कोसेली परदेशबाट

कविता सग्रह
कवी नगेन्द्र इंगनाम

प्रकाशकः
विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रिय समिति

Download Koseli Book by Nagendra PDF file

“एक समीक्षा – काव्यकृति “कोसेली परदेशबाट” को (अशोक राई)

कवि नगेन्द्र ईङ्नाम “आठराईली” को काव्यकृति न्यूयोर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो । हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरुले पढिसकेको हुनुपर्दछ । यसै पुस्तकको बारेमा छोटो समीक्षा गर्ने जमर्को गरेको छु ।

कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो । उनको हरेक कवितामा कुनै सीमा छैन । जहाँतहिं पानी जस्तै सलल बगिदिन्छन,उनका कविता सरल र सहज भाषामा अनि आफ्नै कलामा । हरेक लेखकहरुको आफ्नै प्रकारको एउटा लेखन कला, भाषा र तरिका हुन्छ । ईङ्नामको लेखन कलाले खासगरी भन्नुपर्दा आम पाठकको मन छुन्छ । जुनसुकै बिषय र भावमा तुरुन्तै कविता तयार गर्ने खुबी उनमा पाईन्छ । उनको कवितामा खासगरी स्थानीयता,आञ्चलिकता संस्क्रिति , जाति, धर्म, भोगी ल्याएको जीवन, गाउँघर, देश, समाज, परदेश अनि मानवीय संवेदना र प्रेम जस्ता विषयवस्तु प्रशस्तै पाईन्छ ।

कवितालाई क्लिष्ट बनाउनुपर्छ अन्यथा यो कविता हुन सक्दैन भन्ने आजको सोचलाई कविले पछ्याएका छैनन । आम पाठकलाई सुपाच्छ छ यो कृति । अर्को कुरा कविताले कुनै वाद र धार नै आत्मसात् गर्नुपर्छ भन्ने मान्यता पनि यस कृतिले बोकेको छैन । पाठकको दिल छुने खालको सिर्जना तयार गर्नु भनेको अमर हुनु पनि हो । कविको महत्वपूर्ण पक्ष आफ्नो कलाले पाठकलाई आनन्द दिनु हो, पाठकको मनको भाषा अक्षरले बोल्नु हो र पीडालाई छाम्नु हो । कवि अल्पग्राह्य छैनन् सर्वग्राह्य हुन सक्नुपर्छ जुन कुरा ईङ्नामका सरल कवितामा पाईन्छ ।

अब ऊनका केही कविताहरुलाई केलाउनेतर्फ लाग्नु पर्दा . . जब म तेह्र घण्टाको लामो ड्यूटी सिध्याएर थकित शरीरलाई रेलको डब्बाभित्र थुपार्छु त्यसबेला कवि नगेन्द्र ईङ्नामको कविताँश मनमा आउँछ ।

गहकिलो छ समस्या परदेशीहरुलाई परदेशमा
प्रतिकूल समय छ फर्कनलाइ आफ्नो देशमा
घर सम्हाल्न जाउँ बिना कालमै मारिईने डर
अर्काको देशमा गैर कानूनी भनी लखेटिईने डर . . . .-(परदेशमा)

परदेशको पीडा परदेशी स्वयमलाई अरुलाई भन्दा बढी ज्ञान हुन्छ । परदेशको पसिना, पराई बचनहरु, अलार्मा समय र पारिवारिक दु:ख थुप्रैथुप्रै कुरा हुन्छन परदेशीको छाँतिभित्र । जाने ठाउँ भन्नु स्वदेश हो, उतातिरको बेथिती अस्थीरता र बेरोजगारी सधैं प्रतिकुल रहन्छ । तैपनि मान्छेको मनमा एकप्रकारको मायावी रहर हुन्छ डलरको । मनमा तृष्णा रहिरहन्छ सपना देख्न मन हुन्छ न्यूयोर्क शहरको । काव्यकृति स्वयम् एक परदेशी कविको हो जो दूई दशक समय परदेशमा गुजारिरहेका छन । भोगाईको अभिव्यक्ति पनि हो कविता । कृतिको नामाकरण गरिएको सन्दर्भलाई हेर्दा पनि सायद थाहा हुन्छ यी कुराहरु । एउटा कविता छ यस कृतिभित्र जो प्रेममा आधारित छ ।

स्वच्छ सुनौलो बिहानीहरुको पर्खाईमा
कैयौं दुःखी रातहरु गुजारी रहेको छु
हाम्रो भावि सुख र मिलनको पर्खाईमा
सयौं बाधा र अड्चनहरु पन्छ्याई रहेछु . . . . -(कोसेली परदेशबाट)

. . . यो प्रेमपीडा परदेशीको हो । कविताको पात्र प्रेयसी या प्रिय पत्नी जो कोही पनि हुन सक्छ जसलाई परदेशीले मार्मिक सम्झना गरेका छन । यी सांकेतिक पीडाहरु कृतिमा धेरै पाउन सकिन्छ । – “यसैको न्यानोपनाले आजसम्म बाँची रहेको छु” ।

परदेशमा रहंदा स्वदेशको सम्झना पनि अति मार्मिक रुपमा प्रस्तुत गरेका छन यिनले । जब एउटा परदेशीलाई परदेशले छोड्न नसकेपछि उसले गुमाएका अनुभवहरु निम्न कविताँश मार्फत बुझ्न सकिन्छ ।

छोडेको थिएँ सोल्टिनीलाई
चिठी पत्रमा भेट्दै गरौंला भनी
ती क्षणहरु युगमा बदलि सके
भन्छन्,
जेठी, माईली र साईंली हुंदै
मेरी कान्छी सोल्टिनीले पनि
आफ्नो घरबार जोडिसकिन् रे
तर मलाई यो पापी परदेशले छोडेको छैन . . –( मलाई परदेशले छोडेको छैन)

लामो समयसम्म कवि न्यूयोर्क सहर रहेका हुनाले उनले आफ्नो कवितामा यस सहरको विशेषता, जीउने तरिका, नेपालीले अपनाएको यहाँको जीवनबारे व्याख्या गर्न पनि भ्याएका छन् । धेरै मानिसहरु बाहिरबाट सपनाको गह्रुङ्गो भारी बोकेर यहाँ आउँछन, जिजीबिषा खोज्छन् र संस्कृतिसित रुझ्दैभिज्दै समय बिताउँछन् । सिमाविहीन स्वन्त्रतता, अर्ध पागल गीतहरु, बार-रेष्टुँरा, विधुत्तीय खेलहरु र अंग्रेजी फेसन जस्ता थुप्रै थुप्रै कुरा छन् तेश्रो भुगोलका मान्छेलाई रिङ्गटा लगाउने । कविताले भन्छ थोरैमात्र मानिसहरु सुखी धेरैजसो खिन्नछन् यहाँ . . . .

जागा जागा बत्ति र सडकहरु
जागै रहन्छ शहर चारै प्रहर
भिडमाथि भिड थपिँदै थपिँदै
असिमित हुँदैछ शहरको रहर
कसैलाई रमाईलो
कसैलाई, सही नसक्नुको छ
यो न्यू योर्क शहरको रहर. . . –( न्यू योर्क शहरको रहर)

कवितालाई अत्यन्तै माया गर्ने कविले कवितालाई रहस्यमय सुन्दरी या पात्र बनाएर अर्को कविता बुन्छन् । त्यो काव्यपात्रलाई कतै आकर्षक सुन्दरी या सुन्दर नर्तकी कतै सबैको आकर्षणको केन्द्रवस्तु मानौ फुटबल यताउता आँखा घुमाउनुपर्ने, सुन्नलाई प्रिय श्राव्य सामग्री इत्यादि विशेषताले परिभाषित गर्दै अन्तमा रहस्य खोलिन्छ त्यो पात्र अरु कोही नभई स्वयम् कविता हुन्छ । यो कविता रोमाञ्चक छ र निकै कलात्मक छ ।

आखिर उनी कोहि नभई
एक नेपाली कविता थिईन्
म उनैको वाचन सुनेर मुग्ध
एउटा कुनामा बसेको श्रोता थिएँ. . -(उनी अनि म)

कवितालाई माया गर्नेमात्र कवि कहाँ हुन र उनी कवि हुनुमा गर्व गर्दै कवि कवयत्रीहरुको सामाजिक प्रतिष्ठालाई माथि उठाउन र जोगाई राख्नलाई पनि तम्सेका छन् यिनी ।

कहलिए पनि नकहलिए पनि
कवि हुनुमा गर्व महसुस गर्छु
त्यसैले कवि, कवयत्रीहरुको
प्रतिष्ठा कहिंपनि गिरेको मनपर्दैन
बरु भोकै मरुन कवि, कवयत्रीहरु
तिनका कान्ती मरेको मनपर्दैन . . .-(कवि हुनुको गर्व)

अर्को एउटा कविताको सन्दर्भ उठाउँ शिर्षक हो “शब्दहरु हेरेर अर्थ बुझिदिनु” यस कवितामा अभिजात भनाउँदा कथित बुज्रुगहरु प्रति एउटा उपेक्षित पात्रको तर्फबाट गरिएको ब्यांग्यको भाव छ । हाम्रो समाजमा विभिन्न वर्ग छन्; दर्जा छन्; जाती छन् । त्यसमा उपल्ला वर्गका मानिएकाहरु सत्ता संयन्त्र;शासक र शासनसित नजिक छन् भने निम्न तहकाहरु सधैं उपेक्षामा रहन्छन् । कथित ती उपल्ला तहकाहरुले निम्न तहकाहरुलाई नचिने झैं गर्नु, बेवास्ता र अवहेलना गर्नु सामान्य चलन नै हो । यस कवितामा एक उपेक्षित या अवहेलित पात्रले ती कथित अभिजातका मानिसलाई रचनामार्फत पोखेको व्यङ्ग्य भाव पाईन्छ । यहाँ म जे हुँ कोही हुँ र मैले जे बोल्छु तिमीलाई नमीठो लागे पनि त्यो तिमीले सुन्न जरुरी छ भन्ने चेतावनी पनि छ ।

हाम्रो पुरानो चिनजान थिएन
त्यसैले हजुरले ख्यालै गर्नु भएन
धेरै चिन्याजान्याहरुको माझमा
पहिलो परिचयको वास्ता भएन. . –(शब्दहरु हेरेर अर्थ बुझि दिनु)

त्यसै गरेर अर्को कविता छ “मुकदर्शक मानवता” जसले नेपालमा आज पर्यन्त रहेका बेथिति र कुशासनको भन्डाफोर गर्दछ र मानवताको दुहाइ दिन्छ ।

कुरो टाढा राखौं
कश्मिर, कान्धाहार
लेबनान, बेरुत र गाजा
अनि बग्दादको
आफ्नै देशभित्रका
बेथितिहरु नियाल्दै,
कुरीतिहरुलाई हेर्दा
लडाईं नै लडाईं देखिन्छन् – (मुकदर्शक मानवता)

केही वर्ष अघिको नेपालको जनयुद्ध र आजपर्यन्त बलियाले निर्धालाई गर्ने व्यावहार हेर्दा मानवता मुकदर्शक भएको नै प्रतीत हुन्छ ।

यसै कवितासित मेल खाने अर्को कविता छ “खोइ मानवता” यो कविताले संसारमा भई रहने युद्ध अपराध र निर्दोषबलीको सन्दर्भ उठाउँछ र त्यस्ता नरसंहारमाको चाहिँ दोषी हो त भन्ने प्रश्न आफै प्रश्नमै थाँति रहन्छ अनि कविले फेरि मानवतालाई नै प्रश्न गरेकाछन् ।

भन अझ कति युगसम्म
रमिते जस्तो बनी रहने ?
तिम्रो सामु सधैँ यसरी
असत्यले सत्यको अस्तित्व लुट्दा
किन मानवताका आँखा खुलेनन्
अफगानमा बुद्धको प्रतिमा ढाल्दा. . –(खोइ मानवता)

काम नगर्ने तर राज्यको सम्पत्ति रित्याउने कथित नेपाली नेताहरुप्रति द्रोह पोखिएको कविता पनि छ । देशको अस्थिरता, विसंगत, र बेथितिप्रति दु:ख ब्यक्त भएका सन्दर्भ थुप्रै कवितामा छन् । कवि तथा लेखकहरु जहाँ रहेर लेखे पनि प्रतिपक्षमा हुन्छन् । उनीहरुलाई आफ्नो माटोको माया हुन्छ, आफ्नो देशको माया हुन्छ र राम्रो कुराको प्रशंसामा शब्द खर्च गर्छन् भने राज्यको बदनामीप्रति गाली पनि गर्छन् ।

“उर्वर नेपाली माटोमा
धेरै फैलिए रुखा नेताहरु
सिद्धान्तलाई टाढा लत्याएर
अघि बढ्छन कुर्सिका भोकाहरु” – (हाम्रो देशको यथार्थ)

यो काव्यमा उल्लेख्य मात्रामा प्रेमरसले भरिएका कविताहरु पढ्न पाईन्छ। कवि प्रेमको मामिलामा रोमान्टिक पनि छन् । कतै लाहुरेको आँखामा झलझली आउने प्रेयसी सोल्टेनीका कुरा, कतै परदेशीले दु:खमा आफ्नो प्रियतमालाई गरेको याद, कतै नारी पात्रले पोखेका प्रेमभाव, कतै मायालुले अविश्वासप्रतिको गुनासो त कतै प्रेमीप्रेमिकाहरुलाई जीवनपर्यन्त प्रेमको इमानदारीता देखाउनुपर्ने सन्देश यस्ता भावना भएका थुप्रै कविताहरु काव्यमा संकलित छन् ।
कवितामार्फत नै एकजना लाहुरेले पल्टनबाटै सोल्टिनीलाई सम्झाउँदै भन्छन् . . . .

अब त भयो नि सोल्टेनीऊ,
कति खिन्न बनाई रहन्छौ मनलाई
पुसे मेलाबाट छुटेदेखि रोएको मन
अझै निको भएको छैन कि कसो हो ?
. . . . . . . . .
जेठको गर्मीले मन नपगालोस्
भदौको भेलले पनि मन नबगावोस्
दीपावलिमा मनको दीप जलाएर
तागेरा निङ्वाभु माङको सहारामा
अरु झैं तिमी पनि प्रतीक्षा गर्नु
बारुदको खेल मैदानबाट
आफ्नो जिन्दगी जितेर
चैते हुरीबतासको बेग सँगसँगै
बैशाखे बाचा बन्धन बाँध्न
म तिम्रो सामुन्नेमा आई पुग्नेछु
ओठभरिको मुस्कान कोसेली बोकेर . . –( सोन्टेनीलाई लाहुरेको चिठी)

वास्तवमा यो संग्रहमा आञ्चलिक सुस्केराहरु पनि छन् । पूर्वाञ्चलमा लाग्ने प्राय सबै मेला बजारहरुको याद दिलाउँदै पुसे मेलामा सुरुवात भएको प्रेमविम्ब अनि लाहुरेले पल्टनमा रहंदा देखेको सोल्टिनी सपना जसलाई यस्तो मार्मिक विम्ब र भाव “सोन्टेनीलाई लाहुरेको चिठी” मा प्रस्तुत गरिएको छ् कि सिङ्गो यस कवितालेमात्र पनि आञ्चलिकताको पूर्ण झलक दिंदछ ।
यस कृतिमा कविको स्वछन्द मन विना कुनै परिधि जताततै पुगेको पाईन्छ । उनी निर्दोषहरुले ईराकमा ज्यान गुमाउँदाको पीडा लेख्छन्, मेलमिलापको आग्रह गर्दै मार्गहरु देखाउने पनि गर्छन् । कहिले ढोल झ्याम्टा लिएर साकेलामा नाच्न पुग्छन्, कतै सुनामि वर्षातमा वर्षाकन्याको कल्पना गर्छन् भने निर्दोष रातका गुनासो लेख्न पनि पछि परेका छैनन । कहिले शीतल पवन बनेर सोल्टेनीको मन छुन देउराली भञ्ज्याङमा पुग्छन्, कविताकै माध्यमले उनी साँघू, ढुंङ्गेसाँघु, तेम्बे, चाँगे, दोभान, हाङ्पाङ, छिन्ताङ, फूलबारी, निघुरादिन,खाम्लालुङ हुँदै सङ्क्रान्ति बजार भर्न पुर्याउँछन भने हुवाकु, ईवा, छातेढुंगा, चुहानडाँडा,बोखिम, थोक्लुङ र नाम्जाङको ढलेबरबाट फाक्चुवाको तेर्छो बाटो हिंडाउँदै आठराईको सेरोफेरोमा थाहै नपाई रमाईलोसंग घुमाईदिन्छन् यिनी ।

मेरो चिनजानका कवि “आठराईली” न्यूयोर्कमा रहेका साहित्यकारहरुमा एउटा डाईनामिक नाम हो । मीठो गजल लेखेर पाठकलाई मन्त्रमुग्ध पार्ने हुनाले यिनी सबै माझ लोकप्रिय गजलकार पनि हुन् । ऊनी लामो समय पत्रकारिता गरेका एक अनुभवी पत्रकार तथा बिभिन्न संघसंस्थामा नेत्रित्व गरेर कुशल काम गरेका निस्वार्थ समाजसेवक हुन् ।समग्रमा भन्नु पर्द ऊनी समाजका एक बौद्दिक ब्यक्तित्व हुन् । ‘यूएस नेपाल अनलाईन डट्कम’ का कार्यकारी सम्पादक तथा बहालवाला साहित्य सम्पादक ईङ्नामले अन्य बिभिन्न पत्रपत्रिकाको सम्पादन गर्नमा पनि उत्तिकै जिम्मेवारी निभाई रहेका छन । साहित्यमा स्थानीयताको माध्यमलाई आधार बनाएर साहित्यीक कदम अघि बढाउनु भएका कविलाई नयाँ लेखनतर्फ उन्मुख हुने मत जाहिर गर्दै थप सुन्दर श्रीजना र कृतिहरुको लागि आग्रिम शुभकामना दिन चाहन्छु । धन्यवाद !

हाल: काउलुन हङकङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *