20 अगस्त 2020 भारत
विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको आयोजना तथा सिरोई सिर्जना मणिपुरको सहआयोजनामा गुगलमीट मार्फत आज एउटा भव्य साहित्यिक कार्यक्रमको आयोजना गरी २९ औ भाषा दिवस पालन गरिएको छ । कार्यक्रममा भारतको विभिन्न राज्यहरू पश्चिम बंगाल, सिक्किम, आसाम, मणिपुर, मिजोराम, मेघालयलगायतको सहभागिता रहेको थियो भने भारत बाहिरबाट नेपाल, अमेरिका, वेलायत, रसिया, इजरायललगायत विभिन्न देशबाट जोडिनु भएको थियो । लामो समयसम्मको वलिदानी संघर्ष पश्चात सन् 1992 अगस्त 20 तारिक भारतीय संविधानको आठौं अनुसूची अन्तर्गतको नेपाली भाषाले मान्यता पाएको थियो । त्यसपछि हरेक वर्ष 20 अगस्तको दिनलाई भाषा दिवसको रुपमा मनाईंदै आएको छ । यस वर्ष भने कोरोना भाईरसको माहामारीले गर्दा भौतिक रुपमा उपस्थित भएर कुनै कार्यक्रमको आयोजना गर्नु चुनौतीपूर्ण हुनाले यसरी भर्चुअल कार्यक्रमको आयोजना गरेर मनाउनु परेको छ । तर यो नयाँ युग र नयाँ प्रविधिको साथमा सँधैभन्दा पनि भव्य रुपमा यो वर्ष भाषा दिवस मनाइएको कुरा धेरैले अभिव्यक्ति दिएका छन् ।
कार्यक्रमलाई गरिमामय बनाउन विभिन्न देशबाट विशिष्ट विद्वान् व्यक्तित्वहरू पनि जोडिनु भएको थियो । कार्यक्रममा विशेष वक्ताको रुपमा युवा पुस्ताका लोकप्रिय लेखक साहित्यकार सुकराज दियाली उपस्थित हुनुहुन्थ्यो । वहाँको सारगर्भित मन्तब्यले भारतीय नेपाली गोर्खालीहरूमाझ नेपाली भाषाको महत्वलाई दर्शाएको थियो । त्यसैगरी उत्तरआधुनिक युगमा आएर आज साइवर संसारमा प्रवेश गरी सकिएको भए तापनि नेपाल, बर्मा, भुटान, थाइल्याण्ड, मलेसियालगायत विश्वको विभिन्न देशहरू जहाँ नेपाली भाषा साहित्यको सम्वर्द्धन संरक्षणको काम भइरहेको छ उनीहरू र हामीबिच भाषिक एकताको सवालमा भने उल्लेख्य काम हुन नसकेको, भाषिक विनिमयमा पारदर्शिता स्थापित हुन नसकेको, एक प्रकारको सम्पर्कविहीन रहेको अवस्था जस्ता केही दुःखेसोहरू पनि वहाँले अभिव्यक्त गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले अब हामीले पश्चिमा भाषिक साँस्कृतिक अतिक्रमणको विरुद्धमा ससना शक्तिहरूबिच एलायन्स गरेर आफ्नो अस्तित्व बचाउने समय आएको कुरा उल्लेख गर्नु भयो । विज्ञान र प्रविधिको प्रयोगले युग बदलिएको प्रसंगलाई महत्व दिँदै हाम्रो समाज र सामाजिक संरचनामा चलायमान रहेका आइडियोलजीहरू पनि बदलिँदै जाने कुरालाई हामीले बुझ्नु पर्ने कुरामा जोड दिनु भयो । आफूद्वारा चलिरहेको नव आयाम वैचारिक अभियानको प्रसंगलाई जोड्दै हाम्रो साहित्यिक सिर्जनाहरुको मूलधारलाई विज्ञान र प्रविधिको संसर्गबाट छुटाउनु नहुने कुरा पनि राख्नु भयो ।
आजको कार्यक्रमलाई भाषा-साहित्यमय बनाउन थुप्रै सर्जकहरुबाट विभिन्न प्रकारका साहित्यिक सिर्जनाहरु पनि वाचन गरिएको थियो । सिर्जना वाचन गर्नेहरूमा हुनुहुन्थ्यो निरु बिन्दु परियार जलढाका, हर्कु तामाङ डुर्वस, विकाश समपर्ण असम, अजित वियोगी र रन्जीत गुरुङ मिरीक दार्जीलिङ, महेन्द्र स्याङ्बो सुकेपोखरी, देविका मंग्राती राई, द्वारिका छेत्री र सरोजनी सागर देवान खरसाङ, चन्दन योन्जन टिस्टा भेल्ली, विजय मुखिया दार्जिलिङ, निमा तामाङ र पेम्बा टी याल्मो सिलगढी, मन्जुला तामाङ सुब्बा घुम दार्जीलिङ, प्रीतम राया कालेबुङ, सरमान सुब्बा “रसिक” नाम्ची सिक्कीम, विरेन्द्र अब्जस टिस्टा भेल्ली, शुभद्र बम्जन सिटोङ, सूरज चापागाई र साजन घिमिरे मणिपुर, वन्दना गौतम म्यान्मार, तीलकराम पोख्रेल थाईल्याण्ड, सुनिता राई कन्दङ्वा इजरायल आदि सर्जकहरुले स्वरचित कविता पाठ गरेर भारतीय भाषा दिवसलाई विश्वव्यापी बनाउँदै भाषा साहित्यको थप इतिहास कायम गरेका थिए । कार्यक्रममा वरिष्ट लेखक साहित्यकार पत्रकार भारतमा निरन्तर लामो समयदेखि प्रकाशन भईरहेको विन्दु पत्रिकाका सम्पादक केबी नेपालीको उपस्थितिले नयाँ पुस्ताका कलमकारहरुलाई गहकिलो उर्जा थपिदिएको थियो । वहाँले नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन के कस्ता वलिदानी कार्यहरू भएका थिए भन्ने सन्दर्भलाई संक्षिप्त रुपमा राख्नु भएको थियो । यसैगरी मिजोरामबाट लेखक एवं कलाकार डा. किङ गुनु घर्ती, मणिपुरबाट सीता देवी छेत्री, कलकताबाट विकाश कार्की, सिक्कीमबाट अमर बनिया “लोहोरो”, नेपालबाट डम्मर पाहाडी “एलाक” एक लाईने कविता लेखनका अभियन्तालगायतको उपस्थितिले विनेसामको अनलाईन भाषा दिवसलाई अत्यन्तै स्तरिय बनाई दिएको थियो ।
कार्यक्रममा स्वागत समभाषण नागरी दार्जीलिङका लेखक कवि दार्जीलिङ मिरिर अनलाई टिवीका समाचार प्रस्तोता श्रीमान कृष्ण पी ठटालले राखे भने, मिरिकका युवा कवि बिनेसामका उपाध्यक्ष मुस्कान खेसाङ राईले धन्यवाद ज्ञापन गरेका थिए । विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाकी मूलसचिव सशक्त नारी हस्ताक्षर सुमित्रा अविरलले दार्जिलिङबाट कार्यक्रमको संचालन गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व शाखाका अध्यक्ष राहुल राई बोगिकोले मणिपुरबाट गर्नु भएको थियो । अन्त्यमा आफ्नो महत्वपूर्ण मन्तव्य राखेपछि सभापतिले कार्यक्रमको विसर्जन गर्नु भएको थियो ।