आत्महत्याको पत्र (समदर्शी काइँला)

आफ्नो भएभरको जायजेथा
आँशु पसिना र अन्तर्वेदनाको खिचि्रमिच्री बोकेर
बेचबिखन गर्न र जिजीविषाको चारो जोहो गर्न
बहुरङ्ग सपनाको हाटमा जादा पि
सुक्रीबिक्री फरिफार्छे नभएर
यो नियाँस्रो आइतबार समसाँझ
म मरुभूमिको लामो पच्याङबाटो हिडेर
एक फोक्टा अन्तरीपको डीलमा उभिएको छु।

र चिद्वैषम्यताले एकोहोरो सोचिरहेछु
जीवन फगत काकाकूलको तिर्खैतिर्खा
जीवन फगत मृगमरीचिकाको गिर्खैगिर्खा।

मेरो म को अस्तित्व ओएसिस फुट्यो
र बुच्चियो यौटा बालुवाकणले।

भूइकुहिरोको बाक्लो बर्को ओढेर
दिनमान रोइरहने
उज्यालोको चर्को घाम भन्दा
अध्याँरोको झाङमा फुल्ने जूनफूल
मलाई सर्वप्रिय लाग्दैछ।

हृदयको कानले प्रस्ट सुन्दैछु-
चकमन्न रातको कत्ति मीठो संगीत
हाराकिरी हाराकिरी हाराकिरी
हाराकिरी
हाराकिर
हाराकि
हारा
हा
री

बहुरङ्ग सपनाको एकदिने हाट भर्ने
एकहूल मान्छेहरु!
हतार हतार फर्किरहेछन्
आ आफ्नो घरतिर
मनोहर पानीडुङ्गामा।

एकहूल सुनामी लहरहरु!
सुटुक्क आएर
मन लफलफ भिजाएर जान्छ।

तेस्पिछ
समुद्रको अथाह गहिराइमा
लटरम्म फकि्ररहेको जूनफूल टिप्न
म अन्तरीप डिलबाट
झ्वाम्म फालहानेर झरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *