साहित्य महासंघको तेस्रो बैठक सम्पन्न, केन्द्रिय सचिवालय निर्माण

ब्रुनाई २८ मार्च २०११ विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको तेस्रो इ-बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो ।

बरिष्ठ साहित्यकार स्व. डायमण्ड शमशेर राणाको चिर आत्माले शान्ति पाओस भन्ने कामना गर्दै एक मिनेट मौनधारणबाट शुरु भएको बैठकले अघिल्लो बैठकको निर्णयहरुको समिक्षा गर्दै अध्यक्ष डा. मधु माधुर्य (रसिया), उपाध्यक्ष तिलक मल्ल (जापान) र महासचिव विश्वासदीप तिगेला (ब्रुनाई) रहेको ३ सदसिय महासंङ्घ केन्द्रिय सचिवालयको निर्माण भएको घोषणा गर्यो, बाँकी २ जना भविश्यमा थप गर्ने निर्णय भयो ।

नेपाल र नेपालीको सम्बन्धमा विभिन्न विदेशी लेखकहरुले लेखेका पुस्तक तथा लेखहरुमा रहेका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिनको लागि महासंघले निर्माण गरेको ‘नेपाल सम्बन्धि सूचना सुधार कार्यदल’मा बरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई (किर्तिपुर) र कपिलबस्तु अभियन्ता रामकुमार श्रेष्ठ (वेलायत)लाई सर्वसम्मत आग्रह सहित चयन गर्यो र अघिल्लो बैठकबाट चयन हुनुभएका साहित्यकार मुरारीराज शर्मा सहित अब ३ सदस्यित कार्यदल बन्न पुगेको छ, साथै भविश्यमा स्पेनिस, फेन्च, चाइनिज लगायत अन्य भाषाविदहरुलाई पनि समेटिने निर्णय गर्यो ।

महासङ्घले प्रदान गर्ने सम्मान तथा पुरस्कारको सम्बन्धमा प्रारम्भिक प्रतिवेदन कार्यदलका सदस्य उमा सुवेदी (इजरायल) ले कार्यदलले तयार पारेको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रत्येक स्रष्टा तथा साहित्यिक संघसंगठनहरु सम्म पुर्याउन र पुग्नको लागि विश्वब्यापी अनलाइन साहित्यिक प्रतियोगिता गर्ने निणर्य भयो उक्त प्रतियोगिताको लागि संयोजक महासचिवलाई तोक्यो भने आर्थिक कार्यदलको संयोजकमा अध्यक्ष र सदस्यमा गोविन्दप्रसाद गौतम (रसिया) लाई छनौट गर्यो । त्यस्तै गरि शाखाहरुलाई क्रियाशिल तथा विस्तार गर्नको लागि पनि अध्यक्ष संयोजक र केदार सुनुवार (अफगानिस्तान), नम्रता गुरागाई (अमेरिका) सदस्य रहेको कार्यदल निर्माण भयो ।

कार्यक्रमको शुरु र अन्तमा गरि दुइचरणमा राखिएको सिर्जना बाचन कार्यक्रममा विभिन्न १७ जना स्रष्टाहरुले आआफ्नो सिर्जना बाचन गरेका थिए । वैठकमा रसिया, सेसेल्स, कतार, अमेरिका, इजरायल,  अफगानिस्तान, ब्रुनाई, मलेशिया, बेल्जियम, चीन र वेलायतबाट सहभागिता रहेको थियो । हाल सम्म महासङ्घको विभिन्न ९ मुलुकमा ११ वटा शाखाहरु निर्माण भई संचालनमा रहेका छन् भने शाखाहरु बन्नेक्रम निरन्तर चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *