हिउँ जोगाऊ (श्याम रिमाल)

ए, हिउँ पग्लिँदैछ
हिमाललाई समाऊ
शिवत्व जोगाऊ
हिउँ पग्लेर हिमताल
हिमताल फैलेर विस्फोट
हिमनदी सुकेर खडेरी
हिमाल खस्किएर कालो चट्टान
ए हिमालको चुली बचाऊ
हिउँको घर जोगाऊ

हिउँको थुप्रोले त खिचेको छ मन
शान्त स्थिर र अविचल
कालो पहाडमा कहाँ हुन्छ मन जित्ने जादु

किन फुट्दैनन् जमेका चिसा मनहरु
किन पग्लनन् रुखा हिउँ छातीहरु
निर्दोष हिमालमाथि किन यो कार्बनको मुस्लो

यो साङ्गि्रला यो भूस्वर्ग
मासिनुहुन्न भासिनुहुन्न
हिमाल भासिएपछि हिममानव हराउला
स्वर्गको बगैँचा बिलाउला
हिमचितुवा भोकै पर्ला
रहस्यहरु हराएपछि हाम्रो भकारी रित्तेला
हिउँका सन्तानहरु मुग्लान भासिएलान्

ए हिउँ जोगाऊ
हिमाललाई समाऊ
शिवत्व जोगाऊ ।

– त्रिशूली बगुवा, विदुर-८
हालःकपन

Leave a Reply

Your email address will not be published. Required fields are marked *