मस्कोमा २०९औँ भानुजयन्ती सम्पन्न

मस्को, साउन १
रुसको राजधानी मस्को स्थित नेपाली राजदुताबासको हलमा भव्यरुपले २०९-औँ भानु जयन्ती मनाइएको छ । विश्व नेपाली साहित्य महासंघ रुस शाखा र नेपाली राजदुताबासको संयुक्त आयोजनामा मनाइएको भानुजयन्ती कार्यक्रममा स्वागत मन्तब्य विश्व नेपाली साहित्य महासंघ रुस शाखाका उपाध्यक्ष डिल्लि सुमन खरेलले राखेका थिए भने कार्यक्रमको अध्यक्ष्यता विश्व नेपाली साहित्य महासंघका केन्द्रिय उपाध्यक्ष गोविन्दप्रसाद गौतमले गरेका थिए ।

उक्त कार्यक्रम विश्व नेपाली साहित्य महासंघका केन्द्रिय सचिब डा. मन मुर्ति भुर्तेलले सञ्चालन गरेका थिए । डा. भुर्तेलले बिच बिचमा भानुभक्तका श्लोकहरु गाउदै र रमाइला लघु कविताहरु बाचन गर्दै भानुजयन्ती कार्यक्रम लाई रोचक ढंगले प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रथम चरणमा प्रमुख अतिथि, रुसका लागि नेपाली कार्यबाहक राजदुत, सुशील घिमिरेले नेपाली भाषा र साहित्यको विकासमा आदीकवि भानुभक्त आचार्यले पुर्याएको अतुलनिय योगदानबारे चर्चा गरे ।

एनआरएन रुसका अध्यक्ष शिवमणी भुर्तेलले विश्वभर छरिएर रहेका सबै नेपालीले भानुभक्तले जस्तै देशका लागि सम्झनलायक काम गर्नुपर्ने सुझाव दिदै अप्ठ्योरो परिस्थितीमा समेत नेपाली भाषा, साहित्य र संस्कृती संरक्षण गर्न तदारुकता देखाएकोमा विश्व नेपाली साहित्य महासंघ लाई धन्यवाद व्यक्त गरे । रुस नेपाल मैत्री संघको तर्फ़ बाट एभ्गेनी कोजारेजोभले कार्यक्रमको सफलताको कामना गर्दै रुसी र नेपाली जनता बीच आत्मीय मित्रता कायम हुनुमा स्वर्गीय साहित्यकार कृष्ण प्रकाश श्रेष्ठको योगदान बारे चर्चा गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा नेपाली भाषामा प्रकाशित स्मृति ग्रन्थ सम्झनामा कृष्णप्रकाश श्रेष्ठ “को लोकार्पण भएको थियो । स्वर्गीय वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठले नेपाली भाषा तथा साहित्यको संरक्षण, विकास र विश्वब्यापिकरणका लागि सधैं कलम चलाउनुपर्नेमा जोड दिईरहनु हुन्थ्यो ।

कार्यक्रममा उपस्थित स्मृति लेखकहरु क्रमश: रुसी कवियत्री तात्याना चे, नेपालप्रेमी समाजसेवी नेल्ली स्तेपानोभा, मारिना श्रेष्ठ (कृष्णप्रकाश श्रेष्ठकी छोरी), प्रोफेसर डा. सुर्य प्रकाश पौडेल र डा. मन मुर्ति भुर्तेलले कृष्णप्रकाश दाजुलाई सम्झिदै वहांको योगदान बारे चर्चा गरेका थिए । रुसी भाषाका लेखिएका स्मृति लेखहरुको अनुवादका साथै उक्त स्मृति ग्रन्थको सम्पादन विश्व नेपाली साहित्य महासंघका केन्द्रिय सचिब डा. मन मुर्ति भुर्तेलले गरेका थिए ।

कार्यक्रमको तेश्रो चरणमा रुसी कवियत्रीहरु तात्याना चे, तमारा पात्योम्किना, मारिना श्रेष्ठले आफ्ना मौलिक कविता हरु भानु भक्तलाई समर्पित गरेका थिए । रुसबासी नेपाली हरु दिपेश दाहाल, गोविन्द देवकोटा, कला पोख्रेल दहाल, हिमाल बम, इन्द्र प्रसाद भुसाल, सरस्वती खनाल ज्ञवाली, डा. मन मुर्ति भुर्तेल, गोविन्दप्रसाद गौतमले पनि आफ्ना मौलिक कविता , गज़ल, मुक्तकहरु बाचन गरेका थिए । कार्यक्रमको समापन गर्दै अध्यक्ष गोविन्दप्रसाद गौतमले पछिल्ला बर्षहरुमा (कोरोना काल बाहेक) सयौँको सहभागितामा भब्य कार्यक्रम गरिँदै आएको बताए । उनले भानुजयन्ती कार्यक्रम स्वदेशप्रतिको सम्झना र माया भएको समेत बताए ।

कार्यक्रमको अन्तिममा, विश्व नेपाली साहित्य महासंघ रुस शाखाको नवनिर्वाचित कार्यसमितिलाई खादा ओढाएर बधाई एबं शुभकामना दिईएको थियो । उक्त कार्यक्रममा एनआरएन रुसका संस्थापक अध्यक्ष डा. सुर्य रिजाल, विश्व नेपाली साहित्य महासंघ रुस शाखाका सल्लाहकार डा. कुमार कार्की, रुस नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष टेक राज निरौला, रुस नेपाल मैत्री संघका सचिव बोरिस भेर्शिलिन, उपाध्यक्ष दिनानाथ राजभण्डारी लगायत करिब ६० जना साहित्यप्रेमी महानुभावहरुको सहभागिता रहेको थियो ।

  • मस्को (रुस महासंघ)/

Leave a Reply

Your email address will not be published. Required fields are marked *