विनेसाम मिडल्याण्ड युकेद्वारा २१२औँ भानुजयन्ती भव्यरुपमा सम्पन्न

मिति २०८२ असार २९ तदनुसार १३ जुलाई २०२५ का दिन ,विश्व नेपाली साहित्य महासङ्घ मिडल्याण्ड शाखा बेलायतको आयोजनामा २१२औँ भानुजयन्ती बेलायतको कोभेंट्री शहरमा भव्यताकासाथ सम्पन्न भएको छ। उक्त कार्यक्रम साहित्यकार एवं महासङ्घ आदरणीय भरतकुमार श्रेष्ठ ‘बिवश’ज्यूको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाली बेलायत भ्रमणमा रहनुभएका सुप्रसिद्ध साहित्यकार राजेन्द्रकुमार संग्रौला ’ प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो भने कार्यक्रमको संचालन महासङ्घका उप–सचिव तथा साहित्य अनुरागी श्री ललित परियारले गर्नुभएको थियो। शुभकामना मन्तव्य महासङ्घकी सदस्य श्रीमती कला पोखरेलले राख्नुभएको थियो।

महासङ्घका सचिव डा. प्रदीप लामिछाने ज्युले आदिकवि भानुभक्त आचार्यको जीवन, कृतिहरूले नेपाली भाषामा पार्नुभएको प्रभाव र उहाँको सामाजिक योगदानबारे गहन विश्लेषण प्रस्तुत गर्नुभएको थियो। त्यस्तै कोभेन्ट्री नेपाली समाजका संस्थापक अध्यक्ष श्री सन्तोष पौडेल, संस्कृत अध्येता श्री विष्णुप्रसाद सापकोटा, तथा शिक्षिका श्रीमती ज्ञानु दाखलले पनि भानुजयन्तीको ऐतिहासिक, भाषिक र सांस्कृतिक महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा साहित्यकार डॉ. टिकाराम भण्डारीज्यूले आफ्ना गजलहरू वाचन गर्नुका साथै विशिष्ट साहित्यिक भावनाका साथ उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध पार्नुभएको थियो। यसै क्रममा, महासङ्घका केन्द्रीय उपाध्यक्ष साहित्यकार विजय हितानज्यूले आफ्नै समीक्षात्मक शैलीमा “मलाइ आर्यघाट लिएर नजाला” शीर्षक कविता सङ्ग्रहको गहिरो समीक्षा प्रस्तुत गर्नुभएको थियो।

साहित्यिक प्रस्तुतीमा अलिना सङ्ग्रौला र सीता पौडेलज्यूले रमणीय छन्दमा केही स्लोकहरूको वाचन गर्नु भएको थियो भने किरण बेलबासे, मनोज आचार्य र महासङ्घकी कोषाध्यक्ष श्रीमती कल्पना दाहालले कविता वाचन गर्दै कार्यक्रमलाई थप साहित्यिक र भावनात्मक बनाउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि राजेन्द्रकुमार सङ्ग्रौलाज्युले विश्व नेपाली साहित्य महासङ्घ र कोभेन्ट्री सेंट्रल लाइब्रेरीका लागि आफूले लेखेका पुस्तकहरूसहित अन्य लेखकहरूले तयार पारेका कुल ९ वटा पुस्तकहरू हस्तान्तरण गर्नुभयो । यस कार्यको उपस्थित सम्पूर्ण साहित्यिक समुदायले खुलेर प्रशंसा गरेका थिए र सङ्ग्रौलाज्यूलाई तालिवद्ध स्वागत गरिएको थियो।

अन्त्यमा, मिडल्याण्ड बेलायतमा विश्व नेपाली साहित्य महासङ्घको सन्दर्भिकता, प्रवासमा नेपाली भाषाको महत्व र भानुजयन्तीको सांस्कृतिक गाम्भीर्यमाथि प्रकाश पार्दै अध्यक्ष भरतकुमार श्रेष्ठ बिवश’ले उपस्थित सम्पूर्ण साहित्य अनुरागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै औपचारिक रूपमा कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *