आठ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न (भिडियो र फोटो सहित)


गत १२ अगष्ट २०१८ का दिन युकेको क्यान्टवरी युनिभर्सिटी हलमा आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भयो ।

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजन र युकेको सबैभन्दा जेठो संस्था नेपाली साहित्य विकास परिषदको सहआयोजनामा सम्मेलन सम्पन्न भएको हो ।

युकेका लागि नेपालका राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदी, वरिष्ठ कवि तुलसी दिवस, बरिष्ठ समालोचक प्राडा. गोविन्दराज भट्टराई केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले सयुक्त रुपमा दीप प्रज्वलन गरि समुदघाटन गर्नुभएको थियो ।

ब्यवस्थापन संयोजक तथा केन्द्रीय सचिव केदार सुनुवार संकेतले सम्मेलनमा सहभागी सबैलाई स्वागत गर्नुभयो । नेपाल सरकारका प्रतिनीधि राजदुत सुवेदीले युकेमा अहिले सम्म भएका २० राजदुतहरु मध्ये साहित्य कर्मगर्ने आफू दोस्रो राजदुत भएको खुलासा गर्दै सम्मेलनको सफलताको कामना गर्नुभयो । त्यस्तै अर्का प्रमुख अतिथि कवि दिवसले नेपाल भित्र बोलिने सम्पूर्ण भाषाहरुको साहित्य नेपाली साहित्य हो भन्नुभयो ।

विभिन्न ५ शिर्षकमा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । जर्मन प्रोफेसर बि सेन्लरले पल्पसा क्याफे उपन्यास र बुद्धत्व सम्बन्धमा एक कार्यपत्र प्रस्तुत गर्नुभयो । प्राडा. भट्टराईले विश्व साहित्यमा नेपाली साहित्यको स्थान सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुहुदै नेपाली साहित्यका कृतिहरु पुगेका लाईब्रेरी संख्याको तथ्याङ पस्कनुभयो । नेपाली गीत लेखनको बारेमा गीतकार भावेश भुमरी, बेल्पाली नेपाली साहित्यकार र युद्ध साहित्य बारे विजय हितान, नेपाली साहित्यको चिन्तन, परिभाषा र लेखनमा सुधारको अपरिहार्यता बारेमा अध्यक्ष तिगेलाले कार्यपत्र प्रस्तुत गर्नुभयो भने नेपाली साहित्यको विकृति तथा प्रवासी साहित्यकारहरुको बारेमा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला र संमग्र नेपाली साहित्यको बारेमा प्राडा. नोवल किसोर राईले बोल्नुभयो । त्यस्तैगरि आमन्त्रित अष्ट्रियाबाट सहभागी हुन भएकी सेला स्टेनरले साहित्यकार झमक घिमिरेको बारे बनेको फिल्मको ट्रेलर सहित जानकारी गराउनु भएको थियो भने भारतको भाक्सुबाट मित्रसेन प्रतिष्ठानकी संरक्षक वयोवृद्धा प्रतिमा दोधराजको पनि उपथिती रहेको थियो ।

साहित्य महासङ्घले प्रदान गर्ने नेपाली साहित्यको दुत (सगरमाथा) २०१८ कवि दिवसलाई प्रदान गरियो भने नेपाली साहित्य दुत (धौलागीरी) २०१८ श्रीमति लक्ष्मी राई थापा (लारा) लाई ताम्रपत्र सहितको सम्मान प्रदान गरियो । सो अवसरमा प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरुको बाहुलीबाट पालैपालो सात वटा पुस्तकहरु लोकापर्ण भयो । जसमध्ये विश्व नेपाली महासङ्घमा आबद्ध स्रष्टाहरुको संकलित रचनाहरुको संगालो संगालो ‘बिनेसाम दर्पण“, मस्को निवासी कृष्ण प्रसाद श्रेष्ठद्वारा रसियनबाट नेपालीमा अनुवादित कविताकृति ‘रुसी पल्लव“, प्रा डा. गोविन्दराज भट्टराईको ‘मेरो पहिलो बेलायत यात्रा“, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय सहसचिब सुनिता राई कन्दङवाको ‘एक जुवा घाम“ नामक कविता कृति, बेल्पाली कवि जानु काम्बाङको ‘नउघ्रेको जून“ र अर्का बेल्पाली साहित्यकार केदार संकेतको ‘बुद्दल्याण्ड टु मदरल्याण्ड“को लोकार्पण गरियो ।

कार्यक्रमको बीचबीचमा बासुरी समुहका तर्फबाट सुरेन्द्र ईगनाम, सेमन्त राई, भरत लोहरुङ र सांरगी ग्रुपबाट डम्बर सिंबाट मीठा संगीतहरु पस्किएका थिए । कवि लालसुन्दर राई र अमित थेवेले कविता वाचन गरेका थिए । त्यस्तै मलियना, विना र नेहाले नृत्य प्रस्तुत गरेका थिए भने गायक थीर थापाले सुमधुर गीत पस्केका थिए ।

सम्मेलनको अन्तमा सम्मेलन संयोजक तथा सचिव केदार सुनुवार ‘संकेत’ले ८ बुंदे घोषणापत्र जारी गर्नुभयो । सम्मेलनका सहभागिहरुलाई ब्याकपाइप बजाएर सबैलाई स्वागत र विदाई गरिएको थियो भने खानाब्रेक तथा कार्यक्रमको शुरुवात पनि पाइप बजाएरै जनाउ दिईएको थियो । कार्यक्रमलाई विनेसाम साउथ वेष्ट स्वीन्डन शाखाकी महासचिव जानु काम्बाङ र केन्द्रीय सचिव संकेतले संचालन गर्नुभएको थियो ।

सम्मेलनको विर्षजन लगतै सहआयोजक साहित्य विकास परिषदद्धारा क्यान्टवरीको चमचम रेष्टुरेष्टमा स्वागत तथा रात्रीभोजको कार्यक्रम सम्पन्न भयो । सम्मेलनको दोस्रो दिन पूर्वयोजना मुताविक साहित्यिक भ्रमण अन्तर्गत १८ औ शताब्दिका चर्चित साहित्यकार डिकिन्सको घर ब्रोडस्टेयर्सको यात्रा भयो भने साँझपंख सम्मेलनको निम्ति नेपालबाट आमन्त्रित तथा सहभागी पाहुनाहरुको निम्ति नेपाली राजदुतावासद्धारा स्वागत रात्रीभोजको आयोजना सुसम्पन्न भयो । पहिलो सम्मेलन सन् २०१३ अक्टोबर २५ का दिन काठमाडौमा सम्पन्न गरि ११ बुंदे घोषणापत्र जारी गरेको थियो ।

घोषणा–पत्र

आज मिति १२ अगष्ट २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समिति र विश्वभरका २७ शाखा र सहआयोजक नेपाली साहित्य विकास परिषद युकेको आयोजनामा क्यान्टवरी क्राइसचर्च युनिभर्सिटीको हलमा सम्पन्न दोस्रो विश्व नेपाली साहित्य सम्मेलनले निम्न ८ बुंदा घोषणा गर्दछ ।

१. नेपाल भित्र बोलिने सबै (मातृ) भाषाहरुको साहित्य र विभिन्न मुलुकमा रहेका, नेपाली पहिचान भएका साथै नेपाली परिचयमा गौरव गर्नेले आफ्नो भाषामा लेखेको साहित्यलाई नेपाली साहित्य मान्ने परम्परामा गौरव गर्दछ ।

२. नेपाली (खस जुम्ली) भाषालाई देव नागरी लिपीमा लेखिएको साहित्य नेपाली पहिचान र प्रतिष्ठा भई सकेकोले यसको श्रीवृद्धिको निम्ति हरप्रकारको कार्य गर्ने प्रतिबद्धता जारी गर्दछ ।

३. नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्ने कार्यलाई निरन्तरता दिने ।

४. नेपाली बर्ण विन्यास २०६९ र मानक नेपाली भाषा अभियान २०७४ दुवैको योगदानको उच्च सम्मान गर्दै नेपाली लेखनलाई ध्वनी विज्ञान सम्मत लैजान आग्रह गर्दछ ।

५. नेपाल भित्र बोलिने १२५ भाषाहरु मध्ये झण्डै २ दर्जन भाषाका कविताहरुलाई अन्य भाषामा अनुवाद सहित प्रकाशन गर्ने प्रतिबद्धता गर्दछ ।

६. देश बाहिर रहेको नेपाली साहित्यका स्रष्टाहरुलाई उपेक्षा गर्ने प्रचलन प्रति दुःख ब्यक्त गर्दै अब दया र भिख होइन गुणस्तरको आधारमा मूल्याङ्कन गरि सम्मानहोस भनी जोडदार माग गर्दछ ।

७. नेपाली युद्ध साहित्यको सिर्जना यथेष्ठ भईसकेकोले नेपाली साहित्य आकासमा यसको ब्यापक पठनपाठनहोस भन्ने माग गर्दछ ।

८. यस सम्मेलनलाई सम्पन्न गराउन साथ सहयोग गर्नुहुने २० मुलुकका २७ शाखाहरु, सहयोगदाताहरु लगायत साथ सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।