बाह्रबुंदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न

काठमाडौँ, ८ कात्तिक । विश्व नेपाली साहित्य महासङ्घको आयोजनामा आज यहाँ भएको ‘प्रथम विश्व नेपाली साहित्य सम्मेलन’ नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय भाषामा अनुवाद गर्ने कार्यलाई जोडतोडले आगाडि बढाउनुपर्नेलगायत बाह्रबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

‘नेपाली साहित्य नेपाली पहिचान, समृद्ध सहित्य हाम्रो आधार’ भन्ने मूल नाराका साथ सुरु भएको सो सम्मेलनले नेपाली परिचयलाई देशविदेशमा सम्मानित र उच्च पहिचानयुक्त बनाउन काम गर्ने, विश्वभरका नेपाली स्रष्टालाई समेटी तत्कालै विश्वव्यापी साहित्यक कार्यक्रम सञ्चालन गर्ने, नेपाली पहिचान बोक्ने भाषाभाषीको विकास प्रवद्र्धन र विस्तारका लागि काम गर्नेलगायत १२ बुँदा घोषणापत्र समेटेको छ ।

सो अवसरमा भारतका वरिष्ठ साहित्यकार डा. राजेन्द्र भण्डारीलाई ‘विश्व नेपाली साहित्य पुरस्कार’ प्रदान गरियो भने कवि विमला तुम्खेवालाई ‘विश्व नेपाली साहित्य युवा पुरस्कार’, मैथिलीभाषी साहित्यकार श्यामसुन्दर यादव पथिकलाई ‘विश्व नेपाली साहित्य महासङ्घ भाषाभाषी साहित्य पुरस्कार’ तथा साहित्यकार किशोर पहाडीलाई ‘विश्व नेपाली साहित्य सम्मान’ प्रदान गरियो । उक्त पुरस्कारका राशिमा क्रमशः रु ५० हजार, रु २५ हजार र रु १० हजार छ ।
DR-Bhandari
त्यस्तै विश्व नेपाली प्रचारप्रसारमा योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक श्याम रिमाललाई आभारपत्र प्रदान गरियो ।

सो अवसरमा डा गोविन्दराज भट्टराईद्वारा प्रस्तुत ‘वर्तमान विश्व परिस्थितिमा नेपाली अनुवादको प्रसङ्ग’, युवा साहित्यकार महेश पौडेलद्वारा प्रस्तुत ‘अङ्ग्रेजी भाषामा नेपाली साहित्यः एक सर्वेक्षण’ र साहित्यकार अमर तुम्याहाङद्वारा ‘नेपालका मातृभाषा’विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा महासङ्घको मुखपत्र ‘साहित्य संसार’, सपना गौतमद्वारा लिखित ‘सपना सिन्धु’, सुरेन्द्र इङ्नामद्वारा लिखित ‘चोट दिएपछि’, गजलसङ्ग्रह , रुसी भाषामा अनुदित नेपाली रामायण ‘लोकको गरुँ हित भनी’ र भारतका साहित्यकार रेवतीमोहन तिम्सिनाको लघुकथा ‘माकुर-माकुर’ नामक कृति विमोचन गरिएको थियो । महासङ्घको उत्कृट शाखामा इजरायल र उत्कृष्ट स्रस्टामा नेपालका रमेश कँडेललाई घोषणासमेत गरिएको थियो ।
gfnl-ktm
महासंघले जारी गरेको घोषणापत्रमा नेपाली पहिचान बोकेका नेपाली भाषासाहित्यलाई विश्वभर प्रचारप्रसार गर्ने र छिट्टै नेपाल नेपाली उत्कृष्ट तीन दर्जन कवितालाई चिनियाँ र हिन्दी भाषामा अनुवाद गरी प्रकाशन गरिने उल्लेख गरिएको छ । सो अवसरमा भारतीय साहित्यकार डा राजेन्द्र भण्डारी, भारतीय साहित्य अकादामी परामर्श समितिका अध्यक्ष (कुलपति) प्रेम प्रधान, काशीहिन्दू विश्वविद्यालय वनारसका भारतीय भाषा विभागका अध्यक्ष प्रा डा दिवाकर प्रधान, सिक्किम विश्वविद्यालय नेपाली विभाग प्रमुख प्रा डा कविता लामालगायतले नेपालको समृद्धिको कामना गर्नुभएको थियो ।

सो सम्मेलनमा नेपाल, भारत, म्यान्मार, भियतमान, भुटानलगायत गैरआवासीय नेपाली साहित्यकार गरी १५० जना प्रतिनिधि र लगभग ४ सय साहित्यप्रेमीहरुको सहभागिता थियो । नेपाली साहित्यको विकास, विस्तार र सम्वद्र्धनका लागि विसं २०६७ असार २९ गते स्थापित महासङ्घको हालसम्म विश्वका १४ मुलुकमा १८ शाखा निर्माण भई सञ्चालनमा छन् । रासस

पत्रपत्रिकाको नजरमा>>
विश्व नेपाली साहित्य सम्मेलन
नेपाली कृति हिन्दी र चिनियाँमा

कान्तिपुर संवाददाता
काठमाडौ, कार्तिक ८ –
विश्वभर नेपाली साहित्य प्रवर्द्धन, अनुवाद तथा हातेमालो गर्ने एघारबुँदे घोषणापत्र जारी गर्दै शुक्रबार राजधानीमा विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । भारत, म्यान्मार, भुटान, भियतनाम लगायत मुलुकको समेत प्रतिनिधि रहेको सम्मेलनले नेपाली साहित्यलाई छिट्टै हिन्दी र चिनियाँ भाषामा समेत अनुवाद गरी प्रकाशन गर्ने घोषणा गरेको छ । पुरस्कार वितरण, किताब लोकार्पणसहित सम्पन्न सम्मेलनको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले पछिल्लोपटक नेपाली साहित्य अभियान विश्वस्तरमा हुने क्रम बढ्दै गएकोमा खुसी व्यक्त गरे ।

भारतबाट आएका साहित्यकार डा. राजेन्द्र भण्डारीको रचना वाचनसमेत रहेको सम्मेलनमा सपना गौतमको गजल कृति ‘सपना सिन्धु’, सुरेन्द्र इङनमको गीत संग्रह ‘चोट दिएपछि’, डा. कृष्णप्रकाश श्रेष्ठले रुसी भाषामा अनुवाद गरेको भानुभक्तको ‘एकदिन नारद सत्यलोक पुगिगया लोकको गरूँ हित भनी’ र विश्व नेपाली साहित्य महासंघको मुखपत्र ‘साहित्य संसार’ पनि लोकार्पण गरिएको थियो । कृतिमाथि रुसबाट सहभागिता जनाएका साहित्यकार डा.मधु माधुर्यले टिप्पणी गरे । म्यान्मारबाट लक्ष्मण न्यौपाने, भुटानबाट डेन्जाम साम्पाङ राई, भारतबाट डा. कविता लामा, नेपालबाट राजन मुकारुङ, प्रकाश सायमी, डा. दिवाकर प्रधान, नयनराज पाण्डे र प्रेम प्रधान बोले ।

सम्मेलनको अर्को आकर्षण पुरस्कार वितरणको थियो । ५० हजार रुपैयाँ र सम्मानपत्रसहितको विश्व नेपाली साहित्य स्रष्टा पुरस्कार यसपटक सिक्किमका डा. राजेन्द्र भण्डारीले पाए । २५ हजार रुपैयाँको विश्व नेपाली युवा स्रष्टा पुरस्कार कवि विमला तुम्खेवाले, १० हजार रुपैयाँको भाषाभाषी साहित्य स्रष्टा पुरस्कार मैथिली भाषी श्यामसुन्दर यादव ‘पथिक’ले र विश्व नेपाली साहित्य सम्मान किशोर पहाडीले पाए । त्यस्तै विश्व नेपाली साहित्य महासंघको उत्कृष्ट शाखाको रूपमा इजरायल शाखालाई र उत्कृष्ट सदस्यको रूपमा रमेश कँडेललाई सम्मान गरिएको थियो भने श्याम रिमाललाई प्रशंसापत्र दिइएको थियो ।

कार्यपत्रको सेसनअन्तर्गत प्रा.डा. गोविन्दराज भट्टराईले ‘नेपाली साहित्य अनुवाद’बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने बलराम अधिकारीले टिप्पणी । महेश पौडेलले अंग्रेजी भाषामा लेखिएका नेपाली साहित्य र अमर तुम्याङले विभिन्न भाषा भाषीमा लेखिएको साहित्यबारे कार्यपत्र प्रस्तुत गरे । पौडेलको कार्यपत्रमाथि डा. रोली मित्तल र तुम्याङको कार्यपत्रमाथि भाषाविद् अमृत योञ्जनले टिप्पणी गरेका थिए । विभिन्न शाखाहरूले प्रगति प्रतिविदेनसमेत प्रस्तुत गरेको सम्मेलनमा विश्वभरका नेपाली साहित्यिक संघसंस्था- बीच सहकार्यबारे पनि छलफल भएको थियो । ‘हरेक तीन वर्षमा यो सम्मेलनले निरन्तरता पाउने छ,’ आयोजक विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष तथा साहित्यकार विश्वासदीप तिगेलाले भने, ‘साहित्यमार्फत नेपाली पहिचानलाई विश्वभर प्रवर्द्धन गर्न सम्मेलनले सघाउने छ ।

प्रकाशित मिति: २०७० कार्तिक ९ ०९:३८
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=307657
gfnl ktm1

gfnl ktm2