विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ को परिणाम आज घोषणा हुने

विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको आयोजना र विभिन्न साहित्यिक संस्था तथा महासङ्घ शाखाहरुको सह–आयोजनामा विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ अन्तिम चरणमा पुगेको छ ।

विश्वका विभिन्न १९ मुलुक र नेपालको २७ जिल्लाबाट १ सय ८२ सहभागि कविताहरु मध्ये १ सय ७३ वटा प्रतियोगि रहेका छन् साथै यस बर्ष विभिन्न ८ मातृभाषाका कविताहरुको पनि सहभागिता रहेको छ ।

कविताहरुको मूल्याकनकर्ताहरुमा प्राज्ञ कवि श्रवण मुकारुङ, प्राज्ञ डा. वेन्जु शर्मा र अमेरिकामा रहनु भएका कवि हेमन्त श्रेष्ठ रहनु भएको छ भने वेलायत, युएई, साउदी अरेबिया र अफगानिस्तानबाट पर्यवेक्षक मूल्याङ्कनकर्ताहरु रहनु भएको छ ।

कविता प्रतियोगिताको परिणाम महासङ्घ स्थापनाको अवसर अर्थात भानु जयन्ति आज असार २९ गते प्रकाशित गरिने भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः नगद रु २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछ साथै १० औ स्थान सम्म प्राप्त गर्नेलाई प्रमाण–पत्र प्रदान गरिने छ । राई बान्तावा र लिम्बु भाषाको कविताहरु प्रतियोगिताको लागि तोकिएको संख्यामा प्राप्त भएकोले मूल्याङ्कन गरि प्रथमलाई नगद रु १ हजार र प्रमाण–पत्र प्रदान गरिने छ ।

कार्यक्रमको सह–आयोजक एवं प्रायोजकको रुपमा प्रवासी नेपाली साहित्य समाज वेलायत/ब्रुनाई, विनेसाम रसिया शाखा, साउदी अरेविया शाखा, नवोदित साहित्यिक मोबाइल पुस्तकालय कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युएई, रहेका छन् भने कार्यक्रमको कुल खर्च रु १ लाख रुपैयाको अनुमान गरिएको छ ।

यस प्रतियोगिताको लागि प्रमुख अतिथि प्राज्ञ कुलपति वैरागी काँईला, अतिथिहरु प्राज्ञ डा. गोविन्दराज भट्टराई, एनआरएन केन्द्रिय अध्यक्ष देवमान हिराचन (जापान), मुरारीराज शर्मा (वेलायत), डा. कविताराम श्रेष्ठ, कृष्णप्रकाश श्रेष्ठ (रसिया) रहनु भएको छ ।

नेपाली साहित्यको इतिहासमा ब्यापक रुपबाट र नयाँ प्रविधिबाट अडियो कविता प्रतियोगिता गरिएको सम्भवत यो पहिलो पटक हो । उच्च प्राविधिक प्रयोगबाट आयोजना गरिएको यस प्रतियोगिताको लागि ब्रुनाईबाट काम भइरहेको छ । प्रतियोगिताको परिणाम घोषणा पछि केही हप्ताभित्रै काठमाडौमा एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने जानकारी महासङ्घको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्नुहुने पदाधिकारीहरु लगायत सबैलाई, विशेषतः मिडिया सहयोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै विजयी बन्नुहुने तथा सहभागि सबैलाई बधाई ज्ञापन गर्दछौ भनिएको छ । सम्पूर्ण कविताहरुलाई साहित्य महासंघको वेवसाइट डब्लुडब्लुडब्लु डट जिएफएनएल ड्ट अर्ग www.gfnl.org मा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *