विनेसाम म्यान्मा–थाई समन्वय शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा ओमप्रकाश न्यौपाने र महासचिवमा दीपा राणा

याङ्गौँ, म्यान्मा।

विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) म्यान्मा–थाई समन्वय शाखाको सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति गठन भएको छ। सन् २०२६ अक्टोबर ३१ शनिबार थाई समयअनुसार साँझ ७ बजे जुम भर्चुअल माध्यमबाट सम्पन्न नवनिर्वाचन सभाले अध्यक्षमा श्री ओमप्रकाश न्यौपाने र महासचिवमा दीपा राणालाई सर्वसम्मतरुपमा चयन गरेको हो।

सभा विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय समितिका अध्यक्ष प्रा. डा. लेखनाथ काफ्ले, अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक सङ्घका अध्यक्ष श्री सागर घिमिरे तथा थाई नेपाली सङ्घका संरक्षक श्री डेबिट खनालको सभाध्यक्षता बसेको थियो।

कार्यक्रमको पहिलो चरणमा अध्यक्ष श्री अशोक घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसैगरी, श्री सागर घिमिरे, श्री देवेन्द्र रिजाल, श्री डेबिट खनाल, संस्कृत स्नातक सङ्घका महासचिव श्री मोहन भट्टराई तथा केन्द्रीय पार्षद् सरगम ‘तैंतैं’ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा विनेसामले निर्वाह गर्दै आएको भूमिकाको चर्चा गर्दै नवगठित कार्यसमितिले आगामी दिनमा साहित्यिक गतिविधि विस्तार, स्रष्टाहरूबीच सहकार्य अभिवृद्धि तथा नेपाली भाषा–साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। श्री डेबिट खनालले भावी योजनाका सम्बन्धमा आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो।

विभिन्न साहित्यसेवी, साहित्यप्रेमी तथा उपस्थित महानुभावहरूको सहभागितामा सम्पन्न सभाले नयाँ नेतृत्व चयनसँगै संस्थाको आगामी कार्यकालका लागि नयाँ उत्साह र सम्भावनाको ढोका खोलेको छ।

सभाको अन्त्यमा प्रमुख निर्वाचन आयुक्त श्री मोहनराज खनालले उपस्थित सम्पूर्ण अतिथि, स्रष्टा, साहित्यप्रेमी तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै सभा विसर्जन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *