सैन्ट पिटर्सवर्गमा दुई दिन एक रात (दिनेश बस्नेत)

१० जुन २००९, रुसको सांस्कृतिक राजधानी सैन्ट पिटर्सवर्गमा सुर्योदय भइरहेको थियो । केही तुंवालो, बिहानी झिसमिसेझै लाग्ने पिटर्सवर्गमा हामीले पहिलो पाइला टेक्दै थियौ । रुस यात्रामा रहेका हामी तीन -डा. गोविन्दराज भट्टराई, डा. धु्रवचन्द्र गौतम, दिनेश बस्नेत) रुसमै रहनु भएका बरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ सैन्ट पिटर्सवर्ग सकेसम्म लिएरै आउने योजनासाथ पुगेका थियौ ।

९ जुन सांझ मस्कोस्थित नाकाचिन्स्कायमा हांसको मासु भन्दै कुनै ठुलै पंक्षीको मासु भोजकै रुपमा खाएर राति ११ बजेतिर डा. मणिराज पोखरेलका साथ रेल यात्रा तय गरेका थियौ । हामी बिहान १० बजे सैन्ट पिटर्सवर्ग पुग्ने कार्यक्रम थियो । त्यहीअनुसार सैन्ट पिटर्सवर्गमा रहनु भएका नेपालीहरुले गाडीको व्यवस्था गर्नुभएको रहेछ । तर, हामीले १० तारिख पुग्नेलाई १० बजे पुग्ने ठानेका रहेछौ, त्यसैले हामी दुई घण्टा पहिला नै गन्तव्य उत्रेका थियौ ।

बिहानको चिसो हावा छिचोल्दै हामी रेलबाट उत्रियौ । मस्कोको कार्यक्रमीय व्यस्तताबाट दुई दिनका लागि सैन्ट पिटर्सवर्ग छिरेका हामीमा मनभरि उत्साह, आंखाभरि जिज्ञासा, ज्यानभरि स्फुर्ति र कताकता भय थियो । भय यसकारण कि मस्कोस्थित दूतावासमै इरिना भाउजुले क्यामेरा राम्रोसंग बोक्नु, पैसाहरु राम्रोसंग राख्खु स्किन हेड र नेश्नालिस्टहरुले लुट्न सक्छन् भन्नुभएको थियो । रुसका कतिपय स्थानमा विदेशीलाई निशाना बनाइंदो रहेछ । रेलबाट उत्रेर हामी प्लेटर्फमतर्फ लाग्यौ । त्यहां निकै अग्लो पिटर दि ग्रेटको सालिक थियो । मैले त्यसको तस्वीर क्यामेरामा उतारें अनि आफूलाई पनि सालिकसंगै तस्वीर बनाएं ।

हामी दश बजे सैन्ट पिटर्सवर्ग पुग्ने योजनाअनुसार चालकलाई पनि समय दिइएकेा रहेछ । तर, हाम्रो भ्रम निवारणसंगै चालकलाई ८ बजेको समय दिइयो । हामी पिटर दि गैटको सालिकमुनि थचक्क बस्यौ । यतिकैमा एक जना गोरागोरा ठिटा आएर कृष्ण भनें । उनले हामीलाई चिनिछन् हामीले पनि हाम्रै लागि आएको थाहा पायौ । उनको नाम निकोलाइ रहेछ । बसाउनेदेखि घुमाउनेसम्मको जिम्मा उनैको थियो । डा. बुद्धिराज खरेल काम विशेषले मस्को आउनु परेकाले सबै जिम्मेवारी निकोलाईले पाएका रहेछन् । हामी निकोलाइका पछि लाग्यौ ।

सफा सडक । स्वच्छ र हल्का चिसो मौसम । बिहानी सुर्योदय भइरहेको थियो । सडक किनार र पार्कतिर ठुलाठुला सालिक थिए । मस्कोबाट न्यानो र स्वच्छ दिन लिएर आएकोमा निकोलाइले धन्यवाद भनें । उनकाअनुसार अघिल्लो दिन निकै वर्षा भएको रहेछ । हामी बस्ने होटलतर्फ जान निकोलाईको गाडीमा बस्यौ । सैन्ट पिटर्सवर्ग युरोपको ढोका । ससाना टापुहरु जोडेर निर्माण गरिएको रहेछ। कृष्ण दाइ भन्दै हुनुहुन्थ्यो- यो युरोप छिर्ने महासागरीय ढोका हो ।

सबै भवन निकै पुराना थिए । तर, सबै हिजै मात्र निर्माण गरिएजस्ता भव्य र सुन्दर । बीचतिर नेभा नदी । अनि सहरैभरि ससाना नहरहरु । हामी कहिले नेभामाथि त कहिले मलाया नेभामाथि गर्दै होटल पुग्यौ । होटलमा बस्ने कोठामा सामान राख्यौ । हल्का आराम गर्यौ । त्यही पलभर बस्ने मन थिएन त्यसैले हामी निस्क्यौ । हाम्रो अबको गन्तव्य बाल्टिक सागरअन्तर्गत फिनो उपसागरको वे अफ फिनल्याण्ड तट थियो । हामी यतिबेला पिटरहफ प्रांगणमा थियौ । हामी सरासर गन्तव्यतिरै हानियौ ।

त्यहां पिटर दि ग्रेटकालीन भव्य दरबार थियो । त्यो तत्कालीन राजाहरुले आराम गर्ने ठाउं रहेछ । सागरबाट ल्याइएको पानीबाट बनेको सुन्दर फोहोराहरु त्यहांका विशेष आकर्षण थिए । ला आज फोहोरा चलेकै रहेनछ कृष्ण दाइ निराश हुनुभयो। हामीलाई जे देखाउन लगिएको थियो त्यो नभएको देख्दा उहां केही निराश हुंदै बुझ्नतिर लाग्नुभयो । दाइको मुहार उज्यालियो । रहेछ रहेछ भन्दै दाइ आउंदै हुनुहुन्थ्यो मधुर संगीतका साथ बीचको ठुलो फोहोराबाट पानी आउन थाल्यो । पर्यटकहरुको भीडबाट पररर ताली बज्यो । हामी माथिल्लो भागमै थियौ । चारैतिरबाट क्यामेराले फ्ल्यासका वर्ष गर्न थाले । हामी पनि पालैपालो आफूलाई क्यामेरामा कैद गर्नतिर लाग्यौ । सय बढी फोहोराबाट भिन्न भिन्न किसिमले पानी आइरहेका थिए। कतै मानिसको हातबाट, कतै जनावरको मुखबाट, कतै केबाट पानीका फोहोरा निस्किरहेका थिए । मध्यान्हको घाममा सुन्दर इन्द्रेणी पर्दा बयानका लागि शब्दहरु निरर्थक हुन्थे । चारैतिर हरियाली। सागरसम्म जोड्ने नहर । फोहोराको चारैतिर मानिसको भीड । लाग्थ्यो, स्वर्ग भनेको यही हो । यो नहेरि मर्नु भनेको नर्क जानु हो। मानवीय प्रवृत्तिअनुसार नै यसअघि देखेका सबै सामान्य यही असामान्य लागिरहेको थियो ।

बाहिर फोहोराहरु चलिरहेकै थिए । हामी त्यसको भित्री संरचना हेर्न जाने लाइनमा थियौ । यहांका फोहोराहरु जतिसुकै राम्रा र हेरिरहूं लाग्ने भए पनि हामीले कम समयमा धेरै घुम्नु थियो । एउटी युवती आइन् । उनले आफ्नो नाम माशा मारिया बताइन् । फोहोराको भित्री भाग घुमाउने उनी हाम्रो समूहको गाइड थिइन् । हामी मानव निर्मित गुफाभित्र छिर्यौ । गाइड रुसी भाषामा विवरण सुनाइरहेकी थिइन् । हामी रुसी भाषा नजान्ने इसारामा बुझ्ने कोशिस गरिरहेका थियौ । मारियाको बयानसंगसंगै कृष्णप्रकाश दाइले नेपालीमा बताउन थाल्नुभयो । अनि आंखा मारियातिर कान कृष्णप्रकाश दाइतिर पारेर हामी गुफा छिर्यौ । निकै तल समुद्रबाट पानी ल्याएर सुरुंगभित्र विभिन्न संरचना खडा गरी माथि देखिने फोहोरा निर्माण गरिएको रहेछ । पिटरकालीन त्यो संरचना विभिन्न कालखण्डका युद्धमा ध्वस्त भए पनि पुनःनिर्माण गरिदै आएको रहेछ । गुफाभित्र भोजभतेरदेखि नाचगान र भव्य कार्यक्रमहरु हुन्थे रे। मारियाको रुसी बयान सुनेर कृष्ण दाइले गर्नुभएको नेपालीकरण र रुसका अप्ठ्यारा नामहरुका कारण हामीले आधाजसो हेरेर बुझ्यौ । आधा जति सुनेर । मारिया उन्मुक्त मुस्कानका साथ फोहोरा र संरचनाबारे बताइरहेकी थिइन् । मारियाले भएजति सबै कुरा भनिन् होला । उनी आफूले जानेजति सबै कुरा बताउन चाहिरहेकी थिइन् । तर, हामी उनको मुस्कान र हाउभाउ मात्र बुझ्थ्यो । तैपनि हामी कान कृष्ण दाइको कुममा पुराएर सबैकुरा बुझेजस्तो गरिरहेका थियौ । मारिया र हामीमा केही कुरा फरक थिएन । बुझ्ने, बुझाउने, मानवीय संवेदना, खुसी सबै समान थिए । तर भाषाको कांडेबार थियो । त्यसैले गुफाबाहिर आएर हामीले मारियासंग आफ्नो बारेमा बतायौ । उनलाई नेपाल भन्ने शब्द थाहा नभए पनि चोमोलोंमा अर्थात सगरमाथा थाहा थियो । उनले इमेल ठेगाना दिइन् । हामी उनीसंग विदा लिएर बाहिरियौ ।

मैले समुद्र देखिकै थिइनं । नदी त आफ्नै देशमा थिए । भारतमा अलि ठुला थिए त्यसबाहेकको समुद्र हेर्ने इच्छा थियो । त्यसो त नेभा र मस्को नजिक नपुगेको होइन । त्यसलाई छुन पाइने हो होइन भन्ने थियो । त्यसैले ठुलाठुला पानी जहाज भएको समुद्र तटतिर हानियौ । क्यामेरा थियो, तर आफ्नो फोटो आफैले खिच्न नमिल्ने समस्या यहां पनि । त्यसैले आफ्नो समुद्र मोह बताएर डा. भट्टराई र कृष्ण दाइलाई क्यामेरा दिएं । मनलागेजति तस्वीरमा अनुवाद गरियो आफूलाई । घुम्ने ठाउं धेरै थिए । तर समय कम । त्यसैले हामी बाहिरिने क्रममा उकालियौ सडकतिर । निकोलाई बाहिर हाम्रै प्रतिक्षामा थिए ।

बाहिर आएर पेटपुजातिर लागियो । रुसी खानाका साथ निकै लामो समय लगाएर आराम पनि गरियो । र, मनभरि मारियाका हाउभाउ, आंखाभरि मनोरम इन्द्रणीमय फोहोराका लिएर हामी एलेक्जेन्डर प्यालेसतिर दौड्यौ । केहीअघिसम्म न्यानो र घमैलो सैन्ट पिटर्सवर्गमा वर्षा सुरु भयो । रातभरको रेलयात्रा निद्रा लागेछ । झरिमै एलेक्जेण्डर प्यालेस पुगियो । भिजेरै टिकट काटियो । टिकट काटेर भित्र गएको भित्री फेरी अर्को टिकट लिनुपर्ने लामो लाइन रहेछ । छाता एउटा थियो । ठुलै वर्षा भएकाले कृष्ण दाइलाई छाता दिएर हामी दरबारको आडमा बस्यौ । बल्लबल्ल भित्र छिरियो । भव्य संग्रहालय रहेछ । हिटलरले लुटेर र ध्वस्त पारेर पनि नसकेको त्यो दरबारको भव्यता हेर्दा सिंगो इतिहास बोल्थ्यो । त्यहां पनि गाइड रुसी कान त कृष्ण दाइकै कुममा । दिन छिप्पिसकेको थियो । वर्षा रोकिने छांट थिएन । संग्रहालयबाट निस्कदा झनै वर्षा बढ्यो । एक जना ढोकैमा छाता बेच्दै रहेछ । कति भनेको एक हजार रुबल भन्यो । हामी अर्कैतिर फर्क्यौ । उ हजारमा दुई वटा भन्न थाल्यो । हामीले आजलाई घुम्ने भन्दा होटलमा पुगेर आराम गर्ने निर्णय गरिसकेका थियौ त्यसैले गाडीसम्म त्यसै जाने निधो गर््यौ । निकोलाई बाहिर गाडी लिएर बसेका थिए । उनका साथ होटल पुगियो । १० जुन रमाइलैसंग पिटर्सवर्ग यात्रा सकियो ।

११ जुन २००९ । एक रात दुई दिने पिटर्सवर्ग यात्रा अवधिमध्ये एक रात एक दिन खर्च भइसकेको थियो । हामीसंग सांझको ७ बजेसम्म सकेजति घुम्नु थियो । त्यसैले बिहानै चियानास्तापछि रुसी खानाका साथ फापरको भात खायौ । बाटो खर्च रोटी किन्यौ । बिहान १०.३० बजेतिर निकोलाई आए । हामीलाई सैन्ट पिटर्सवर्ग घुमाउन माधव मिश्रको फोन पनि आइरहेकै थियो । तर, उहांसंग भेट भने हुन सकेन । हामीले होटलबाट सामान निकालेर गाडीमै राखेर यात्रा सुरु गर्यौ । हामी घुम्दैघुम्दै एउटा नेपाली संग्रहालयमा पुग्यौ । सैन्ट पिटर्सवर्गमा रहेको स्टेट म्युजियम अफ हिस्टी अफ रिलिजनको बुद्धिष्ट प्रदर्शनी कक्षमा पुग्यौ । नेपालका विषयमा राम्रो अध्ययन गर्नुभएकी भालेन्टिना माजुरिनाले प्रदर्शनी कक्षमा न्यानो स्वागत गर्नुभयो । प्रदर्शनीमा नेपाली थांका, बुद्धसम्बन्धी विभिन्न सामग्री समेटिएका थिए । एउटा ठुलो हलमा चारैतिर सजाइएका बुद्धसम्बन्धी चित्र र सामग्रीले पिटर्सवर्गमा सानो नेपाल सिर्जना गरेको थियो । माजुरिना निकै पाको भइसक्नु भएको रहेछ । उहांको स्वागत र मस्कोमा नेपालीको स्वागतमा कताकता समानता थियो । सायद नेपालसम्बन्धी अध्ययनले माजुरिनलाई पनि नेपाली बनाएको थियो । उहांले हामीले अघिल्लो दिन घुमेको फोहोराका तस्वीरहरु भएको रुसी क्यालेण्डर उपहार दिनुभयो । कृष्णप्रकाश दाइले रुसी भाषामा नेपालसम्बन्धी लेखिएको पुस्तक दिनुभयो । ध्रुवचन्द दाइले खादा ओढाइ दिनुभयो । आपसमा हार्दिकता साट्यौ। छुट्न मन थिएन । नेपालदेखि धेरै टाढा भेटिएको एउटा नेपालप्रेमीसंग धेरै कुरा गर्न मन थियो । संग्रहालय, माजुरिना सबै क्यामेरामा कैद गर्यौ । संगै बसेर संग्रहालयभित्र र बाहिर केही क्लिक गर्यौ । हामीले अझै पिटर्वर्गको धेरै ठाउं घुम्न बांकी थियो । धेरै घुम्नुपर्छ भन्ने हामीलाई भन्दा पनि माजुरिनालाई लागेको थियो । त्यसैले संग्रहालयबाहिरसम्म आएर हामीलाई विदा गर्नुभयो । हामीले पनि विदा माग्यौ ।

अब हामी कहिले नेभा पारी त कहिले नेभा वारि गरिरहेका थियौ । जुन पुल हामी तरिरहेका थियौ त्यो पुल राति नहुने रहेछ । सबै पुल उठ्दा रहेछन् । अनि ठुलाठुला पानी जहाज पार हुंदा रहेछन् । राति हुने भएकाले त्यो दृष्य हेर्न भने पाइएन ।

फूलैफूल भरिएका सुन्दर पार्क, समुद्र तट हुंदै हामी पिटर्सवर्गका सडकमा हिडिरह्यौ । समुद्र तटमा नवविवाहित जोडीहरु यत्रतत्र थिए । उनका साथीहरु हातमा क्यामेरा लिएर गिद्धझै दुलाहदुलहीतिर झम्टिएझै थिए । हामीमा पनि उत्सुकता जाग्यो रुसी विवाह संस्कृतिबारे । हामीले ल्युभा र आन्द्रेइलाई निशाना बनायौ । उनीहरु निकै हतारमा थिए तैपनि कुरा गर्न सहमत भए । कृष्णप्रकाश दाइले हाम्रोबारेमा बताउनुभयो । समान्य कुराकानी र इमेल आदानप्रदान गरियो । जोडीहरु बग्रेल्ती थिए । नेभाको चिसो सिरेटो । पानी जहाजका ओहोरदोहोर । तटमा नवविवाहित जोडीहरुको शुभकामना आदानप्रदान । वातावरण निकै मादक ।

नेभाको कोखामा रहेको ठुलो टावर। जारहरुको समाधिस्थल सबै हेरियो । दिन जति छिप्पिदै थियो, हाम्रो पिटर्सवर्ग यात्रा अन्त्य हुंदै थियो । अझ पिटर्सवर्गकै ठुलो हेर्मिताज संग्रहालय हेर्न बांकी थियो । चार बज्न लागिसकेछ । हतार हतार टिकटको लाइन बसियो । टिकट लिएर मात्र पनि नहुने भित्र छिर्न पनि लाइन । तर, नेपालमा पानीदेखि बसयात्रामा समेत लामो लाइन बसेका हामीलाई त्यहांको लाइन अनौठो थिएन । बरु हरेक पुराना कुरालाई संरक्षण गरेर राम्रो आम्दानीको स्रोत बनाउने रुसी परम्परा इर्श्या लाग्दो थियो । हामी पुराना कुरा सबै भत्काउंदै थियौ । यता रुसीहरु पुराना कुरा देखाएर देशीविदेशीलाई लाइनमा राखेर आम्दानी गरिरहेका थिए ।

संग्रहालय छिर्नुअघि नै संग्रहालयमा रहेका हरेक एउटा चिजलाई एक मिनेट लगाउने हो भने पुरा घुम्न तीन वर्ष लाग्ने कृष्णप्रकाश दाइले बताउनुभएको थियो । भित्र छिरेर तीन पटक घुम्दा हामी एउटै ठाउंमा आइपुगेछौ । हामी बाहिरिने ढोकाबाट प्रवेश गरेका रहेछौ । हातमा नक्सा थियो । चारैतिर सबै हेरौजस्ता चित्र र अन्य सामग्री । कोठैपिच्छे संग्रहालयका कर्मचारी । सोध्दै हेर्दा हामीलाई त धेरै हेरेजस्तो लाग्यो । तर हामीले २५ प्रतिशत पनि हेर्न सकेनछौं । संग्रहालय बन्द हुने बेला भइसकेछ, हामी हेर्नमै व्यस्त । भटाभट कोठाहरु बन्द हुंदै थिए । निस्कनुको विकल्प थिएन । बाहिरिनतिर लाग्यौ । बाहिरिनुअघि शौचालय जाने कुरा भो । सबैजना छिरियो शौचालय । बाहिर आउने कुर्नेमा परियो । म बाहिर आएं । ध्रुव दाइ आउनुभयो । कृष्णप्रकाश दाइ पनि आउनुभयो। अब एक जना बांकी ।

निकै बेरसम्म कुरियो । एक जना साथी कम । भित्र गएर कृष्णप्रकाश दाइले हेर्नुभयो । कोही छैन । म गएं, सबैतिर हेरें कोही छैन । एक जना साथी डा. गोविन्दराज भट्टराई खै त ? हामी सबै चारैतिर हेर्न थाल्यौ । भित्र कुदाकुद गर्न थाल्यौ । साथी छैन । रुस प्रवेश गरेदेखि हामीले भाषाका नाममा खारसो- राम्रो, पासिवा धन्यवाद र क्लुज चावी भन्ने शब्द जानेका थियौ । कसैलाई सोध्ने कुरा पनि भएन । हामी केही अत्तालिएजस्तो देखेपछि प्रहरीले पनि हामीलाई सोधे । हामीले एक जना साथी हराएको कुरा बतायौ । संग्रहालय बन्द हुनै लागेको थियो । यसो बाहिर हेरेको डा. भट्टराईजस्तै हिडिरहेको देखें । म र कृष्णप्रकाश दाइसंग मोबाइल थियो । म हराइहाले पनि मस्को वा कृष्ण दाइलाई फोन गर्न सक्ने थिएं । म बाहिर दौडिएं । टोलीमा म नै कान्छो सदस्य पनि थिएं । दौडिएर बाहिर दरबार स्क्वायरको चारैतिर हेरें डा. भट्टराई देखिनु हुन्न । मस्कोका लागि रेल छुट्न दुई घण्टा जति मात्र बांकी छ। फेरि भित्र गएं । कृष्ण दाइ र ध्रुव दाइलाई भेटें। हामी असमंजस्यमा थियौ । अब के गर्ने ?

दुई जना दाइलाई भित्रै छाडेर म फेरि बाहिरतिर दौडिएं । बाहिर सबैतिर हेरें । नेभा तटतिर केही गएं । आफै हराउने डरले फेरि फर्किएं । डा. भट्टराई भेटिनु भएन । दरबार स्क्वायरमै आएर यसो उभिएको असिन पसिन भएर डा. भट्टराई नेभा तटतिरबाट आउंदै गरेको देखें । मन हलुंगो भयो । पसिना पुछें। हात हल्लाएं । भित्र गएर फेरि चारमा परिणत भयौ ।

भएछ के भने हामी सबै शौचालय छिर्यौ भनेको डा. भट्टराई पुस्तक किन्न लाग्नु भएछ । उहांको हिड्दा पनि लेख्ने बांनी थियो । उहांले हेमिर्ताजसम्बन्धी पुस्तक किन्नु भएछ । र, नेभातिरको ढोकाबाट बाहिरिनु भएछ । हामी दरबार स्क्वायरतर्फको ढोकाबाट बाहिरिएका थियौ । हामी जति अत्तालिएर खोजीमा लाग्यौ उहां पनि त्यसरी नै लाग्नु भएको रहेछ । म वल्लो गेटनिर आउंदा उहां पल्लोगेटमा म पल्लो गेटेमा पुग्दा उहां वल्लो गेटमा । त्यही भएर हाम्रो भेट नभएको रहेछ । मैले संग्रहालयभित्रबाट देखेको दृष्टिभ्रम हो कि लागेको थियो । तर, त्यो व्यक्ति उहां नै हुनुहुंदोरहेछ । तर, साथीहरु नेभातिर निस्के नि दरबार स्क्वायरतिर भन्ने भ्रममा उहां झण्डै १५ मिनेट लाग्ने वल्लो र पल्लो ढोका पुग्नु हुंदोरहेछ । एकछिन हांस्यौ गललल सबै ।

मनमा इरिना भाउजुले भन्नु भएको कुरा खेलिरहेको थियो । त्यसमाथि केही दौडाइको धपेडी । पिटर्सवर्ग छोड्ने समय नजिक आइरहेको थियो । १२ जुनका दिन इस्त्रा तटमा भव्य साहित्यिक समारोह हुंदै थियो । साताव्यापी साहित्यिक कार्यक्रमको अन्तिम दिन रुसमा रहेका सम्पूर्ण नेपालीको इस्त्रा तटमा जमघट हुने कार्यक्रम । हामी कुनै पनि हालतमा तोकिएको समयभन्दा बढी सैन्ट पिटर्सवर्गमा बस्न सक्ने अवस्थामा थिएनौ । अब निकोलाईलाई फोन गरियो । दरबार वरपर गाडी आउन नदिने भएकाले उनी टाढै थिए । वल्लवल्ल उनी भएको स्थानसम्म पुगियो । गाडीतिर जान के सडकपार मात्र गर्न लागेका थियौ एक बटुवा……… लुटिए । बाटो देउ बाटो देउ भन्दै आएको एउटा समूहले ती बटुवाको हाते ब्याग नै टप्काएछन् । आंखै अगाडि बटुवा लुटिनुले मभित्र झनै डर उत्पन्न गरायो । अनि दूतावासको सोफामा बसेर इरिना भाउजुले भन्नु भएको कुरा सम्झें । यसरी सुरुकै दिन लुटिएको भए ? हाम्रो पिटर्सवर्ग यात्रा त्रासमय हुने थियो । तर, रेल छुट्न एक घण्टाअघि मात्र भएकाले पिटर्सवर्गयात्रा सुखद रह्यो । निकोलाइले रेलको डिब्बासम्म ल्याए। सामान बोक्न सहयोग गरे। प्लेटफर्मको दौडादौडमा सहयोग पुराए । हामी रेलमा बस्दा छुट्न केही मिनेट मात्र बांकी थियो । हामीले दुई दिनसम्म सैन्ट पिटर्सवर्ग यात्रा गराएकोमा पेसाले इन्जिनियर निकोलाईलाई धन्यवाद दियौ । उनले पनि हार्दिक विदाई गरे । रेल अघि बढ्यो । समथर जमिनमा हाम्रा लेकाली ठ्युरे सल्ला र अन्य रुखविरुवाहरु पार गर्दै । ढोकामा कसैले टकटक आवाज दियो । सबै उठ्यौ मस्को आइपुगिएछ ।

– रुस यात्राबाट फर्केपछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *