विश्व नेपाली साहित्य महासंघ दिल्लीद्धारा २ जना नारी श्रष्टालाई सम्मान

नया दिल्ली ।
३ नोभेम्बर २०१४, नेपाली नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान दिनुहुने दार्जीलिङका दुई जना श्रष्टालाई भारतको राजधानी नया दिल्लीमा सम्मान गरिएको छ ।

विश्व नेपाली साहित्य महासंघ भारतले दार्जीलिङका कवियत्रीद्वय साङमु लेप्चा र निना राईलाई सम्मान एवम् अभिनन्दन गरेको हो । साहित्यकार उत्तरकुमार क्षेत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली साहित्य लेखनको क्षेत्रमा तीन दशकदेखि सक्रिय लेप्चा र राईलाई सम्मान गरिएको हो । सम्मानित दुवै श्रष्टा दार्जीलिङमै शिक्षण पेसामा सक्रिय हुनुहुन्छ । सफदरजङगस्थित गोर्खा भवनमा आयोजित कार्यक्रममा कवि तथा गजलकारहरुले आ–आफ्ना सृजना वाचन गर्नु भएको थियो ।

GFNL-Banner1सम्मानपछि बोल्दै कवियत्री लेप्चाले नेपाली साहित्यलाई उचाई प्रदान गर्न आफू सधै सक्रिय रहने र घर तथा समाजले दिएको हौसलालाई कहिल्यै निभ्न नदिने दृढता व्यक्त गर्नु भयो । विशेषगरि, कथा र कवितामा कलम चलाउनु हुने साङमु लेप्चाका तीन ओटा पुस्तक प्रकाशित छन् । त्यसैगरी, कार्यक्रममा सम्मानित अर्की श्रष्टा निना राईले समाजलाई विकृत हुनबाट जोगाउन सन्देश प्रवाह गरिरहने बताउनु भयो । दुई वटा पुस्तक प्रकाशित गरिसक्नु भएकी राईले नेपाली साहित्यलाई अझै प्रभावकारी बनाउन अध्ययन अनुसन्धान जरुरी रहेको बताउनु भयो ।

विश्व नेपाली साहित्य महासंघ भारतका महासचिव रुवेन गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा साहित्यकार ईशु चाम्लिङ, कवियत्री प्याटिशया निकोलस, कवि मोहन रिजाल, विश्व नेपाली साहित्य महासंघ भारतका अध्यक्ष तथा पत्रकार अशोक अधिकारी लगायतले कविता, गजल र गीत प्रस्तुत गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *