१०औं वार्षिकोत्सव तथा २०७ औँ भानु जयन्ती

(२९ असार २०७७ तदनुसार १३ जुलाई २०२०)
विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले आफ्नो १०औं वार्षिकोत्सव तथा २०७औँ भानु जयन्ती अनलाइन जूम मार्फत एक भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । नेपाली भाषा साहित्यका विशिष्ट विद्धान प्राध्यापक डा. गोविन्दराज भट्टराईज्यूको प्रमुख आतिथ्य तथा भारतीय नेपाली साहित्यका बरिष्ठ कवि डा. राजेन्द्र भण्डारीज्यूको विशेष आतिथ्यमा कार्यक्रम भव्यताकासाथ सम्पन्न भयो ।

डा. राजेन्द्र भण्डारीज्यूको केही शव्द र कविता वाचनसँगै आजको साहित्यिक कार्यक्रमको पर्दा उघारिएको थियो ।

कार्यक्रम भानु विशेष भएकोले संस्थाको तर्फबाट भानु सम्बन्धी महत्वपूर्ण जानकरीसहित सँस्थाका सल्लाहकार कृष्णप्रकाश श्रेष्ठज्यूले मन्तव्य राख्नु भयो । बिगत पाँंच दशकदेखि मस्को रसियामा रहेर नेपाली भाषा साहित्यको सेवा गरिरहनु भएका श्रेष्ठज्यूले नेपाली साहित्यमा भानुभक्तको योगदान र मुल्याङ्कनको सन्दर्भमा आफ्नो अमुल्य मत राख्नु भयो । वहाँले नेपाली साहित्यलाई धेरै भन्दा धेरै अनुवाद गर्नुपर्ने आबस्यकता औंल्याउँदै वहाँहरुले रसियामा नेपाली साहित्यको उन्नतिकानिम्ति केही राम्रा कार्यहरु गरीरहेको पनि जानकरी गराउनु भयो । त्यसैगरी संस्थाका बरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेज्यूले पनि भानु सम्बन्धी निक्कै महत्वपूर्ण तथ्यहरु अनुसन्धान गरेर पस्कनु भएको थियो । डा. काफ्ले लामो समयदेखि ताइवानमा शिक्षण पेसामा संलग्न हुनुहुन्छ । संस्थाका पूर्वाध्यक्ष बिश्वासदीप तिगेलाज्यूले पनि बिनेसाम र भानुभक्त आचार्य बारे मिठो मन्तव्य राख्नु भयो । धरान नेपालबाट प्राध्यापक डा. भिम खतिवडाज्यूले आदिकवि भानुभक्त आचार्य सम्बन्धी निक्कै नै महत्वपूर्ण कुराहरु प्रस्तुत गर्नु भयो । भानुको देन, तत्कालिन समयको समाजिक संरचना अनि अहिले भैरहेका टिकाटिप्पणीहरु बारे राम्रो मन्तव्य राख्नु भयो । प्रमुख अतिथिको आसनबाट प्रा डा गोविन्दराज भट्टराईज्यूले भानुभक्तमाथि प्रकाश पार्दै कार्यक्रममा वाचित सिर्जनाहरुको बारेमा पनि आफ्नो संक्षिप्त धारणा राख्नु भयो ।

यसरी भर्चुअल्ली भएको भानु जयन्ती कार्यक्रममा विभिन्न देशबाट थुप्रै पदाधिकारीज्यूहरु, आजीवन सदस्यज्यहरुलगायत धेरै साहित्यिक मनहरुको उपस्थिति रहेको थियो ।
रचना वाचन गर्नुहुने पदाधिकारी ज्यूहरुमा ः
डा. नाज सिंह ( कविता (भारत) ,
हिक्मत थापा ( कविता (अफ्रिकारनाइजेरिया)
खगेन्द्र अधिकारी अमृत ( गजल (सुर्खेतरनेपाल
मुना सिग्देल ( गजल (नेपाल)
अमित चाम्लिङ्ग ( कविता (कुवेत )
डा. मनमूर्ति भुर्तेल ( कविता (रसिया)
गोविन्द गौतम ( कविता (रसिया)
कल्पना पौडेल ’जिज्ञासु’ ( गजल (काठमाडौंरनेपाल)
भुवन रोका ( कविता (जापान)
तिर्थ संगम राई ( कविता (कतार)
विजय हितान ( इको कविता (बेलायत)
टेक थापा ( कविता (बेलायत)

कार्यक्रममा भर्चुअल्ली उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरुलाई महासङ्घ विश्व केन्द्रीय समितिकी उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरेले इजरायलबाट स्वागत मन्तव्य राख्नु भएको थियो । महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई महासंघकी विश्व केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वाले इजरायलबाट संचालन गर्नु भएको थियो ।

त्यसैगरी विश्व नेपाली साहित्य महासंघका विभिन्न देशमा रहेका राष्ट्रिय शाखाहरूले पनि भानु जयन्ती मनाएका छन् ।
विनेसाम नेपाल शाखाले विभिन्न सिर्जनाहरु वाचन गर्दै भानु जयन्ती मनाएको छ । त्यसैगरी विश्व नेपाली साहित्य महासङ्घ कुवेत शाखा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले संयुक्त रुपमा एउटा भव्य भर्चुअल कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाएको छ । इजरायल शाखाले भोली १४ तारिक, जापान शाखाले १९ तारिक, रसिया शाखाले २० तारिक र (म्यान्मा) वर्मा शाखाले चाँडै मनाउने तयारी चलिरहेको जानकारी गराउनु भएको छ ।