पहिचान खोज्दै आप्रवासीहरू नेपालमा

काठमाडौँ, १५ कात्तिक । विश्व नेपाली साहित्य महासङ्घले नेपाली भाषासाहित्यको विकास र सम्बद्र्धनका लागि विश्वभरका आप्रवासी नेपाली र नेपालीभाषी समुदाय एक भएर लाग्ने विश्वास व्यक्त गरेको छ ।

यही कात्तिक ८ गते यहाँ भएको ‘विश्व नेपाली साहित्य सम्मेलन’बाट आफूहरूले नेपाली भाषासाहित्यप्रति विश्वभरका नेपालीको प्रेम अभिव्यक्त भएको तथा छिमेकी साहित्यकार तथा विद्वान्ले यसको अस्तित्वका लागि बढी चासो व्यक्त गर्दा आफूहरूलाई अझ हौसला मिलेको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले बताउनुभयो ।

सम्मेलन नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय भाषामा अनुवाद गर्ने कार्यलाई जोडतोडले आगाडि बढाउनुपर्ने लगायत बाह्रबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो । ‘नेपाली साहित्य नेपाली पहिचान, समृद्ध सहित्य हाम्रो आधार’ भन्ने मूल नाराका साथ सुरु भएको सो सम्मेलनले नेपाली परिचयलाई देशविदेशमा सम्मानित र उच्च पहिचानयुक्त बनाउन काम गर्ने, विश्वभरका नेपाली स्रष्टालाई समेटी तत्कालै विश्वव्यापी साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, नेपाली पहिचान बोक्ने भाषाभाषीको विकास प्रवद्र्धन र विस्तारका लागि काम गर्ने लगायत बुँदा पनि पारित गरेको थियो ।

सो अवसरमा अतिथि नेपालीभाषीहरूले नयाँ पुस्ताको नेपाली भाषाप्रति लगाब बढाउन प्राविधिक सामग्री तयार गर्न दिएको सुझाब मननीय छ भन्दै साहित्यकार तिगेला (ब्रुनाइ । बेलायत)ले विश्वका पुस्तकालयहरूमा हाम्रा अनुवाद सामग्री राखिने अभियान चालिने बताउनुभयो ।

सो अवसरमा भारतका वरिष्ठ साहित्यकार डा राजेन्द्र भण्डारीलाई ‘विश्व नेपाली साहित्य पुरस्कार’ प्रदान गरियो भने कवि विमला तुम्खेवालाई ‘विश्व नेपाली साहित्य युवा पुरस्कार’, मैथिलीभाषी साहित्यकार श्यामसुन्दर यादव पथिकलाई ‘विश्व नेपाली साहित्य महासंघ भाषाभाषी साहित्य पुरस्कार’ तथा साहित्यकार किशोर पहाडीलाई ‘विश्व नेपाली साहित्य सम्मान’ प्रदान गरिनाका साथै ‘वर्तमान विश्व परिस्थितिमा नेपाली अनुवादको प्रसङ्ग’, ‘अङ्ग्रेजी भाषामा नेपाली साहित्यः एक सर्वेक्षण’ र ‘नेपालका मातृभाषा’बारे कार्यपत्र प्रस्तुत गरिनाका साथै रुसी भाषामा अनुदित ‘लोकको गरुँ हित भनी’ शीर्षक कृति(भानुभक्तमाथि रचित रचना) विमोचन गरिएकोे थियो ।

महासङ्घका अध्यक्ष तिगेलाले नेपाली पहिचान बोकेका नेपाली भाषासाहित्यलाई विश्वभर प्रचारप्रसार गर्न आफूहरू प्रयत्नशील रहने र छिट्टै उत्कृष्ट तीन दर्जन नेपाली कवितालाई चिनियाँ र हिन्दी भाषामा अनुवाद गरी प्रकाशन गरिने तथा नेपाली साहित्यको कुनै विधामा प्रतियोगिता आयोजना गरिने जानकारी दिनुभयो ।

सम्मेलनमा नेपाल, भारत, म्यान्मा, भियतमान, भुटान, कतार, इजरायल, क्यानडालगायत गैरआवासीय नेपाली साहित्यकार गरी १५० प्रतिनिधिको सहभागिता थियो नेपाली साहित्यको विकास, विस्तार र सम्वद्र्धनका लागि विसं २०६७ असार २९ गते स्थापित महासङ्घको हालसम्म विश्वका १४ मुलुकमा १८ शाखा निर्माण भई सञ्चालनमा छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वउपाध्यक्ष भारती गौतमले अमेरिकामा बस्ने नेपालीहरूले नेपाली भाषा र संस्कृति पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । नेपाल आएका बखत रासससँगको भेटमा गौतमले आफूहरूले नेपाली भाषा र साहित्यलाई नबिर्सेको र नेपाली नै भएर बाँचेको बताउनुभयो ।

अमेरिकामा बसेका पहिलो पुस्ताका नेपालीका सन्तानले आफ्नो पहिचान खोज्दै नेपाल आउन थालेको बताउँदै उहाँले भन्नुभयो–नेपाली भाषा,साहित्य र संस्कृतिबारे तिनैले अध्ययन, अनुसन्धान र अनुवाद गर्न सक्छन्, तिनैलाई प्रेरित गराउनुपर्छ । रासस

(राससद्धारा निर्मित तथा वितरित समाचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *