रुसी भाषामा अनूदित उत्कृष्ट नेपाली कविताहरुको संग्रह कविता कुञ्ज विमोचित


काठमाडौँ, गत १३ अक्टोबर २०१७ का दिन रुसी भाषामा अनूदित विश्व नेपाली साहित्य महासंघद्वारा प्रकाशित समकालीन नेपाली कविताहरूको संग्रह नेपाली कविता कुञ्ज नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले रुसी सांस्कृतिक केन्द्रमा आयोजित एक कार्यक्रममा विमोचन गरेका छन् ।

रुसी सहित्यकार स्यामुइल मार्शाकको १३० औँ जन्म जयन्ती सन्दर्भ पारेर नेपाल रुस साहित्य समाजको आयोजना, रुसी सांस्कृतिक केन्द्र र साहित्य महासङ्घको सहआयोजनामा उक्त कार्यक्रमको आयोजना भएको हो । एक काव्यिक साँझका रूपमा मनाएको उक्त कार्यक्रममा विविध कविहरूले कविता वाचन गर्नाका साथै केही गीत पनि प्रस्तुत गरिएको थियो । अनुवाद मार्फत् नेपाली कवितालाई अन्तर्राष्ट्रिय स्तरमा पुरयाउन र संसारमा भएका नवीन चिजहरूको बारेमा हामीले थाहा पाउन अनुवादको मुख्य भूमिका रहने भएकाले यस कार्यक्रको सराहना गर्दै प्रमुख अतिथि उप्रेतीले भने, ‘समकालीन नेपाली कविता रुसी भाषामा अनुवाद भएर आउनु एउटा सुखद संयोग हो ।’
कार्यक्रममा रुसी सांस्कृतिक केन्द्रका उपनिर्देशक एन्तन मस्लोभले स्यामुइल मार्शाक रुसी बालसाहित्यका एक धुरन्धर स्रस्टा हुन् भन्दै उनले अङ्ग्रेजी भाषाका साहित्यलाई रुसी भाषामा लग्न र रुसी साहित्यलाई अन्तर्रािष्ट्रय स्तरमा पुरयाउन पनि उल्लेख्य काम गरेको भन्दै मार्शाकका केही कविता वाचन गरेर सुनाए ।

विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वास दीप तिगलाले महासंघले नेपाली सहित्यलाई संसारका विविध भाषामा अनुवाद गर्ने योजना रहे पनि प्राविधिक कठिनाइ भोग्दा भोग्दै पनि यसको आरम्भ रुसी भाषाबाट गरेको बताए । नेपाल रुस साहित्य समाजका अध्यक्ष, डा. जङ्गब चौहानले आफू रुस भ्रमणमा रहेको समयमा यस प्रकृतिको पुस्तक तयार हुँदै गरेको जानकारी पाएको र त्यसको विमोचन नेपाल रुस साहित्य समाजले गर्ने योजना बनाए अनुरूप प्रस्तुत पुस्तक विमोचन भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा चर्चित कवि विक्रम सुब्बा, मोमिला जोशी, विष्णुबहादुर सिंह आदिले कविता सुनाएका थिए भने गायक जुजुकाजी रन्जित र कुलबाहदुर थापाले गीत प्रस्तुत गरेका थिए नेपाल रुस साहित्य समाजका महासचिव चन्द्रकान्ता आचार्यले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सञ्चालन डा. अशोक थापाले गरेका थिए ।

– साझापोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *