगितामा विजयी हुनुभएका स्रष्टाहरूको नाम, पुरस्कार प्रमाणपत्र जूम भर्चुअल झ्यालमा स्लाइट शो गरि प्रस्तुत गरियो । उक्त प्रमाणपत्रमा लिखित कुराहरू संस्थाका कोषाध्यक्ष केबी पौडेलले पाठ गरेका थिए ।
__ विजयीहरू..
– प्रथम : सुमी पोखरेल (उदयपुर), नगद रु २५,०००/ र प्रमाणपत्र ।
– द्वितीय : भावना लामिछाने (स्याङ्गजा/फेदीखोला), रु २०,०००/ र प्रमाणपत्र ।
– तृतीय : प्रमोद थापा (दोर्दी-१, लमजुङ्ग), रु १५,०००/ र प्रमाणपत्र ।
– चौंथो सान्त्वना : धनसिंह गिरि (घोराही/दाङ्ग), रु १०,०००/ र प्रमाणपत्र ।
– पाँचौँ सान्त्वना : आर्य आयुषा (सिन्धुपाल्चोक), रु ५,०००/ र प्रमाणपत्र ।
– पाँचौँ सान्त्वना : नवराज न्यौपाने ‘मौन’ (चुँदी/तनहुँ), रु ५,०००/ र प्रमाणपत्र ।
_नोट: पाँचौँ सान्त्वमा दुईजनाको अङ्क बराबर आएको हुँदा दुवैलाई सान्त्वा पुरस्कार प्रदान गरिएको हो ।

विश्व स्तरीय गजल प्रतियोगितामा हरेक विजयीलाई थप रु पाँच हजार थप गर्नुभएको थियो विनेसाम केन्द्रीय सल्लाहकार तथा रोमानियाका लागि महावाणिज्यदूत श्री नवराज पोखरेलज्यूले र साथै तेस्रो पुरस्कार विनेसामका पूर्वाध्यक्ष तथा वर्तमान सल्लाहकार श्री विश्वास दीप तिगेलाज्यूले सौजन्य गर्नुभएको हो ।

त्यसलगत्तै विनेसाम केन्द्रद्वारा सम्मानित तीनजना विशेष व्यक्तित्वाबारे प्रकाश पार्दै सम्मान घोषणा विनेसाम केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका सभापति सुरेन्द्र लिम्बू परदेशीबाट भयो ।

__ सम्मानित विशेष व्यक्तित्वहरू-
(क) विनेसाम सहित्यश्री सम्मान : विगत लामो समयदेखि हङकङमा रहेर नेपाली भाषा साहित्यको सेवा गर्नुहुने, हङकङमा साझा शृङ्खला सञ्चालन गर्नुहने, निरन्तर नेपाली ”साब्लाबुङ् पत्रिका” चलाउनुहुने र नेपालको विभिन्न ठाउँमा पुस्तकालय स्थापना गरेर करिब बाउन्नलाख बराबरको पुस्तकहरू प्रदान गरी सक्नु भएका श्री राज कुमार राईज्यूलाई विनेसाम साहित्यश्री सम्मानले विभूषित गरियो ।

(ख) विनेसाम प्रतिभा सम्मान : विगत तीन दशक लामोसमयदेखि अमेरिकामा रहेर नेपाली भाषा साहित्यमा अमूल्य योगदान पुर्याउनु हुने, दर्जनौँ कृतिका कृतिकार, नेपाली साहित्य सेवा गर्ने हेतुले करिब पैतिस लाखको अक्षयकोष स्थापना गरी साहित्यिक संस्था स्थापना गर्नु हुने श्री कमला प्रसाईंज्यूलाई विनेसाम प्रतिभा सम्मानले विभूषित गरियो ।

(ग) विनेसाम साधना सम्मान : लामोसमय प्राध्यापन पेसामा रहेर नेपाली भाषा साहित्यको सेवामा लागिरहनुहुने र लगभग चारदशदेखि एकलाइने कविता (एलाक)मा साधना गरिरहनुभएका श्री डम्बर पहाडी ‘एलाक’ज्यूलाई विनेसाम साधना सम्मानले विभूषित गरियो ।

कार्यक्रममा सम्मान घोषणा पश्चात् प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति माननीय श्री भुपाल राईज्यूको अत्यन्तै महत्वपूर्ण मन्तव्य रह्यो । विश्व नेपाली साहित्य महासङ्घले नेपाली भाषा साहित्यको श्रीवृद्धि हेतु गरेको साहित्यिक गतिविधिहरूको प्रशंसा गर्दै भविष्यमा साहित्यिक सहकार्य गर्न सकिने सुन्दर भनाइ राख्नु भयो । साथै नेपाल प्रज्ञा-प्रतिष्ठानले गर्दै आएको कविता प्रतियोगिता यसपटकबाट अलि फरक ढङ्गले आयोजना गरिने योजना रहेको कुरा पनि व्यक्त गर्नुभयो । प्रमुख अतिथिज्यूको मन्तव्य पश्चात् सम्मानित तीनजना विशेष व्यक्तित्वहरूको सम्मानपत्र जूम स्क्रिनमा स्लाइट शो गरि प्रस्तुत गरियो र उक्त सम्मानपत्रमा लिखित कुराहरू संस्थाका कोषाध्यक्ष केबी पौडेलले पाठ गर्नुभएको थियो ।

विनेसाम केन्द्रद्वारा आयोजित ”पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम” मा विश्व स्तरीय गजल प्रतियोगितामा विजयीहरूको गजल प्रस्तुत भयो साथै सम्मानित व्यक्तित्वज्यूहरू श्री राज कुमार राईज्यू र श्री डम्बर पहाडी ‘एलाक’ज्यूको केही कर्मशील भनाइ प्रस्तुत भयो । विशिष्ट व्यक्तित्वज्यूहरूले महत्वपूर्ण शुभकामना मन्तव्य राख्नु भयो श्री कृष्ण धरावासी, श्री तिला लेकाली, डा देवचन्द्र सुब्बा, प्रा डा दिवाकर प्रधान, कर्णेल विजय कुमार राई, श्री ध्रुब मधुकर्मी आदि । गजल विज्ञ देवी पन्थीले अत्यन्तै सान्दर्भिक मन्तव्य राख्नुभयो । आज सम्पन्न ”पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम’मा देश, विदेशबाट पचासीभन्दा बढीको उपस्थिति रहेको थियो ।

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित विश्व स्तरीय खुला गजल प्रतियोगिता सन् २०२३ को नतिजा यही मे ७ तारिक २०२३/आइतवार सार्वजनिक गरिएको थियो भने पुरस्कार समर्पण कार्यक्रम अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर आज जेठ ८ गते २०८०/ २२ मे २०२३/सोमवार भर्चुअल्ली भव्य रुपमा सम्पन्न गरियो । कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति मननीय श्री भुपाल राईज्यूको प्रमुख अतिथ्य तथा विशेषत प्राज्ञिक व्यक्तित्वहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।

आजको ”पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम’को सञ्चालन संस्थाकी महासचिव सुनिता राई कन्दङ्वाले गरेकी थिइन् भने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू, केन्द्रीय सल्लाहकार, पदाधिकारीहरू, विभिन्न राष्ट्रिय शाखा तथा उपशाखाहरूबाट उपस्थिति हुनु भएका पदाधिकारीहरू, आजीवन सदस्यहरू साथै प्रत्यक्ष उपस्थिति हुनुभएका सम्पूर्णमा आभार व्यक्त गर्दै गजल प्रतियोगितामा विजयीहरूलाई हार्दिक बधाई तथा शुभकामना, आजको कार्यक्रममा सम्मानित हुनुभएका तीनैजना विशेष व्यक्तित्वहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आजका कार्यक्रमको सभापति तथा विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूले कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *