लक डाउनमा बत्ती निभाई अध्यारोमा जुर्मुराए स्रष्टाहरू


केन्ट (बेलायत) । कोभिड–१९ कोरोना भाइरसको महामारीले विश्वका सवा दुई अर्ब बढी मानिसहरू अहिले लक डाउनमा छन् । यूके पनि छ मार्च २३ यता तीन हप्ते लक डाउनमा छ । यसबीच सबैको सामान्य जीवनचर्या प्रभावित मात्रै भएको छैन । कतिपय मानसिक रूपले विक्षिप्त पनि बनेका छन् । नागरिकहरूमा सकारात्मक उर्जाको सञ्चार गराउन भने बेलायतवासी नेपाली साहित्यकारहरूले लक डाउन समयलाई उपयोग गरेका छन् ।

गत २८ मार्च शनिबार साँझ अर्थ आवर तथा चौथो स्थापना दिवसको अवसर पारेर विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूके शाखाले सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको थियो । भिडियो कन्फेरेन्समार्फत् बेल्पाली सर्जकहरू ‘लक डाउनमा स्रष्टा र सिर्जना’ नामक कार्यक्रममा सहभागी भए । कन्फेरेन्स कार्यक्रम साँझ ८ः३० बजे सुरु भएर दुई घण्टा चलेको थियो । अर्थ आवर विश्व वन्यजन्तु कल्याण कोषको पहलमा सन् २००७ देखि अष्ट्रेलियाबाट सुरु भएको वातावरण संरक्षणकर्मीहरूको विश्वव्यापी कार्यक्रम हो । यो दिवस प्रत्येक वर्षको मार्च महिनाको अन्तिम शनिबारमा पर्दछ । यस दिन करिब १८० देशका नागरिकहरूले घर र आफू कार्यरत ठाउँहरूको बत्ती निभाएर साङ्केतिक रूपमा बढ्दो कार्बन उर्जाको प्रयोगलाई निरुत्साहित गर्ने सन्देश प्रवाह गर्छन् ।

कोरोना महामारीको लकडाउनले स्व–विच्छेद अवस्थामै आ–आफ्नो निवासबाट सहभागी जनाएका कविहरूले पनि उसैगरी दुई घण्टा खपत भइरहेको बत्ती निभाएर इको सिर्जना वाचन गरेको विनेसाम, साउथ यूकेका पूर्व अध्यक्ष विजय हितानले जनाए । उनले अहिले देखा परिरहेको जैविक असन्तुलन र समस्याका बीच पृथ्वी बचाउने अभियान झन् सान्दर्भिक भएको बताए । वातावरणविद् समेत रहेका हितानले सन् २०१४ देखि विनेसामले अर्थ आवर मनाउन थालेको चर्चा गरे । साहित्यकार सुरेन्द्र इङ्नामले बाँसुरीको धुनबाट कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यसलगत्तै, शाखा पूर्वउपाध्यक्ष औँतारी साइँलाले ‘बत्ती निभाएको दिन’ शीर्षकको कविता वाचन गरे । उनीपश्चात् विनेसामका संस्थापक एवम् कवि विश्वासदीप तिगेलाले कोरोना सङ्क्रमणका कारण इटालीमा एक आमा र उनकी शिशुले खप्नुपरेको मानसिक तनावलाई प्रस्तुत गरे । विनेसाम वेस्ट यूके शाखाको प्रतिनिधित्व गर्दै स्वीन्डनका सर्जक भरत लोहोरुङ राईले दुईवटा चोटिला मुक्तक सुनाए । मुक्तककै श्रङ्खलालाई निरन्तरता दिँदै गीतकार सेमन्त राईले पनि वातावरणसँग सम्बन्धित दुईवटा मुक्तक जोडे । आफ्नो सर्जक श्रीमानको वाचनपछि हौसिएकी स्रष्टा रीता राईले समेत जोडी मुक्तक वाचन गरिन् ।

प्रत्येक सिर्जना वाचनलगत्तै हुने संक्षिप्त समीक्षात्मक प्रतिक्रियाले कार्यक्रमको शैली भिन्न देखिन्थ्यो । आगामी वर्ष कृति ल्याउने तयारी गर्दै गरेका युवा कवि लाहाङ चेम्जोङले ‘प्रश्न’ कविता सुनाएर मानिसले पर्यावरणमा पारेको असरप्रति कटाक्ष गरे । यसैगरी, भोजकुमारी थोक्लेन तिगेलाले समेत विनायो बजाएर उपस्थित सहभागीहरूलाई मन्त्रमुग्ध पारिन् । बेलायतमा दुई दशकयता इको साहित्यको वकालत गरिरहेका विजय हितानले भइरहेको वातावरण विनाशप्रति चिन्ता प्रकट गर्दै गजल वाचन गरे । हितानपछि कार्यक्रम संयोजक एवम् कवि अमित थेवेले नेपाली र अङ्ग्रेजीमा दुईवटा कविताहरू सुनाए ।

mde

यसैगरी, उक्त कार्यक्रममा कवि औतारी साइँला र फिप्रा काइँलाद्वयको संयुक्त कृति ‘हाम्रो अतीत हाम्रो मन कविता र गीतमा पोखिएका छन्’ को पनि कन्फेरेन्समर्फत लोकार्पण गरियो । ७७ कविता र गीतहरू रहेको सङ्ग्रहबारे कवि थेवेले सङ्क्षेपमा समीक्षा गरे । कृतिलाई स्रष्टा औतारी र समीक्षक थेवे संयुक्त रूपमा विमोचन गरेका थिए । विमोचन लगतै कसरी तयार भयो भन्ने बारेमा स्रष्टा स्वयंले मन्तब्य राख्नुभयो भने कवि थेवेले समिक्षा गर्नुभयो ।

विश्व नेपाली साहित्य महासङ्घले आगामी जून ५ तारिखका दिन विश्व वातावरण दिवसको अवसर पारेर विश्व साहित्य सम्मेलन आयोजना गर्ने कार्यक्रम तय गरेको थियो । यद्यपि, कोरोनाको प्रकोपका कारण सम्मेलनलाई अनिश्चितकालका लागि स्थगन गरिएको सम्मेलन संयोजक हितानले बताए ।