विनेसाम भारत शाखाद्वारा भाषा दिवस पालन र सम्मान घोषणा

दार्जिलिङ २० अगस्त २०२१, सुक्रबार (निस°) : 

अहिलेसम्म कोरोनाको कहर स्थिर नभएको हुँदा यस कुरोलाई मध्यनजर गर्दै भर्चुअल रुपमा नै विश्व नेपाली साहित्य महासङ्घ- भारत शाखाले आज २० अगस्त , शुक्रबार  २९ औं नेपाली भाषा मान्यता दिवस भव्यताकासाथ पालन गरेको छ ।

विनेसाम-भारत शाखाले यस कार्यक्रममा विशेषगरी भाषा आन्दोलनकालमा, “नेपाली भाषाले भारतको संविधान अनुसार मान्यता प्राप्त नगरे, आत्मदाह गर्नेछौं” भनि प्रतिज्ञापत्रमा हस्ताक्षर गर्ने १०६ जना भाषा सङ्ग्रामीहरुमध्ये एक साहित्यकार प्राध्यपक तेजमान बराइलीलाई ‘आशारानी राई स्मृति भाषा सम्मान’ले सम्मानित गरिने कुरा भाषा दिवसको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा शाखाका अध्यक्ष राहुल राई बोगिकोले घोषणा गर्नु भएको छ । उक्त सम्मान, आगामी दिसम्बर महिनामा विनेसाम भारत शाखाको बार्षिक कार्यक्रम ‘साहित्य सेतु’ कविता विशेषाङ्कको विमोचनसितै जनाइने कुरा विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखाकी मूलसचिवा सुमित्रा थामी “अविरल”ले जानकारी दिनु भएको छ । विश्व नपाली साहित्य महासङ्घ, भारत शाकाका अध्यक्ष राहुल राई बोगिकोको अध्यक्षता तथा मूलसचिव सुमित्रा थामी अविरलको सञ्चालनमा सम्पन्नउक्त कार्यक्रममा मञ्जुला तामाङ सुब्बाको स्वागत मन्तव्य,  देवीका मंग्राती राईको सरस्वती बन्दना र नुरन राईको धन्यवाद मन्तव्य रहेको थियो । कार्यक्रममा विभिन्न विद्वान विदुसीहरूले आआफ्नो मन्तव्य राख्नु भएको थियो । आजको भर्चुअल भाषा दिवस कार्यक्रममा घोषाणा गरिएको यस सम्मानमा : सम्मान पत्र, स्मृति चिन्ह, दोसल्ला, शिरशोभा अनि नगद राशी पनि प्रदान गरिने छ ।

साङमा टी° ई° (रानीबन) दार्जिलिङमा ५ जुलाई सन् १९५९ मा स्व° मानबीर बराइली अनि माता: स्व° प्रेमफूल बराइलीको कोखबाट जन्मनु भएका भाषा सङ्ग्रामी प्राध्यापक तेजमान बराइली हाल सिलगढी कलेज ( नेपाली विभाग ) मा प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ ।

७० कै दशकदेखि भाषा अनि साहित्य सेवामा लागिपरेका प्राध्यापक बराइलीको कविताहरु सन् १९७६ मा नै पोख्रेबुङ हाई स्कुलबाट प्रकाशित हुने पटल पत्रिका ‘पल्लव’ मा प्रकाशित भइसकेको छ । उहाँका प्रकाशित कृतिहरु:- आवाज (कविता सङ्ग्रह), कणिकाहरु (मुक्तक सङ्ग्रह), मनको साइनो (मुक्तक सङ्ग्रह), गान्धी (मुक्तक सङ्ग्रह), रुख (लामो कविता), डा° डिल्लीराम तिम्सिनासित अन्तर्वार्ता (अन्तर्वार्ता सङ्ग्रह), कमानसिंह रामुदामु (जीवनी), मुल्यबोध (समालोचना) हुन् । आस्था, रुचिजस्ता साहित्यिक पत्रिकाहरुको पनि उहाँले सम्पादन गरिसक्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *