अनि जोडले कराएँ जय लिम्बुवान् ( डा. गोविन्दराज भट्टराई)

सिलिगुडीमा उत्रेर रातभरिको रेलको निद्रा झट्कारेँ, आँखा पुछेँ, अनुहार पखालेँ र झोला टिपेर फेरि उडेँ। सुमोमा चढेर सरर… हरियो बगानैबगान हुइँकिँदा ख्याल मजा भएको होइन। म ता भसक्कै निधाइसकेको थिएँ; ‘पानीट्याङ्की’ कराएको सुनेपछि झसङ्ग भएर उठेँ।

त्यहाँबाट झिटीगुन्टा रिक्सामा खाँदेर सिमाना कटेँ। यतिखेर मन चङ्गा हुनुपर्ने, निकै दिनपछि शिलाङ् यात्राबाट घर फिर्दैछु, तर आज किन यो मन गह्रौँ छ, ठूलो जाँतो भिरेर हिँडेजस्तो! शायद अस्तिको पालि विराटनगरदेखि काँकरभिट्टा पुग्न चारदिन लागेको वेदनाले मलाई अझै झस्काएर हो कि। नत्र परदेशबाट घर फर्केको दिन यो मन आनन्दले उचालिनु पर्ने। मलाई अङ्ग्रेजी कवि सर वाल्टर स्कटको देशप्रेम (प्याट्रीओटिजम्) शीर्षक कविताको पनि सम्झना भयो―

टाढाबाट फर्केर आफ्नो

जन्मभूमीको माटोलाई चरणले छुँदा,

यी मेरी मातृभूमी, यो मेरो आफ्नै घर

भनेर आल्हादित नहुने

जिउँदैमा मरेको कुनै स्वाँठ

अझ सास फेरिरहेको कोही छ?

के त्यो स्वाँठ मैँ थिएँ? नत्र किन यतिखेर यो मन नाचेन? तैपनि अघि बढेँ। रिक्साले मेचीपुल कटायो, बिस्तारै तान्दै र ठेल्दै प्रवेशद्धारमा ल्याएर उतार्‍यो। यसो पल्याकपुलुक हेर्छु― कतै कुनै बसगाडी देख्तिन। रिक्साले बाटो ढाकेको छ, रिक्सैरिक्सा, रिक्सैरिक्सा टिनू। आँखाले भ्याएसम्म सलबल सलबल गरिरहेका रिक्सावालाहरू।

म भारतभूमीको रिक्सावालालाई पारिश्रमिक तिर्दै थिएँ, बतासझैँ उडेर एउटा नेपाली झ्याम्ले आयो र मेरो झिटीगुन्टा तान्न थाल्यो। ‘ए के गरेको?’आश्चर्य प्रकट गर्न नपाई अर्को महसूर आएर त्यसलाई एक घुस्सी बजार्‍यो। अघिल्लो मुर्छा परेर ढलेको मात्र थियो उसले मेरा झिटीगुन्टा आफ्ना रिक्सामा खाँदेर भन्यो ‘लौ चलौँ बाजे, यहाँ धेर रुक्नु हुँदैन।’

‘तिमी किन जबर्जस्ती गर्दैर्छौ? म बसमा जान्छु, म टाढा जाने मान्छे,’ म बोलेँ।

त्यतिबेलासम्ममा एक्काईसजना रिक्सावालाले मलाई घेरिसकेका थिए; अरु पनि फ्याँकिएर मतिरै उड्दै थिए। एउटाले मेरो सुटकेस थुतेर आफ्नोमा राख्यो, अर्काले झोलाहरू। अनि ऊ करायो ‘आज नेपालबन्द भएको १४ दिन भयो। तपाईलाई थाहै छैन, आन्दोलन चलेको छ। यो बाटोमा इमर्जेन्सी गाडी पनि चल्दैन। बस्नोस्, म सस्तोमा लगिहाल्छु। टाढाको कुरा छाडिदिनुस्, विलाठैनगर भएपनि पुगाइदिन्छु।’

एक बज्ने बेला छ। बिराटनगरको हवाइटिकट कसरी भ्याइएला? नत्र बास बस्न घरसम्म पुगिन्छ कि? रिक्साभाडा छिन्न खोजेँ, वरिपरिका एक्काइसैजना एकैचोटि बोले― दमकको एकहजार विराटनगरको पच्चीस सय, रेटमा एक पैसा फरक पर्दैन, पैदलै गए हुन्छ।

उनीहरूले मेरा झटिगुन्टा काइँलाकोमा राखिदिए अनि काँकरभिट्टाबाट ठिक एकबजे मेरो रिक्सा छुट्यो। खिरिरिखिरिरि… चेन घोटिएर बजेको सङ्गीत उत्पन्न हुन्छ। पश्चिमाहावा विरुद्ध चैत्रको मध्यदिनमा मेरो रिक्सावाला सुइँसुइँ पाइडल मारिरहन्छ, मारिरहन्छ। घाम चरक्क छ। हावाले खडेरीको धुलो र छारो, पात पतिङ्गर उडाएर अलेलि होइन। म आँखा छोप्छु, ऊ पाइडल मारिरहन्छ। उकालामा रिक्सा धेरै चुइँकिन्छ, ओरालामा खिरिरि उड्छ। धेरै वर निन्दाखोलाको छेउ पुगेपछि बाटो छेकेर आकासतिर सयौँ लाठा उचालिएका देखेँ। छेउमा गएपछि ती लाठाधारी पनि देखेँ। कोही कपाल चिल्लै पारेर काटेका, केही बाटेका, कोही कुण्डल धारण गरेका, कोही अलि पाका, केही युवती एकैचोटि लाठी उजाएर बोले― ए रिक्सा रोक्की। मेरो रिक्सावाल थरर्र काम्यो र घचक्कै ब्रेक हान्यो, म झन् सारो कामेँ। त्यहाँ उनीहरूले भने― ‘रिक्सामा बस्ने होइन बाजे, हाम्रो आन्दोलन छ, तल ओर्लेर हिँड्ने।’ म फुत्तै ओर्लेँ र लम्रङलम्रङ दुइचार कदम अगाडि बढेको के थिएँ, अर्को स्वयम्सेवकले मतिर लठ्ठी तेर्छ्याउँदै बोल्यो― त्यो गुन्टा रिक्सालाई बोकाउने होइन बाजे, आफैँ बोक्ने।

‘हवस्’ मैले आफ्नो गल्तीबोध गरेँ। धानका भारी उचालेको ढाड यो घाँसको भारी खेपेको निधार आज कैयौँ वर्षपछि अतीतस्मरण गर्ने मौका मिल्यो। झिटीगुन्टा जरक्क उचालेर रिक्सावालले मेरो काँधमा राखिदियो र ऊ रिक्सा घिस्याउन थाल्यो। मनिपुरे खास्टामा कसेको कुम्लो करिब ४२ केजी हुँदो हो, तर अरु थिए डेढ मनका कुम्ला बोक्नेको अघि मेरो बोझ नगन्य थियो। केही साइकलवाला थिए, मोटरसाइकलवाला, ठेला घिस्याइरहेका, अरु धेरै पैदल आआफ्ना प्याकेट झोला काँधमा र शिरमा चढाएर तीर्खाले प्याकप्याकती हुँदै हामी हिँडेको हिँड्यै गर्‍यौँ। त्यसबेला मात्र मलाई चेत पस्यो― यसरी काठमाडौँ बाहिर जिल्लातिर जाँदा सधैँ सुटकेसभित्र एउटा नाम्लो पनि लुकाउने गर्नू। तर आज भने यो कुरा मेरो निम्ति मर्ने बेलामा हरियो काँक्रो जस्तै भएको थियो। त्यसैले होला एक झ्वाँक ता मलाई लाग्यो पनि― यो घाँटीको टाई फुकालेर यसैको नाम्लो कसौँ, फेरि यसले मनको भारी थाम्ला र? मलाई सन्देह भयो। थामे पनि अर्को मन बोल्यो― यत्रो व्यस्त मार्गमा हिँडिरहेको प्रोफेसर घाँटीमा टाइ नहुँदा कति निरीह देखिएला! त्यसैले टाइ नफुकाल्ने निश्चय गरेँ। बल्ल आधाघण्टापछि निषेधित क्षेत्र कटियो र लाठीधारी स्वयम्सेवीको कृपाले हामी पुनः त्यही रिक्सामा चढ्न पायौँ।

त्यहाँदेखि खिरिरिखिरिरि रिक्सा कुदेकोकुदेकै गर्‍यो। अरु पनि थिए आवागमन गर्नेहरू। बिर्तामोड पुगेपछि सोधेँ― काइँला भाइ कसो गरौँ? उसले बोल्यो― मलाई अलिक भोक छ नत्र अरु कुनै पीर छैन सर। त्यहाँ रोकेर दुईदुई घोगा मकै सेवन गर्‍यौँ, पानी पियौँ र फेरि बाटो लाग्यौँ। आउँदाआउँदा सुरुङ्गा पुगेपछि पश्चिमा हुरी झन् बढेर आयो। मध्यान्हका घाम पोल्ने थिए। काइँलाका शिरदेखि, डाढदेखि, नाङ्गा तिघ्रादेखि पसिना चुहिन थाले। हामी ओर्लेर एकछिन पीपलको फेदमा रोकिएर बिसायौँ। हेर्दाहेर्दै काइँलो बोल्न छाड्यो, आँखा फुस्रा पारेर पिर्लिक्क भुइँमा लड्यो। होहल्ला भयो; पसलेहरूले छोपे। एकछिनमा एक गिलास कागतीपानी र उखूको रस पान गराएपछि काइँलाले आँखा हेर्‍यो र बोल्यो― अब यत्रो पच्छिमा बताससँग जुधेर रिक्सा पेल्न असमर्थ छु।

त्यहाँ उसले मागेको पारिश्रमिक दिएँ र फेरि झिटीगुन्टा काँधमा राखेर हिँड्न थालेँ। बाटाभरि छन् मानिसहरू― कोही कुप्रिपरेका, कोही ससाना, नारी–पुरुष, रोगी, तन्दुरुस्त, गोठाला, विद्यार्थी, शिक्षक सबै। हिँड्दाहिँड्दा एक घण्टापछि एउटा राँगागाडा भेटियो। बालुवा ओसार्ने त्यो गाडावालसँग कुरा मिलाएर एकएकसौको यात्रा गर्न चढ्यौँ। बिस्तारैबिस्तारै झलझले पुगेपछि गाडावाल शिवगञ्जतिर ओरालियो। हामी फेरि पैदलै चल्ने सुरमा थियौँ तर भाग्य सन्जोग एउटा दमक जाने ठेलागाडा फेला पर्‍यो। त्यहीँबाट सिमेन्टि बोक्ने गाडामा दुईजना चढ्यौँ।

घाम डुब्ने बेला छ, चैत्रको याम, सुक्खा बतासले पातहरू उडाँउदैछ। अलिकति अगाडी के पुगेका थियौँ― एउटा सिङ्गो रुख पातैसँग बाटामा सुतेको भेटियो। त्यसका छेउछाउमा ढुङ्गाका उरुङ् थिए। अघिकाभन्दा डरलाग्दा स्वयम्सेवीहरू तैनाथ थिए। बाटाको बीचमा ठूलाठूला ढुङ्गाले च्यापेर झन्डा गाडिएको थियो, अनेक सूचना र नारा थिए। डरलाग्दो वातावरणमा, अशान्त पाराले जम्मा भएका क्रुद्ध मानिस देखिए। बीच सडकमा टायरको खात थिए; ज्वालो दन्किरहेको, धुवाँले आकास कुइरीमन्डल थियो। सडक छेउमा एउटा यामाहा सुतेको थियो। एउटा बलिष्ठ पात्रले बञ्चराको पासो उचालेर त्यसमाथि प्रहार गर्न थाल्यो। हेर्दाहेर्दै यामाहा पेरुङ्गो भयो। छेउबाट उठेको टायरको धुवाँ र ज्वालाले सखुवाको टुप्पो छुन लागेको थियो। अलिपर्तिर एउटा अजङ्गको तीनपोरे सिमल सुसाइरहेको थियो। त्यसको टुप्पामा केही बकुल्ला र गिद्ध बसेका थिए। फेदमा हेरेँ― पोरापोरामा लुकेर तीनजना पुलिस मिलिकमिलिक भीडतिर चियाउँथे। भीड नारा लाइरहेको थियो। त्यसबेला ठेलावालाले भन्यो ‘नारा लाउनोस् सर, जोडले नारा लाउनोस्।’ अकस्मात् मभित्र पनि एक स्वस्फूर्त चेतना जागृत भयो र एक हात उचालेर उच्च स्वरमा बोलेँ ‘आदाङ्बे छिमेकीहरू।’ यताउति हेरेँ, मेरो आवाजको कुनै प्रत्युत्तर आएन। अनि अलिक जोडले बोलेँ। ‘जय सङ्घीय गणतन्त्र नेपाल!’ अझै मैले उनीहरूको ध्यान तान्न सकिनँ। अनि भित्रैदेखि शक्ति निकाली मरेर कराएँ― ‘जय लिम्बुवान्’। मेरो गर्जन धेरै माथि सिमलको टुप्पालाई नाघेर चुलाचुलीसम्म पुग्यो होला जस्तो लाग्यो। म अलिक ढुक्क भएको मात्र थिएँ मतिर लठ्ठी तेर्छ्याउँदै एक स्वयम्सेवक बोल्यो― ‘त्यसरी गाडीमाथि बसेर कराउने होइन बाजे, ओर्लेर हिड्ने।’ यसपालि म पनि थर्र कामेँ, बुरुक्कै तल उफ्रेँ र झिटीगुन्टा काँधमा चढाएँ र साँझ पर्नेबेलामा केर्खा ताकेर उडेँ। यतिखेर मलाई यो भारी फूलको हल्का डाली बोकेझैँ लाग्यो।

केर्खा पुग्नु धेरै थियो तर यो उजाड मौसमको सन्ध्या धेरै टाढा सगर डढेर ओर्लियो। कति रुखहरू मुस्किलले पाउलिएका थिए, अरु बाँकीहरू लामो अनावृष्टिले पाउलिन नसकी सिक्रिएकै थिए। कमलखोलामा हेरेँ― एकथोपो पानी थिएन। आजको जस्तो थकाइ, निद्रा, भोक र त्रासले मलाई कहिल्यै छोपेको थिएन। बेलाबेला बेगवान् गतिमा एम्बुलेन्सहरू बत्तिन्थे। माथि जङ्गल चरेर घर फर्केका गाईबस्तु, बाख्रा पाठा र गोठालाहरू, बाटै ढाकेर गाउँ झर्दै थिए। थकित यात्री बाटामा अझै दोहोरीलत्ता थिए।

हिँड्दाहिँड्दा झमक्क साँझले छोपेपछि केर्खा बजार पुगियो। आज यहीँ कतै बास बस्नु पर्‍यो भन्नेमा थिएँ। फलैँचामा गुन्टासँगै बिसाइरहेको अवस्थामा एउटा आवाज सुनेँ― होइन भिनाजु जस्तो देख्छु, यो भाले साँझमा कहाँदेखि?

ए, गोपीनाथ! म शिलाङबाट फर्केको, आज बिहान काँकरभिट्टादेखि। सक्छौ मलाई दमक पुर्‍याउ, नत्र यहीँ बास बसाऊ।’

त्यसपछि गोपीनाथले एउटा झोला साइकलमा सिउरियो, अरु बाँकि काँधमा कस्यो र मलाई भन्यो ‘चलौँ भिनाजू’। म गोपीनाथको हिरो मार्का साइकलको पछिल्तिर बसेँ। बिस्तारैबिस्तारै साइकल पेल्दै सीतापुरी, गेउरिया, पाडाजुँगी कट्तै दमक पुगेर आमाको चरण छुँदा रातको नौ बजेको थियो।

मलाई त्यतिबेला कुनै थकाइको अनुभव भएन; एकै दिनमा ६० किलोमिटर यात्रा पूरा गर्न सफल भएकोमा मनमनै प्रशन्न भएँ तर एउटा चिन्ताले छोप्यो― आजको हवाइटिकट ता समाप्त भयो, अब कहिले कसरी विराटनगर विमानघाट टेक्ने होला, कसरी काठमाडौँ अवतरण गर्ने होला। हिजो सपना पनि किन कालो मोसो देखेँ होला। म चिन्तामै पल्टिएँ।

Note: प्रा.डा. भट्टर्राई साहित्य महासंघको सल्लाहकार हुनुहुन्छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *