देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं (पुरु जोशी)

पहिले म गर्छु अनि तपाई गर्नुस् अनि हामी सबै गरौं

हामी नेपाली बिदेश पलायन भएपछि मात्र देशभक्तिको साँचो आभाष पाउंछौं । देशमा हुंदा खान लाउन कुनै अप्ठ्यारो नभएर होला हामीलाई कुनै कुराको चिन्ता भएन । कोरियामा काम नभए कसैले गन्दैनन् । आफ्नै साथीहरु समेतले हेप्न थाल्छन् । खान पाउंदैनन् । तर त्यसको ठीक उल्टो नेपालमा काम नभएपनि खान पाउंछ । काम नभएपछि साथीहरुसंग बस्ने समय प्रसस्त हुन्छ र जे मन लाग्यो त्यही गर्न पाउंछ । अनि एउटा निहु न हो आन्दोलनमा जाने कि हुल दंगामा जाने कि जे गरे नि हुन्छ ।

हाम्रो देशको स्थिती दिन प्रतिदिन बिग्रंदो स्थिति छ । देश बिकास गर्न अब कस्को मुख ताक्ने हामीले ? नयाँ नेपाल बनाउंछु भन्ने नारा दिएपनि झन् थोत्रो नेपाल भैरहेको छ । सरकार हाँक्नेले सत्ता टिकाउन मात्र खोज्ने मन्त्रीहरुले पाएको मौकाको फाईदा उठाउने अख्तियार जस्ता आयोगहरु हेरेको हेर्यै हुने माओवादीहरु पाएको बेला गर्न नसक्ने र अहिले आएर जनबिद्रोह जनआन्दोलन र सत्ता कब्जा जस्ता नाराहरु लगाएको लगायै छ । लोडसेडिङको कारणले जसरी देश अन्धकारमय छ त्यसरी नै हाम्रो देश अन्धकारमय बन्दै गएको छ । कसैले कसैलाई नगन्ने अवस्था भएको छ । केही गर्छु भन्नेहरुलाई गर्ने अवस्था छैन । राम्रो गरी खानेलाई खान दिईंदैन । खुट्टा तान्नेहरुको भीड बन्छ । ठुलो काम गरी ठुलो मान्छे बन्ने रहर बोकेका मान्छेहरु गुपचुप बस्न मन पराउन थालेको छ । ठुलो लगानी गरी देशलाई आर्थिक हिसाबमा धनी बनाउने लगानीकर्ताहरुले लगानी गर्न डर मानी सबै लगानीहरु फिर्ता लगिराखेको अवस्था भैसकेको छ । देशको राजधानीको मुटु मै मान्छेको हत्या हुन्छ । देशको शुरक्षा एकदम नाजुक छ । कसैको शुरक्षा छैन । जनता त्रसित छन् । जनता आतंककारीसंग मात्र नभई शुरक्षाकर्मी देखि समेत त्रसित हुनुपरेको अवस्था छ ।

जहिले पनि यस्तै अवस्था रहने हो भने देश कसरी बन्छ ? हाम्रो देशमा बिकास भएको हेर्न चाहने हाम्रो सपना कहिले साकार पार्ने ? जहिले पनि यसरी नै भएर बाँच्ने हो ? देशको स्थितिले गर्दा सबै बिदेश पलायन मात्रै हुने स्थिति सृजना गर्ने हो ? अत्ति भयो अब त । कसैको मुख नताकौं अब त । अति भयो । अब हामी आफ्नो देश आफैले बनाऔं ।

ठुलठुला भवनहरु हुंदैमा देश बनेको हुंदैन । सगरमाथा छ र बुद्ध जन्मेको देश भन्दैमा देश धनी पनि बन्दैन । देश धनी हुनका लागि सबैभन्दा पहिले त्यस देशको जनताहरुको मन धनी हुनु अत्यावश्यक छ र जनताको मन धनी बनाउन सबैभन्दा पहिले आफ्नो मनदेखि शुरु गर्नुपर्छ ।

तसर्थ आजैदेखि म निम्न कुराहरुलाई देशभक्त भै पालना गर्नेछुः
म एक देश भक्त नागरिक हुँ (मेरो जिन्दगीको क्षण क्षणमा म देशलाई सम्झनेछु )
म नेपाली हुनुमा गर्व गर्दछु (संसारको कुनै देशमा गएपनि म नेपाली भन्न हिच्किचाउंदिन )
म देशलाई अहित हुने कुनैपनि काम गर्दिन (देशप्रति पूर्ण बफादारी भएर काम गर्छु )
म ठुलालाई आदर र सानालाई माया गर्छु (यसलाई म मेरो देशको संस्कृति बनाउंछु )
म आफुले देशको हित बिपरित गरेको गल्तीको सजायँ भोग्न तयार छु (मेरो देशको कानूनको पूर्ण मान्यता राख्छु )
म कसैलाई हेप्दिन र कसैलाई हेपेको पनि सहंदिन (अरुलाई हेप्नुभन्दा पहिले आफ्नो स्थानको मुल्याङ्कन गर्छु )
म घूस खांदिन र घूस पनि ख्वाउंदिन (देशको नीति नियममा रही काम गर्छु )
म समयको ख्याल राख्दछु र नेपालीहरु समयलाई निक्कै ख्याल राख्दा रहेछन् भन्ने कुरालाई अगाडी बढाउंछु (नेपाली टाईम भन्ने मानसिकतालाई जरोदेखि हटाउंछु )
म ड्राईभर भएँ भने जथाभावी हर्न बजाउंदिन जहाँपायो त्यहिं गाडी रोक्दिन (ट्राफिक नियमको पूर्ण पालना गर्छु जसले )
म यात्रु भएँ भने जथाभावी बाटो काट्दिन ट्राफिक नियमको पालना गर्दछु र क्रमबद्ध भै गाडी चढ्नेछु (जो पहिले गाडी चढ्यो त्यो सिटमा बस्न पायो भन्ने मानसिकता हटाउंछु )
म सरकारी कर्मचारी भएँभने सरकारको काम कहिले जाला घाम उखानलाई कहिल्यै सम्झंदिन (देशको प्रशासनिक कार्यलाई माथी उठाउंछु )
म डाक्टर भएँभने आफ्नो कामभन्दा आफ्नो क्लिनिकलाई बढी ध्यान दिदिंनँ (सबै नेपालीहरु स्वस्थ्य भै बाँच्न पाउने अधिकारलाई सम्झनेछु )
म ट्राफिक भएँ भने घूस कहिल्यै खाँदिन (ट्राफिकहरुले गर्दा चालकहरु र यात्रुहरुले भोग्ने गरेको सास्ती निर्मूल पार्छु )
म प्रहरी भएँ भने माथीबाट आएको आदेशको पालना गरी दोषीलाई कहिल्यै निर्दोषी बनाउंदिन (आफ्नो मान्छे भएपछि जस्तोसुकै अपराधलाई माफी दिने र ब्यक्तिगत रिसिबी भएका मान्छेलाई अपराधी बनाउने चलनको नाश गर्छु )
म पत्रकार भएँ भने न्याय गर्नेको पक्षमा लेख्छु राम्रो मान्छेको पक्षमा कलम चलाउंछु (कसैको नूनको सोझो गर्दिन )
म शिक्षक भएँ भने मैले भोगेका परिश्रमहरु र अनुभवलाई बिद्यार्थीहरुलाई बाँड्छु (आफु शिक्षित भई सबैलाई शिक्षित हुन प्रेरित गर्छु )
म नेता भएँ भने मैले दिएको भाषण र जनतालाई दिएको बचनको पुरा ख्याल राखी मलाई दिएको जिम्मेवारी निभाउनेछु (देश भक्त नेता बनेर देखाउनेछु )
म अभिनेता भएँ भने जनतालाई मनोरञ्जन दिलाई जनताहरुको मन जित्नेछु (नेपाली कलाकारितालाई बिश्वमा चिनाउनेछु )
म ब्यापारी भएँ भने क्रेताहरुलाई बढी ठग्दिन चाहिने भन्दा बढी रकम तोक्दिन (सबै जनताले ढुक्क भएर सामान किन्न पाउने प्रचलनको शुरु गर्नेछु )
म दलाल भएँ भने चाहिने भन्दा बढी रकम लिंदिन आफुले गरेको परिश्रमको कर लिन्छु (दलालले म दलाल हुँ भनी परिचय दिन सक्ने बातावरणको सृजना गर्छु)
म भन्सारमा समान जाँच गर्ने मान्छे भएँ भने अर्काको सामानको चोरी गर्दिन (अर्काको सामानहरु चोरी गरी म देश बदनाम हुनबाट रोक्छु)
म जातभातको कुनै मतलब राख्दिन । (यसलाई निर्मूल पार्न म अन्तरजातीय बिवाह गर्छु र मेरा सन्तालाई पनि सिकाउंछु )
म मेरो देशलाई धर्म निरपेक्ष राष्ट्र बनाउंछु (म पशुपति गई पूजा गर्छु लुम्बिनी गई बुद्धलाई भेट्छु चर्च गई येशुको प्रार्थना गर्छु र अल्लाहको नाम पुकार्छु)

यति मात्रै होइनन् । हामीले पालना गर्नुपर्ने अझै थुप्रै छन् । तर मलाई लाग्छ हामी सबै नेपालीले आ आफ्नो पक्षबाट राम्रो र सच्चा नेपालीपनको पहिचान दिए देशको स्थिती माथी उठ्ने कुरामा दुईमत छैन ।

One thought on “देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं (पुरु जोशी)

  1. यी माथि जती पनि सैदान्तिक कुराहरु छन ती सबै उपयुक्त छन र हुन/ तर यो कुरो सबै सज्जन महानुभाबहरुले बुझ्न र यसलाई प्रयोगमा ल्याउन सबैको जिम्मेवारी जस्तै हो/अति नै जरुरी कुरा हो र हामी सबैलाई चासो को बिषय मात्र होइन सबैले बुझेर प्रयोगमा ल्याउन अति नै महत्वपूर्ण कुरा हामी सबैको जिम्मेवारी हो, कसैले नभुलौ/यी कुराहरु उसको मात्र होइन,मेरो मात्र होइन-हामी सबैको लागी हो भन्ने कुरा हामी सबैले मनन गर्नु जरुरी छ /

Leave a Reply

Your email address will not be published. Required fields are marked *