शङ्खघोष गर्छु म (भावना परिष्कृत सुनुवार)

शङ्खघोष गर्छु म

पूजाको दीयोदेखि

Bhavanaकपडामा सियो म नारी

भोकमा मिठो फलदेखि

प्यासमा चिसो जल म नारी

जननी हुँ म सृष्टिको

अपार शक्ति संहारिणी

धारणा हु म अमर तत्व प्रेमको

सफल विशाल कार्यकारिणी

समर्पिता म

आफैलाई भुलेर

अरूको खुशीमा

आफ्नो भागको सुख अर्पण गर्दै

निर्मल मनको जलधाराले

कोमल मृदवाणी

कुशल व्यवहार समर्पण गर्दै

सत्यको प्रतिमूर्ति म नारी

तप र साधनाको

अदभूत अनुभूति म नारी

अनि फेरि पनि म नारी

बदलामा सदियौँदेखि

शोषण, दमन र हिंसाको मारले थिचिँदै

निस्सासिएको म नारी

र पनि प्रचण्ड क्षमता र अखण्ड

रोशन अस्मिताले जगमगाउँदै

धैर्यताले आफ्नो अस्तित्व

सम्हाल्दै उठेको म नारी

हो हिजोदेखिको

आजको यो नवीन युगसम्मको म नारी

अब युगको आधा मेरो हिस्सा

इमान्दारपूर्वक मलाई फकाई देऊ

जसलाई म पूर्णताको

सही गन्तव्यमा पुराउने छु

तिमीले अवला ठानिकन

मेरो अदभूत शक्तिलाई दुत्कारेका छौ

धैरै कुरामा, प्राय सबै क्षेत्रमा

मलाई खसालेका छौ, धकेलेका छौ,

पछाडि फालेका छौ, आफ्नो स्वार्थमा साटेका छौ

अब तिम्रो पालो

एकै छिन तिमी बिश्राम गर

एक्लै हिँड्दा हिँड्दा लङ्गडोको गति

आज तिम्रो भएको छ

सारथी बन्छु म, योद्धा बन्छु म

सेनापति, निर्णायक सबै बन्छु म

डोराउँदै विजयको यात्रा आरम्भ गर्छु म

जगतलाई हत्केलामा खेलाउने

तिम्रो हत्केलालाई आफ्नो हातले चलाउने

आँट र साहस राख्छु म

नारीमाथिको अन्याय, विभेद,

शोषण, दमन, हिंसाको

विरोधमा उत्रदै

अत्याचारको अन्त्य गर्ने

सङ्कल्प लिँदै

नवीन युगको, नारी युगको

शङ्खघोष गर्छु म, शङ्खनाद गर्छु म

शङ्खघोष गर्छु म !!!

 

– युके