मस्कोमा वरिष्ठ साहित्यकार स्व. कृष्ण प्र श्रेष्ठको अन्तिम विदाई कार्यक्रम सम्पन्न

मस्को/रसिया- अप्रिल ५,

डा मनमुर्ति भुर्तेल :- मस्कोमा वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठको स्वर्गारोहण भएको पाचौं दिनमा वहाँको पार्थिव शरीरलाई अन्तिम बिदाई गर्न मस्कोको दक्षिण पश्चिममा रहेको खाभान्सकी शवदाहन केन्द्रमा वहाँका दुई छोरी र पारिवारिक मित्र सहित विश्व नेपाली साहित्य महासंघ रुस शाखा र गैर आवासिय नेपाली संघ रुसका पदाधिकारीहरु जम्मा भएका थिए I

बाकसमा राखिएको वहाँको पार्थिव शरीरमा दुई छोरीहरु झान्ना र मारिनाले फूल-गुच्छा राखी, दियो बाली अन्तिम हृदयविदारक भावपूर्ण सम्बोधन गरेका थिए I त्यसै गरि विश्व नेपाली साहित्य महासंघ रुस शाखा र गैर आवासिय नेपाली संघ रुसका प्रतिनिधिहरुले पनि भावपूर्ण सम्बोधनमा कृष्ण प्रकाश दाजुको आत्माको चिर शान्तिको कामना गर्दै स्वर्गमा बास होस् भन्दै अन्तिम बिदाइ गरेका थिए I त्यस पछि सबैको उपस्थितिमा वहांको पार्थिव शरीर भएको बाकस लिकमा राखी दाहन कक्षामा पठाइए पछि सबै आ-आफ्ना आँशु पुछ्दै फर्किएका थिए I

त्यसै दिन साझ नेपाली दुतावाससमा आयोजना गरिएको शोक सभा विश्व नेपाली साहित्य महासङ्घका केन्द्रिय सचिव डा. मन मुर्ति भुर्तेलले शोकमा भावविभोर हुँदै संचालन गर्नु भएको थियो I शुरुमा रुसबासी नेपालीहरुका मित्र तिब्बती लामा डिग खाम्बो दाशिनिमाले स्वर्गीय कृष्ण प्रकाश दाजुको आत्माको चिर शान्तिको लागि बुद्ध मन्त्र उच्चारण गरेका थिए I त्यसपछि रुसका लागि नेपालका कार्यबाहक राजदुत खिमानन्द भुसालले नेपाली भाषा साहित्य र संस्कृतिको विकास र प्रबर्धनमा दिवंगत स्वा: कृष्ण प्रकाश श्रेष्ठको योगदानहरु उल्लेख गर्दै शोक मन्तब्य व्यक्त गर्नुभएको थियो I

संचालक डा. भुर्तेलले कार्यवाहक राजदुतको शोक मन्तव्य लाई रुसी भाषामा अनुवाद गरेपछि, स्व. कृष्णप्रकाश श्रेष्ठका छोरीहरुले र उपस्थित रुसी मित्रहरुले बुझुन भन्ने अभिप्रायले मुख्यतया रुसी भाषामै कार्यक्रम संचालन गर्नु भएको थियो I वक्ताहरु क्रमश: रुसी अन्तरिक्ष यात्री (एवंम् दुईपटक «सोवियत सङ्घको हिरो» नामक उच्च पदक द्वारा सम्मानित ) भ्लादिमिर अलेक्सान्द्रभिच झान्निबेकोव, पिपल्स फ्रेन्डशिप विश्व विद्यालय मस्कोका भालेरी अलेक्सेइभिच बेलोभ, गैर आबासीय नेपाली सङ्घका केन्द्रीय उपाध्यछ्य डा. बद्रि के सी , मस्को लेखक संघबाट प्रसिद्ध कवियत्री तात्याना चेग्लोभा, रुस नेपाल मैत्री संघका अध्यछ्य मिखाइल सेर्गेइभिच निक्रासोभ, गैर आबासीय नेपाली संघ रुसका अध्यछ्य शिव मणि भुर्तेल, रुसी बैंकर एबं नेपाल प्रेमी एभ्गेनी फ्योदोरोभिच कोजारेजोव, भारतबर्ष अनुसन्धान केन्द्र एवंम् प्राच्य विज्ञान संस्थानबाट एभ्गेनिया भागिना, मस्कोबासी नेपाली समुदाय को तर्फ बाट डा. ऋषि कान्त मण्डल, रुस नेपाल मैत्री सङ्घबाट नेल्ली पान्तेलेइभ्ना स्तेपानोभा, तात्याना उबुशाएभा के सी र अलेक्सान्दर व्सेभोलोदोभिच सोलोविएभ, रुसी लेखक संघ बाट भिक्टर पाभ्लोभिच जुएभ र पारिवारिक मित्र हरुको तर्फ बाट डा. भिष्म आचार्य, सबैले स्वर्गीय कृष्ण प्रकाश श्रेष्ठलाई व्यक्तिगत, पेशागत र साहित्यिक रुपमा सम्झिदै वहाँका योगदानहरुको चर्चा गर्दै अनि दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण शोक मन्तव्य व्यक्त गर्नु भएको थियो I

साथै, नेपाली दुताबासमा स्व. कृष्णप्रकाश श्रेष्ठको ठुलो फोटो संगै शोक पुस्तिका पनि राखिएको थियो I उपस्थित सबैले कृष्णप्रकाश दाजुको तस्बिरमा फूल अर्पण गर्दै श्रद्धाञ्जली दिदै भावपूर्ण अभिव्यक्ति हरु शोक पुस्तिकामा लिपिबद्ध गरेका थिए I यसरी, मस्कोमा वरिष्ठ लेखक, कवि, समालोचक, अनुवादक, संस्कृतिविद, सहि मानेमा बहुमुखी प्रतिभाका धनि ८२ बर्षिय अथक स्रष्टा स्व. कृष्णप्रकाश श्रेष्ठको नेपाली भाषा साहित्य र संस्कृतिको विकास र प्रबर्धनमा अतुलनिय योगदानको उच्च कदर गर्दै वहाँले थालेका अधुरा कामहरु सम्पन्न गर्ने प्रतिबद्धता का साथ् वहाँ संगको अन्तिम बिदाई कार्यक्रम सम्पन्न भएको छ I