दसैँ (बासु ढकाल)

दसैँ…………………
प्रत्येक बर्षको दसैँ
थुप्रै टाउकाहरु छिनेर बिते
र पुनः
रावणका झैँ पलाएनन्
बोका खसीको झैँ भो
मान्छेको नियति
आफै संग पराजित छ कठै मान्छे
र पनि के को बिजयोत्सर्ग मनाउँदैछ कुन्नि ?
ऊ आफैलाई थाह छैन
एउटा गतिलो दसैंको चाहना नमेटिदै
थुप्रै मानवीय टाउकाहरु बलि चढे
थुप्रै सिऊँदोहरु उजाडिए
तर सिंगो देशमा कहिल्यै दसैँ आएन
एक टुक्रा चिची र एक धर्को नानामै
अझै गाउँ बेसी दसैँ खोज्दैछ
र यतिखेर
पश्चिमा जिन्दगी बाँचेर
पूर्वीय संस्कृति जोगाउने धुनमा
आडम्बरी दसैँ मनाउदैछौ हामी
र सधै ..
बराजुका थाप्लामा बाजेले गीर खेल्दै दसैँ मनाए
बाजेको थाप्लामा बाले
र म आफ्ना बाका थाप्लामा गीर खेलेर नपुग्ने अनुमानमा
रातदिन मरिमेट्दै छु
बस्
मेरी आमा
खै कस कसलाई
के पो आशिर्बाद देलिन्
एकै घरको छानामा
चार थरि झण्डा गाडिएका बेला
मनमनै भन्दिहुन्
बजियाहरु सप्पै सिंहदरवार पसेनी हुन्थ्यो नि बरु
साच्चै
एक्लै बूढाको जिउनी सम्हाल्थे
उतै नारा लाए नि लाउन
टायर बालेनी बालून्
मन्त्रि बनेनी बनून्
मलाई त शान्ति हुन्थ्यो नि
यत्रा बर्षमा जाबो संबिधान त नबनाउने मोराहरुले
खै के पल्लान र आश गर्नु व्यर्थै
भुत्ते हसिया उदयाउँदै
गनगन गर्दै थिन्
सनै: सनै:
उनको खुम्चिएको निधारको रेखामा
क्रमश:मैले आफन्तबाटै अतिक्रमित
शिमारेखाहरु भेटें
र मलाई
सिंगो धर्ती याद आयो !!
र कहिल्यै नहारेको दसैँ याद आयो !!

– (क्यालिफोर्निया )

Leave a Reply

Your email address will not be published. Required fields are marked *