आमाको आग्रह (आनन्द श्रेष्ठ)

(कविता)

पख न छोरा
मलाई यति खेर दुष्टहरूले
बलात्कार गरिरहेका छन्

म चाहन्न
म बलात्कृत हुँदा कोही गर्भमा रहुन्
म चाहन्न
कोही दुष्ट मेरो छोरा भएर जन्मियुन्
म गर्भपात गराउन चाहन्न,
र म अहिले
बलात्कृत हुनबाट बच्न सकेको छैन,

यतिखेर तिमीलाई
एउटा नेता चाहिएको छ
नभन
बुद्ध जन्माऊ आमा
म सक्दिन बुद्ध जन्माउन,
नभन बि पि जन्माऊ आमा
म सक्दिन बि पि जन्माउन,
नभन मदन भण्डारी जन्माऊ आमा
म सक्दिन,
नभन मनमोहन जन्माऊ आमा
म सक्दिन,

र म सक्दिन
फेरि-फेरि एकै जनालाई
बारम्बार जन्माउन,

यहाँ नेताको खाँचो छ
कोही नबाँच्दै मरे
कोही बाँचेर लोभिएर मरे
कोही जन्मन नपाउँदै मरे

अहिले कोही नेता नै छैन मेरो देशमा
र त रनभुल्लमा छ मेरो देश
पख छोरा,
म लोभी नभएको
नेपाललाई माया गर्ने
नेपाली मन बोकेको
नेपाली छोरा जन्माउने छु
जो सयौँ -सयौँ शताव्दी अमर रहने छ ।

– काठमाण्डौँ,नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *