त्यो वस्ती भित्र छिरेको छ (बिनोद बान्तावा)

निधारमा अत्याचार खोपेर
कहिले नमेटिने शिलालेख झैं
न्याय र समानताको खोल ओढेर
ब्याड बारीको बुख्याचा झैं
binodछातीमा महास्वार्थको तक्मा भिरेर
नक्कली बीर योद्धा झैं
गतिछाडा झुटा आस्वासन बोलेर
डाङ्ग्रे चराको हल्ला झैं
तल औलदेखि माथि चोमोलुंगमा सम्म
तल बेंशीदेखि माथि थुम अनि गढ़िहरु सम्म
लमटन्न सुतेको पबित्र बाटोलाई
अपवित्र पैतालाले कुल्चंदै
त्यो यहि वस्ती भित्र छिरेको छ
अरुलाई हान्दै
मिचाहा साँढे जसरि
कुखुरा चोरी खान पल्केको
बनढाडे जसरि
झुपडीको गर्भिणी सपना तुहाउदै
अमृतको प्याला देखाएर त्यो बिष बाँडन
त्यो जन्तु बस्ति भित्र छिरेको छ
माझी दाई त्येसलाई बल्छी बनाउ
ता कि त्येसले काम गरोस
डुंगा बनाउ ता कि त्येसले किनारा छुट्याओस
गाइने दाइ त्येसलाई सारंगी बनाउ
ता कि त्येस्ले बेदना बुझोस्
भरिया दाइ त्येसलाई नाम्लो बनाउ
ता कि त्येसले भार थाम्न सकोस
सिम्मा त्येसलाई बिनायो बनाउ
ता कि त्येसले तिम्रो संस्कृति चिनोस
किसानहरु हो त्येसलाई हलो कोदालो बनाउ
त्येसले खेत बारी खन जोत गरोस
आफ्नो माटोको सुगन्ध चिन्नेहरु हो
आफ्नो परिचय खोज्नेहरु हो
त्येसलाई यस्तै यस्तै केहि बनाउ
त्यो यतै कतै घुम्दैछ
त्यो वस्ती भित्र छिरेको छ

जन्म : पात्लेपानि ,भोजपुर
ठेगाना: इटहरी सुनसरी
हाल: द. कोरिया