प्रवासमा जानेसित (ऋषि बस्ताकोटी)

कहिले आउंछौ नसोध्नु भो, प्रवासमा जानेसित,

सके बरु माग्नु हिसाव देशै लुटी खानेसित,
कहिले आउंछौ नसोध्नु भो, प्रवासमा जानेसित .

वेथितिको बाङ्गो यात्रा हिंड्दाहिंड्दै थाकेपछि,
च्यापिएर, भत्किएर भित्र-भित्रै पाकेपछि,
माटो छोडी हिंडे पनि माया बोकी गा’को रैुछ,
छामी हेरें मुटुभित्र गहिरै चोट ला’को रैुछ .

निष्ठुरी यो नठान्नु भो, मनमा माया लानेसित,
सके बरु माग्नु हिसाव देशै लुटी खानेसित,
कहिले आउंछौ नसोध्नु भो, प्रवासमा जानेसित .

बनाउन नसके नि भत्काउन हुन्न भन्दै,
हसाउन नसके नि रुवाउन हुन्न भन्दै,
भूगोल हैन भावनामा देश बोकी गाको रैुछ ,
जोखी हेरें देशको माया कति धेरै ला’को रैुछ .

दुख हैन गौरव मान्नु, देशको भलो ठान्नेसित,
सके बरु माग्नु हिसाव देशै लुटी खानेसित
कहिले आउंछौ नसोध्नु भो, प्रवासमा जानेसित .

– क्यालगरी, क्यानाडा

One thought on “प्रवासमा जानेसित (ऋषि बस्ताकोटी)

  1. मन छोयो, धन्यवाद गजलकार ज्यु । यो त कता कता मेरो मनमा कपीराइट् भैसक्या थ्यो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *