मध्यरातमा (देवेन्द्र सुर्केली)

मध्यरातसम्म पनि
निन्द्राले छुँदै नछोए पछि
म उठेर टुक्रुक्क बस्न पुगेको छु ।
ठीक अगाडीपट्टिको फाटकमा
पव उच्च उच्च स्वरमा घन्किरहेको छ
उसलाई पनि मलाई जस्तै
पटक्कै निन्द्रा लागेको छैन ।
निन्द्रा नलागेर नै उ पनि
मेरो अगाडि टुसुक्क बस्न पुगेको छ ।

म प्रष्ट देखिरहेछु
मेरा हितैषी एकजना साथी
मैले अपलोड गरेको
फेसबुकको तस्वीरमा घोरिरहेको छ
कैयौ कमेन्टका ठेली टाइप गर्दै मेट्दै
अन्तमा मात्र लाइकमा क्लिक गरेर अर्को तस्वीर पल्टाउँछ ।
पव एकोहोरो घन्किरहेको छ
पवमा बजेको ड्रमको आवाज
ड्रम ड्रम… बाट डरम डरम हुँदै पोरोम पोरोम भइरहेको छ
ति आवाजहरुमा क्रमशः खाँडीका दौरा फेरेर
एक हुल याक्थुङ युवाहरु लर्किरहेका छन्
मेरा धुमिल धुमिल आँखाहरु उत्तै सल्बलाउँछन्
याक्थुङ युवाहरु माङलाङ केलाङको फेरोमा उभिए
प्रोम प्रोम च्याब्रुङको धुनमा पाइतालाको चालसँगै
मेरा आङमा फेजिकुम फेदाङ् मा उत्रिन लागे
मलाई तागेरानिङवाभूमाङले फक्ताङलुङडको दरबारभित्र
मुन्धुमी शब्द चिनाइ रहनु भएको छ ।

संसारमा सबैसबै लिपिहरु सकिएर एउटै मात्र बाँकी रहेको
संसारमा सबैसबै भाषाहरु सकिएर एउटै मात्र बाँकी रहेको
सिरिजंगा तेअङसीले ढुंगामा खोपेर राखि छोडेको
जुन लिपिमा सृष्टिको पूरा कथा छ
जुन भाषामा मानव जीवनको व्याथा छ
याक्थुङ युवाहरु छुईया… या हा हा गर्दै
सृष्टिको पहिलो गीत उतार्दैछन् ।

म फेजिकुम फेदाङ् मा
लिम्बूवान चलाउन दिइएको एउटा विभागीय क्षेत्रलाई
तागेरा निङ्वाभूमाङबाट आएको सिधा आदेशबाट
समाजमा सुसुक्षित गराउन प्रयत्नरत छु ।

शाब्दिक आवाजको माध्यमबाट मात्र
अन्तरमन आदानप्रदान हुने दोश्रो व्यक्तिसँग
पालाम गुनगुनाएर परिचय मागिरहेछु ।

पालामबाटै परिचित
हितैषी साथीहरुले माइसंसारडटकमबाट
कैयौं अपवाहहरु फैलाएर कैयौं कमेन्टहरु बटुलिरहेका छन् ।
हल्लाको खेती गरेर पाठकको मन जित्नुभन्दा
पाठकको मन भुटेर
अस्तित्वको भारी विरोध गरिरहेका छन् ।

भुटेर जानुभन्दा जितेर गए पछि
एउटा सिगो पव मेन्छ्याम ढाप बन्न सक्दछ
जहाँ असंख्य अस्तित्वहरु जिवित नाचिरहन्छन्
मैले अपलोड गरेका तस्वीरहरुमा
कैयौं खोटहरु देखाउन खोजेता पनि
सत्यताको अगाडि हार्न नसकेर मार्न लाइकमा क्लिक गर्दै जान्छन् ।
म पूर्व फर्केर मनन् गरिरहन्छु
ओत…
ओत…
ओत…

जहाँबाट मुन्धुमी ज्ञान बलेर आउँछ
जहाँबाट नयाँ सामाजिक क्रान्ति बलेर आउँछ ।

– बुकित बिन्ताङ,
मलेसिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *