प्रवासीलाई घरको सम्झना, गरिबलाई दशै होइन दशा (योगेन्द्रमिलन छन्त्याल)

एउटै गाउँमा ३-४ वटा लिङ्गे पिङ्गहरु मच्चिदै होलान् । ठाउँ ठाउँमा विशेष मेलाहरुको आयोजना गरिदै होलान् । आयोजकहरु मेलालाई राम्रो बनाउन योजना बनाउदै होलान् । युवायुवतीहरु मेला आउने दिन गन्दै होलान् । बेसीमा धान झुलेका होलान्, खेतमा मकै सुकेका होलान् । सबै किसानहरु खुशी भैरहको बेलामा ठ्याक्कै आईपुगेको छ यो वर्षको दशैं तिहार !

चिसो चिसो हावाले बारीको ढिकमा फक्रेका कोमल सयपत्री र मखमली फूललाई ढलमल ढलमल नचाइरहेका होलान् । गाउँघरका ढुङ्गे र खरले छाएका घरहरु सेतो कमेरो, रातो माटो र ब्यात्रीका कालो रङले सिङ्गारिएका होलान् । अलिक तल शहरी क्षेत्रमा पनि इनामेलका रङ र रङ्गीचङ्गी सजावटले नेपालीवस्तीहरु झिलीमिली भएका होलान् । बाध्यता, विवशता र कमाउने सपना बोकेर विदेशिएका र पल्टने लाहुरेहरु दशैं तिहार मान्न घर फर्कदैहुनुहुन्छ होला । त्रिभुवन विमानस्थलमा ट्याक्सी चालकहरु झगडा गर्दै होलान् । जीपपार्कमा भरियाहरु बाकस खोसाखोस गर्दै होलान् ।

गाउँमा उजेली भाउजुको रङ बल्ल पहिलेजस्तै उज्यालो भयो रे ! नत्र “बुढो नहुँदा त उजेली अँधेरी मात्र भएकी हैन गलेर मर्नै पो लागेकी छ त, किन यस्तो चिन्ता गर्दिहोली ?” भनेर सबै दिदीबहिनीहरुले जिस्क्याउने गर्दथे रे । उजेली भाउजु हिजोआज विजय दाइसँग विगतका कुरा गर्नुहुन्छ होला । खेत र वन पनि जानुभएको छैन रे । दिनभरि घरमै बस्नुहुन्छ रे । मान्छेहरु देखिए मुसुक्क मुस्कुराउनु हुन्छ रे ।

चाडपर्व जब नजिकिन्छ, परदेशीको झल्को लाग्छ घरपरिवारलाई । कोही आउँदा पनि आफ्नै मान्छे पो आयो कि भन्ने लाग्छ । आफ्नो मान्छे घर फर्केमा दशैंतिहार कत्ति रमाइलो हुने थियो भनेर छिट्टै फर्कन परदेशीलाई अनुरोध गर्ने गर्दछन् । परदेशीलाई पनि विदेश बस्न रहर त कहाँ हुनु नि ? जे छ जिन्दगी परिवारकै खुशीमा छ, त्यसैले दशैँतिहार धोको फेरेर मनाउने बाचा गरेका हुन्छन् परदेशीहरु चाडपर्व आउनुभन्दा पहिले चाहि ।

सबैले निधारमा टिका कानमा जमरा वा गलामा माला पहिंरिदा पक्कै पनि आमबुवा, दिदीबहिनीहरुलाई आफ्ना छोरा वा भाइदाजुको याद आउनु स्वभाबिक हो । देशलाई नै सुनसान पारेर करीब ४९ लाख नेपाली दाजुभाई विदेशिएकोमा आमबुवा दिदीबहिनीहरू भन्ने गर्छन् : अब गाउँवस्ती नै सुनसान पारेर विदेश जानुहुँदैन, विदेशमा रहेकाहरु पनि फर्केर देशका लागि केही गर्नुपर्छ । साँच्चीकै देशका लागि सोच्ने बेला आएन र ? कति दिन विदेशको मुख ताक्ने हामीहरु ? तर बाध्यता, विवशता र धन कमाउने रहरमा विदेशबाट दशैंतिहारमा घर फर्कन नपाएकाहरु आमा र बहिनीलाई टिका जमरा र मालाको प्रयोगमा नरुन अनुरोध गर्न बाध्य छन् ।

संचारमाध्यमहरुमा साथीहरुको शुभकामना सन्देश सुन्दा पढ्दा मुटुमै विगतका यादहरु बल्झन्छन् । आँशु झर्न खोज्छ, अरु मान्छेहरुदेखि लाज लाग्छ अनि मुश्किलले आँखामै सुकाउने प्रयास गर्छु । तर ‘अचेल किन निन्याउरो देखिनुहुन्छ नि ?’ भन्ने प्रश्नको उत्तर लुकाउने गर्छु ।

किनकि पोहोर साल दशैंमा मेरी आमाले जमरा टिका तयार पारेपछि मलाई सम्झनुभएको थियो रे ! टिका थाप्न बसेकी मेरी बहिनीलाई आँखामा टिलपिल टिलपिल आँशु देखाउँदै भन्नुभएको थियो रे : ‘दाइको फोटो लिएर आइज त, पहिले दाइलाई ला’इदिन्छु । बल्ल तिमे’रुको पालो आउँछ ।’

त्यसपछिका दिनमा फोन गर्दा यो वर्ष चाहिँ जसरी पनि घर फर्कने बाचा गरेको थिएँ । तर मनले के ताकेको थियो, वास्तवमा के भइ दियो । अनि यो वर्ष पनि मेरो फोटोले नै टिका थाप्ने भयो आमासँग । आमाले महत्व दिनुहुन्छ दशैंलाई, अर्को वर्ष चाहिँ जानैपर्छ । यो वर्षमा पनि तिहारमा बहिनीले उपहार दिएको टोपी पहिरिने भयो मेरो फोटोले ! मेरो बिन्ति छ, मेरी प्यारी आमा र बहिनीले दशैं तिहारमा हामी घरमा नभएकोमा आँशु पटक्कै नझारुन् ।

आशा गरौ, हाम्रो मनोकामना पूरा हुनेछ र देशको राजनीतिले पनि निकास पाउनेछ । अनि त सपरिवार देशमै रमाउने छौ, आफ्ना पसिना आफ्नै माटोमा सिञ्चने छौ ।

साहिली भाउजुलाई भने १२ वर्षदेखि अरबियन मुलुकमा रहनुभएका सहिला दाइ फर्किए हुन्थ्यो भन्ने आशा किन नहुँदोहोला र ? तर यो वर्ष फर्कनुहोला भन्ने विश्वास भने छैन । नजिकिएको दशैंले मुटु चर्कन्छ, यादका ओइलाएका घाउहरु कोट्टिने गर्छन्, चहराउछन्, कता कता दुखाइ त कता कता नानाभाँटीका कल्पना। अनि त बलिन्द्र धारा आँशु बग्दछन् । यसो फोनसोन गर्ने, सञ्चोबिसञ्चोको खबर पठाउने गरे पनि त चित्त बुझ्थ्यो ।

केटाकेटीलाई भने केको चिन्ता नि ? हाँस्छन्, नाच्छन्, गाउँछन्, खेल्छन् । विदेशिएका बाबाको पनि चासो छैन, काकाको पनि मतलब छैन । तर पनि दशैंको बेला ढिपी गर्दै बाबाकाकाकाबारेमा प्रश्नैप्रश्न तेर्स्याउँदा थुप्रै आमाहरुलाई भक्कानो छोडेर रुने बनाउँछन् । आमाले राता राता आँखाबाट बगेका आँशु थाम्नै नसकेर मिजेत्रोले पुछ्दै रुन्छिन्, दाहिने मुठ्ठीले मुटुमा ढुक्ढुकाउँछिन् अझ साह्रो धड्कन्छ मुटु, अझ दुख्छ छाती, अझ चर्कन्छ मन ।

सबैतिरबाट दशैं तिहार मान्न गाउँ फर्केका केटाकेटीहरु आँगनमा खेल्दैछन् । ८ वर्षीय रामुले अञ्जानमा घमण्ड गर्छ : हाम्रो बाबाले ठूलो खसी किन्नुभाको छ । दशैंमा लगाउने झिनको पायट, जाकेट र जुत्ता किन्दिनुभाको छ । १३ बर्षिय रोशन विचरा केही भन्न लागेको जसरी ओठ फर्फर बनाउँछ । रोशनको आमा साहिली भाउजुले झ्यालबाट रोशनको चेहरा देखेपछि झन् आँशुका ढिक्काहरु बरल्ल बरल्ल झार्छिन् ।

साने दाइजस्तो सधै मिहेनत र दुख गर्ने गाउँले कोही छैन । नेपालमै रहनुहुन्छ । तर दशैमा बच्चाहरु र चमेली भाउजुको साना साना मागहरु पूरा गर्न नसक्दा दशैं उहाँका लागि भार बन्छ । उहाँले सोच्नुहुन्छ दशैं दशा बनेर आउँछ उहाँका लागि । दशैंमा देखासिकी गर्ने र आफ्नो हैसियतभन्दा बढी खर्च गर्ने चलन पनि छन् । भन्ने गरिन्छ : “दशैंमा ऋण नलागेर कहिले लाग्छ ?” कतिपयको धारणा हुन्छ दशैंमा मारकाट गरिनुहुँदैन । जुवातास, कृत्रिम बजार अभाव, तड़कभड़कजस्ता कुराहरुलाई सुधार गर्न जरुरी छ ।

चाडपर्वमा हुनेखानेकाहरु खानलाउनमा तडकभडक देखाइदिन्छन् । गरिबका जहानबालाहरुको पनि दशैंतिहारमा राम्रो खाने मिठो लगाउने रहर हुनु अन्यथा पक्कै होइन । गाऊंका गरिब किसानहरू दोकानमा गएर १२ माना चावल उधारो माग्दा साहुले नपत्याउँदा होलान । यसो हुंदा गरिब घरमूलीहरुको भने दशैं होइन दशा आउछ ।

परदेशीहरुलाई भने चाडबाड आउँदा अरु बढी घरको यादले सताउछ । चाडबाड नआए पनि हुन्थ्यो भनि सोच्न बाध्य हुन्छन् उनीहरु । सात समुन्द्र पारि रहेकाहरु बालबच्चा र आफ्नी प्यारीले के गर्दै होलान् भनेर चिन्ता लिन्छन् । परदेशमै रोइरहेका छन् उनीहरु, धन कमाएर फर्कने सपना पूरा नहुँदा कहिले फर्कने हो स्वदेश उनीहरु आफैलाई पत्तो छैन, यस्तै छ गन्तव्यविहिन र अनिश्चित भविष्य ……………

हाम्रो देशमा सबैको आवाज सुन्ने र सबैको चाहनाको सम्मान हुने वातावरण निर्माण होस् । देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम होस् । सुख, शान्ति र सन्तुष्टिमा जीउने वातावरण बनोस । दशैंको अवसरमा सबै नेपालीको सु-स्वास्थ्य, दीर्घायु तथा उतोरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ।

– बाग्लुङ
हाल: पोर्चुगल

2 thoughts on “प्रवासीलाई घरको सम्झना, गरिबलाई दशै होइन दशा (योगेन्द्रमिलन छन्त्याल)

  1. dai dherai nai ramro lekh lekhnu bhayeko rahe6a. padera khusi lagyo. malai tapai sanga chinjan huna man pani lagyo. tara tyo kura maile matra sochera kaha sambhab chha ra hoina? jaha samma malai lag6a dherai sathi haru sanga chinjan hunu ramro kura ho. ani arko kura tapai haru jasto dai harule next generation or, hami harulai pani marga nirdeshan garnu par6a jasto malai lag6a.

Leave a Reply

Your email address will not be published. Required fields are marked *